Fri. Mar 29th, 2024

बिमा शुल्क संकलन २५ प्रतिशत बढ्यो

२० माघ , काठमाडौ –

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बिमा कम्पनी (जीवन र निर्जीवन) ले कुल ३६ अर्ब ६१ करोड रुपैयाँ बिमा शुल्क (प्रिमियम) संकलन गरेका छन् । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा बिमा शुल्क संकलन २५.६७ प्रतिशत बढेको छ ।

गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म यस्तो बिमा शुल्क २९ अर्ब १३ करोड रुपैयाँ थियो । कोभिड–१९ को असरले अर्थतन्त्र नै ठप्प हुँदा बिमा व्यवसाय पनि प्रभावित बन्यो । तर बिमा शुल्क संकलनको तथ्यांकमा कोभिडको असर नदेखिएको जानकार बताउँछन् ।

बिमा शुल्क संकलनमा असर नदेखिए पनि कम्पनीको नाफा प्रभावित भएको उनीहरूको भनाइ छ । गत पुससम्म जीवन बिमा कम्पनीहरूको बिमा शुल्क संकलन करिब ३९ प्रतिशत बढेको बिमा समितिको तथ्यांक छ । यसअनुसार गत पुससम्म जीवन बिमा कम्पनीहरूको कुल बिमा शुल्क संकलन २१ अर्ब २५ करोड रुपैयाँ छ ।

गत आर्थिक वर्षको सोही अवधिमा यस्तो बिमा शुल्क १५ अर्ब ३० करोड रुपैयाँ थियो । तथ्यांकमा बिमा शुल्क संकलनको वृद्धि राम्रो देखिए पनि व्यावसायिक विस्तार तथा नाफा प्रभावित भएको जीवन बिमक संघका पूर्वअध्यक्ष शिवनाथ पाण्डेले बताए । ‘लकडाउनका कारण अर्थतन्त्र ठप्प भएको समयमा बिमा कम्पनीहरूले काम गर्न पाएनन्,उनले भने, ‘अर्थतन्त्रका सबै क्षेत्र प्रभावित भएको समयमा बिमा मात्र अछुतो रहने हुँदैन ।

जीवन बिमा कम्पनीको ठूलो पुँजी वाणिज्य बैंकहरूको मुद्दती निक्षेपमा रहन्छ । अहिले निक्षेपको ब्याजदर धेरैले घटेको छ । वित्तीय विवरणमा यसको असर पनि देखिने उनको अनुमान छ । गत पुससम्म निर्जीवन बिमा कम्पनीहरूको बिमा शुल्क संकलन करिब ११ प्रतिशत मात्र बढेको छ । यसअनुसार गत पुससम्म जीवन बिमा कम्पनीहरूको कुल बिमा शुल्क संकलन १५ अर्ब ३६ करोड रुपैयाँ छ ।

गत आर्थिक वर्षको सोही अवधिमा यस्तो बिमा शुल्क १३ अर्ब ८३ करोड रुपैयाँ थियो । गत वर्षदेखि निर्जीवन बिमा कम्पनीहरूले कोरोना बिमा लेख जारी गरेका छन् । कोभिड–१९ का संक्रमित बढेसँगै कोरोना बिमा गर्ने बिमितको संख्या पनि उल्लेख्य छ । बिमा दाबी भुक्तानी प्रक्रियालाई कम्पनीहरूले अझै सहज बनाउन सकेका छैनन । यहीकारण केही हदसम्म बिमा कम्पनीहरूप्रति नागरिक सशंकित छन् । यद्यपि पछिल्ला महिनामा दाबी भुक्तानी प्रक्रिया विस्तारै लयमा आएको कम्पनीहरूको दाबी छ ।

निर्जीवन बिमा कम्पनीको कुल प्रिमियममा कोभिड–१९ को बिमाबाट आएको प्रिमियम हटाउँदा ४र५ प्रतिशत मात्र वृद्धि देखिने संघका पूर्वअध्यक्ष विजयबहादुर शाहले बताए ।

२०७७ माघ २० गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: