Fri. Mar 29th, 2024

काठमाडौंमा प्रचण्ड – माधव पक्षको शक्ति प्रदर्शन

९ माघ , काठमाडौ –

नेपाल कम्युनिस्ट पार्टी (नेकपा )प्रचण्ड – माधव पक्षले प्रतिनिधिसभा विघटनको विरोधमा आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ। रत्नपार्कमा हुने सभामा काठमाडौंको माइतीघर, डिल्लीबजार, लैनचौर, कुपन्डोल, प्रदर्शनीमार्ग, शान्तिवाटिका, त्रिपुरेश्वर, त्रिचन्द्र कलेज, बाल्मिकी कलेज गरी ९ ठाउँबाट जुलुस निकालिएको हो।

केन्द्रीय सङ्घर्ष समितिले सभा र जुलुसलाई मर्यादित बनाउँदै निर्धारित नारा मात्र लगाउनुपर्ने निर्देशिका जारी गरेको छ। यस अगाडिको विरोध प्रदर्शनमा राष्ट्रपति र प्रधानमन्त्रीलाई गाली गर्दै अश्लिल नारा लागेपछि सामाजिक संजालमा चर्को आलोचना भएको थियो। विरोधसभामा प्रदेश, जिल्ला र मोर्चा संगठनबाट कार्यकर्ता तथा नेताहरु सहभागिता हुने नेकपाले जनाएको छ।

विरोधसभा सुरु हुनुअघि राजधानीका विभिन्न स्थानबाट निकालिने जुलुसको नेतृत्व प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्य गणेश साह, गिरिराजमणि पोखरेल, मातृकाप्रसाद यादव, लीलामणि पोखरेल, हरिबोल गजुरेल, वर्षमान पुन, वेदुराम भुसाल भीमबहादुर रावल, शक्तिबहादुर बस्नेत, नन्दकुमार प्रसाईँ, देवेन्द्र पौडेल, युवराज ज्ञवाली, सुरेन्द्रप्रसाद पाण्डे, कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त, घनश्याम भुसाल, जनार्दन शर्मा, योगेशकुमार भट्टराईलगायतले गरेका छन्।

सभालाई नेकपाका अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता झलनाथ खनाललगायतले सम्बोधन गर्ने जनाइएको छ।

२०७७ माघ ९ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: