Fri. Mar 5th, 2021

जीवनका अदृश्य घाउहरु …………………!

गायत्री खतिवडा

गत वर्ष बागमती प्रदेश राजधानी हेटौंडामा राष्ट्रिय मानवअधिकार आयोगको आयोजनामा भएको एउटा सम्मेलनमा सहभागी भएको थिएँ । कार्यक्रम स्थल बाहिर चौरमा उभिएर चिया खाने क्रममा हेटौंडाकै एक जना बुज्रुक संग राजनीतिक विचार र पेशाको बारेमा कुराकानी गदागर्दै अचाजक मेरो पुट्ठा (हिप) मा प्याट् हानेर “यस्तो सेक्सी मान्छेले त दुइचार जना ढाल्न सकिहाल्छ नी” भन्यो ।
म अवाक भएँ ।

निशब्द भएँ । मैले तुरुन्तै के भनेर प्रतिवाद गर्ने भनेर सोच्नै सकिन । किनकी हामी उभिएको नजिकै अरु धेरै जना गन्यमान्यहरु चिया गफमा थिए । (जो व्यक्तिलाई नी मैले त्यस्तै ठानेको थिएँ ।) म भावशून्य भएँ । त्यो मान्छेलाई कसरी प्रतिकार गर्नपर्छ भन्ने नै दिमागमा आएन । मैले वरिपरि अध्याँरो देखें । म नीलो भएँ । त्यो मान्छे खिस्स हाँस्दै अर्को समुहमा पस्यो ।

कार्यक्रम शुरु भयो । म कार्यक्रम हलको अर्को कुनामा गएर बसें । त्यो मान्छे म बसेको ठाउँमा नै आएर बस्छ की भन्ने मनमा डर लागिरह्यो । त्यो व्यक्ति आएन । प्रदेशका केही महिला सांसदहरु र पत्रकार साथीहरु आएर बसे । तर दिनभर नै म चिसो भइरहें । केही बस्तुले घाँटी थिचे जस्तो भइरह¥यो । आज यो कुरा सम्झिएर लेख्दा पनि मलाई “त्यही दिनको जस्तै” भएको छ ।
म अहिले हेटौंडा भन्ने वित्तिकै त्यही घटना सम्झन्छु । ज्यादै नमिठो लाग्छ । मेरो जीवनमा भएको दुव्र्यवहारको घटनाको श्रृंखलामा अर्को घटना थपिएको छ ।

केही दिन अगाडी धादिङबेशीमा भएको कार्यक्रममा कार्यक्रम सकिएर बाहिर निस्कन लाग्दा एकजना राजनीतिक व्यक्तिले अचानक अंगालो हाल्न आए । म झस्किएँ । मैले आदर गर्ने व्यक्ति हुन् । उनले त्यसो गर्लान् भनेर मैले सोचेको पनि थिइन । हुन त उनको इरादा गलत थिएन होला तर मलाई त्यो दिनभर निकै असजिलो लाग्यो । केही बस्तुले बाँधेको जस्तो लाग्यो ।
मैले जीवनमा धेरै पटक आफुलाई असहज लाग्ने यस्ता घटना बेहोरेको छु । मन नपर्ने घटना संग ठोक्किएको छु । केही घटनाले मलाई गहिरो चोट दिएको छ । त्यो घटनाहरु म आज सम्झिन पनि चाहन्न । किनकी म धेरै पटक धेरै ठाउँमा रोएको छु । धेरै पटक म खुम्चिएको छु । “छुने, धाप मार्ने , अंगालो हाल्ने ” कुरा देखि जहिल्यै डर लाग्छ मलाई ।

मैले मेरा जीवनका केही घटनाबारे किन पनि लेखिरहेको छु भने एउटै व्यवहार कसैलाई सहज लाग्न सक्छ भने कसैलाई असहज । एउटै बोलि कसैलाई सहज लाग्न सक्छ । कसैलाई असहज ।
एउटै रहनसहन, व्यवस्था, धर्म, संस्कृति अँगाल्ने मानिसहरुको समुह समाज हो । म गलत हुन पनि सक्छु तर यही समाजमा बस्ने ९९ प्रतिशत मान्छेको सोचमा “महिला केवल भोग्ने साधन हो ।” पुरुष त्यो मालिक हो जस्ले महिलालाई आफुलाई चाहे अनुसारको “दास ”बनाउन सक्छ । हाम्रो धर्म, संस्कृतिका ठेकेदारहरु पनि यिनै हुन् । यिनैले चाहे अनुरुप हजारौं वर्ष देखि धर्म, संस्कृति र व्यवस्थाको हतियारले महिला (छोरी) लाई गर्भाअवस्था देखि मृत्यु पर्यन्त रेटिरहेका छन् ।

महिला जुनसुकै पेशामा होउन् वा पदमा होउन् । केवल यौन आनन्द लिने साधन बनायो यो समाजले । महिलाको शरिरको अंग आँखा, ओठ, छाती, स्तन, नाइटो, पुठ्ठा, यौनी, तिघ्रा, पैताला…….. छानेर किनबेच गर्दै यौन आनन्द लिन पाउँदा खुशी हुन्छ यो समाज । कुन भन्दा कुन बहुमुल्य भन्दै चलाउन र गिजोल्न पाउँदा आनन्द मान्छ । म जस्ता छोरीले नाईं भन्यो भने हाँस्छ र मलाई नै गिज्याउँछ ।

म अझै स्तब्ध त्यतिबेला हुन्छु । जतिबेला महिलाको शरिर लिएर जन्मिएका “केही मान्छेले” पनि मेरो कुरालाई हाँसोमा उडाइदिन्छन् । र मजाकको रुपमा लिन्छन् । होला कसैकोे लागि यस्ता आनिबानि सहज लाग्ला । मन पर्न पनि सक्छ । तर मेरो इच्छा विरुद्धको कुनैपनि व्यवहार मलाई मन पर्दैन । त्यो भगवान हुँ भन्ने “देवी÷देउता” नै प्रकट भएर बोलेछ भने पनि मलाई मन पर्दैन । म यस्तो व्यवहारलाई केवल घृण्णा गर्छु । यस्ता हर्कत गर्नेलाई घृणा गर्छु ।

मेरो प्रश्न यो समाजलाई ः के महिलाको शरिर यौन आनन्द लिन मात्रै बनाइएको हो ? महिलाको मात्रै चरित्र हुन्छ ? के महिलाको मात्रै यौनिकताको कुरा गर्नुपर्छ ? के महिला मात्रै पवित्र बस्नुपर्छ ? के महिला मात्रै “सत्”मा हुनुपर्ने हो ? सुशील, शान्त , नरम, गुणवान महिला मात्रै भए पुग्छ ? के महिलाको मन हुँदैन ? के महिलाको आत्मसम्मान हुँदैन ?

फेरी घटनाकै कुरा ः छ कक्षामा पढ्दा पहिलोपटक मैले आफुमाथी दुव्र्यवहार भएको महशुस गरेको थिएँ । कक्षामा संगै पढ्ने केटी साथीले मेरो छाती (स्तनमा) मा समातेकी थिइ । म नयाँ विद्यार्थी भएको कारण केही बोल्न सकिन । प्रतिकार गर्न सकिन । आफु माथी भएको नराम्रो कुरा कसैलाई भन्न पनि सकिन । त्यस दिन म धेरै रोएको थिएँ । कैयन दिन सम्म डर लाग्थ्यो ती साथीले फेरी त्यस्तै गर्ने पो होकी ! भनेर । त्यसैले वर्ष भरि नै म अन्तिम बेन्चमा बसें । घरमा पनि यो कुरा भन्ने हिम्मत आएन । किनकी छोरीमान्छेले यस्तो कुरा गर्नु राम्रो हुँदैनथ्यो । सायद भनेको भए पनि घरका मान्छेले मलाई नै गाली गर्नुहुन्थ्यो होला ।

त्यस यता पनि धेरै पटक दुव्र्यवहारको सामना गर्नुप¥यो । केही घटनाले आज पनि पोल्छ । रुन पनि सक्दिन । जति घटना भयो ती घटनाको बारेमा कसैलाई भन्न पनि सकिन । त्यसैले हो की आजभोलि झन् दुख्छ मलाई । धेरै ठाउँमा प्रतिवाद÷ प्रतिकार गर्न सकिन । किनकी कहिल्यै कसरी प्रतिकार गर्ने भन्ने नै थाहा भएन । उल्टो डर लाग्थ्यो ।

म जहाँजहाँ जो जो बाट मन नपरेको व्यवहारको शिकार भएँ । ति सवै चिनेका मान्छे थिए । धेरै त संगैका पुरुष साथी थिए । शिक्षक, राजनीतिक र सामाजिक क्षेत्रमा अगुवा रहेका पुरुष व्यक्ति थिए । त्यसैले पनि म भन्न डराउँथे । म भन्दा शक्तिमा रहेका , माथी भएका मान्छेको विरुद्धमा बोल्ने आँट नै आएन ।


आज म महिलाको मानवअधिकारको पक्षमा पैरवी गर्छु । महिलामाथी हुने कुनै पनि प्रकारको विभेद, शोषण र दुव्र्यवहारको बारेमा बोल्छु । आवाज उठाउँछु र लेख्छु । तैपनी आफैं कहिलेकाहीं यस्तो परिस्थितिबाट गुज्रनुपर्दा लामो समयसम्म हिनताबोध हुन्छ । म जो व्यक्तिलाई आदर गर्छु उसलाई “दिलदेखी” आदर गर्छु । “स्वच्छ” सम्मान गर्छु । मैले जीवनमा दाई, भाई, सर वा केही नाताले सम्बोधन सवै पुरुषलाई त्यही दर्जामा राखेर हेर्छु र माया गर्छु । आफुले पनि सोही अपेक्षा राख्छु । तर मैले कयन पटक धोका पाएछु । विश्वास गुमाएको छु ।

आजभोलि कामको सिलसिलामा भेटिने यौन हिंसा पीडित साना नानीहरुको घटनाले पोल्छ मलाई । त्यतिबेला म आफैंलाई त्यो घटनामा राखेर हेर्न थाल्छु । कुनै घटना कसैलाई सानो वा कसैलाई ठूलो लाग्न सक्छ । तर भोग्नेका लागि हरेक घटना शतप्रतिशत ठूलो हुन्छ । गहिरो लाग्छ ।
हाम्रो जिल्लामा तीन वर्षको यौन हिंसाको घटना हेर्दा खासै कम भएको देखिंदैन । घटनाको रिपोर्टिङ हुने संख्या बढिरहेकै छ ।

आर्थिक वर्ष ०७४ ,०७५ मा ३२ वटा, ०७५ ,०७६ मा ४३ वटा र ०७६,०७७ मा ४० वटा यौन हिंसा संग सम्बन्धित मुद्दा जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको देखिन्छ । यो संख्यामा ६२ प्रतिशत यौन हिंसा पीडित १८ वर्ष मुनिका बालिकाहरु रहेका छन् ।

यौन हिंसा पीडितहरु मध्ये ९९ प्रतिशत आफन्तै परिवारका सदस्य, आफन्त, छिमेकी , साथी लगायत चिनेको मान्छेबाट नै पीडित भएका छन् । आफ्नै चिनेको मान्छेबाट हुने कुनै पनि प्रकारको दुव्र्यवहारमा पीडितहरु बोल्न सक्दैनन् । प्रतिकार गर्ने त परको कुरा हो । “म माथी यस्तो भयो ” भन्ने वातावरण पनि हुँदैन ।

हाम्रो छोरीहरुलाई दुव्र्यवहार बाट जोगाउने एउटा महत्वपूर्ण उपाय भनेको “व्यवहार ÷छुवाइका बारेमा ”सिकाउनु पनि हो । भनेको “कुन व्यवहार राम्रो व्यवहार हो र कुन व्यवहार नराम्रो व्यवहार” हो भनेर बताउन जरुरी छ । मान्छे “ नातामा ” जु सुकै होस् । केवल व्यवहारलाई ध्यान दिने कुरा भन्न आवश्यक छ ।

हरेक आमा बाबुले आफ्नो छोरीलाई आफुमाथी हुने नराम्रो कुरा, कसैले गरेको मन नपरेको व्यवहार बारे “बोल है ” भनेर आत्मबल र हौसला दिन जरुरी छ । अनि हप्तामा एक पटक भएपनि छोरीको कुरा सुन्न जरुरी हुन्छ । नत्र म जस्तै ठूलो भैसक्दा पनि मनभित्र अदृश्य घाउहरु खील पल्टेर बसिरहन्छ र दुखाइरहन्छ ।

Gayatri.dhading@gmail.com

२०७७ माघ ४ गते प्रकाशित

Loading...