बाणिज्य बैङ्क र गाउँपालिकावीच बिच सहुलियतपुर्ण कर्जाको लागि सम्झौता
४ माघ, धादिङ-
धादिङको गजुरी गाँउपालिका र राष्ट्रिय बाणिज्य बैंक बिच सहुलियतपुर्ण कर्जाको लागि ब्याज अनुदान सम्बन्धि कार्यबिधी कार्यान्वयनको लागि सम्झौता भएको छ ।
सम्झौता अनुसार गजुरी गाउँपालिकाले उद्यमशिलता तालिम दिएका उद्यम गर्न इच्छुक नागरिकहरुलाइ गाउँपालिकाको सिफारिस पछि बैङ्कले सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउनेछ । गजुरी गाउँपालिकाका प्रमुख राजेन्द्रबिक्रम बस्नेत, बैंकका गजुरी शाखा प्रमुख अनिता श्रेष्ठ र धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रुद्रवहादुर खत्रीले सम्झौता पत्रमा संयुक्त रुपमा हस्ताक्षर गरेका छन ।
उद्यमशिलताका माध्यमबाट ब्यक्तिलाइ उत्पादनसंग जोड्ने, रोजगारी सिर्जना गर्ने, बैदेशिक रोजगारीबाट सीप, अनुभव र धेरथोर पुँजी समेत संकलन गरि स्वदेश फर्किएका नागरिकहरुलाइ पुनः विदेशिनु पर्ने बाध्यताबाट रोकी उद्यमशिलतासंग जोडेर विदेशबाट आर्जित सीप, अनुभव र पुँजीको स्वदेशमा नै सदुपयोग गर्दै स्वरोजगार बन्न सहयोग पुर्याउने उद्येश्यले सम्झौता गरिएको गजुरी गाउँपालिकाकी उपाध्यक्ष सीता ढुङगानाले बताइन् ।
बिना धितो सहुलियतपूर्ण ९ प्रकारको कर्जा प्रबाहको लागि गाँउपालिकाको अपनत्व सहित सहजिकरण गर्ने गरि सम्झौता भएको हो । सहुलियतपूर्ण कर्जा कार्यक्रमले गाँउपालिका भित्रको बेरोजगारी संख्या घटाउने, सफल ब्यबसायी निर्माण गर्ने, महिला उद्यमि निर्माण गर्ने, कृषि उत्पादन बढाउने, बिदेश गएका युबालाई गाउँ फर्काउने सकिने गाउँपालिका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतले जानकारी दिए ।
सम्झौता पछि गाउँपालिकाले आफ्नो क्षेत्र भित्र उद्यम तथा व्यवसाय गर्न चाहने व्यक्तिलाई परामर्श र उद्यमशीलता सम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्ने गरी तालिम प्राप्त व्यक्तिलाई कर्जाको लागि बैंकमा सिफारिस गर्ने छ । गाउँपालिकाले सिफारिस गरेका उद्यमीहरुलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जा लगानी गर्ने छ ।
सम्झौता अनुसार बैङ्कले कर्जा प्रवाह गरेका उद्यमहरुको नियमित अनुगमन गरि कर्जा असुलीमा गाउँपालिकाले सहयोग पुर्याउनेछ । बैंक मार्पmत कर्जा लिएका समुहको व्यवसाय प्राकृतिक प्रकोप, विपद लगायत अन्य घटनाहरुका कारण क्षति भई ऋणीले ऋण तिर्न नसक्ने अवस्थामा ऋण तिर्न सहयोग गर्ने उद्येश्यका लागि पालिकाले एक जोखिम न्युनीकरण कोषको स्थापना गर्ने छ ।
साथै बैङ्कबाट प्रवाह भएको कर्जाको सदुपयोग, ऋण असुली सम्वन्धमा स्थलगत अनुमगन गरि उद्यमीहरुलाइ परामर्श र सुझावका लागि समय समयमा गाउँपालिकाले स्थलगत अनुगमन गरि कार्यक्रमलाइ प्रभावकारी बनाइने उपाध्यक्ष ढुङगानाले बताइन् ।
गाउँपालिकाले सिफारिस गरेका ब्यक्तिहरुलाइ कर्जा लिनको लागि सहजीकरण गर्ने तथा प्राविधिक तथा परामर्श सेवा धादिङ उद्योग वाणिज्य संघले गर्ने छ ।