Tue. Apr 20th, 2021

अपांगता भएकालाई परिवारको साथ

जन्मजात अपांगता भएकी गजुरी गाउँपालिका वडा नं ५ राईगाउँका सन्तोषी राईलाई स्याहार गदै परिवारका सदस्य । 

२ फागुन, धादिङ –

सरिता श्रेष्ठ

गजुरी गाउँपालिका वडा नं ६ राम्चेका शर्मीला नेपाली १४ वर्ष लागिन् । उनको जन्मजात कम्मरदेखि तलको भाग चल्दैन । आमा शन्तमाया नेपालीले हेरचाह्र र रेखदेख गर्दै आइरहेकी छन् । परिवारको साथले शर्मीलाको पढ्ने इच्छा पनि पूरा भएको छ । शर्मिला भानुभक्त माध्यमिक विद्यालयमा कक्षा ६ मा पढ्छिन् ।

‘जन्मजात अपांगता भएपनि छोरीको पढने इच्छालाई पूरा गरिदिएका छौँ,’ शर्मीलाकी आमा शन्तमायाले भनिन्, ‘अपांगता भएकी छोरीलाई हरेक दिन घरदेखि ४५ मिनेटको दुरीमा रहेको विद्यालयसम्म आफैले बोकेरै ल्याउने लैजाने गरिरहेकी छु ।
जन्मजात अपांगता भएपछि आफन्तजन, छरछिमेकीको कटु बोली, नकारात्मक व्यवहार उनको परिवारले वषौदेखि भोग्दै आइरहेका छन् । तर त्यसको कुनै प्रवाह नगरी शन्तमाया छोरीको हेरचाह्र, रेखदेख र पढाईमा ध्यान दिन्छिन् ।

‘अपांगता भएकाहरुलाई समाजले हेर्ने दृष्टिकोण फरक छ, त्यो भोग्दै पनि आइरहेका छौँ,’ उनले भनिन्, ‘जीवन सबैका लागि सोचेजस्तो नहुन सक्छ तर त्यही जीवनभित्रको सौन्दर्यलाई पत्रपत्र केलाउन सके सुगन्धित हुन्छ ।’ अनेकौ चुनौतीको बाबजुत पनि पढ्न पाएकोमा शर्मीला खुसी छिन् ।

प्रत्येक पल अर्काको सहारामा दिन गुजार्ने शर्मीला पढेर अपांगता भएका व्यक्तिहरुलाई हेर्ने नकारात्मक दृष्टिकोणमा परिवर्तन ल्याउन चाहन्छन् । आफ्नो पढाईका लागि आमा खर्चेको समय, बगाएको पसिना र मेहनतलाई खेर नफाल्ने उनले बताइन् । अपांगताको प्रकृतिका आधारमा उनले रातो रङको अपागंता परिचयपत्र पाएकी छन् । त्यसले पढाई र घरव्यवहार चलाउन सघाउ पुगेको छ । अर्कै श्रीमती ल्याएर टाढिएपछि सानैदेखि बुबाको मायाबाट बञ्चित भएकी उनी आमा र परिवारको साथ पाएर खुसी छिन् ।

हाम्रो समाजमा अधिकांश अपांगता भएका व्यक्तिहरूका अभिभावक आफ्ना अपांगता भएका सन्तान अरूलाई जिम्मा लगाउन चाहन्छन् । किनभने उनीहरूको अपांगताप्रतिको बुझाइ नै संकुचित छ । त्यस्ता बालबालिकाको भविष्य नै देख्दैनन् । आफ्ना अरू स्वास्थ्य सन्तानसँग तुलना गर्छन्, र अपांगता भएका आफ्नै परिवारका सन्तान अरुको सहारामा छाडिदिन्छन् । यस्तो सोच बनाउने संयन्त्र गरिबी, अशिक्षा र संस्कृति नै हो । अपांगता भएका व्यक्तिलाई परिवारको सदस्यमा गणना नै नगर्ने र बोझका रूपमा हेर्ने कारणले सम्मानजनक रुपमा बाँच्न समेत अधिकारको समेत हनन भइरहेको पाउँछौँ ।

गजुरी गाउँपालिका वडा नं ७ पेटारेका ११ वर्षीय प्रमिला तामाङ पनि जन्मजात अपांगता छिन् । उनको कम्मर भन्दा तलको भाग चल्दैन र बोल्न समेत सक्दिनन् । उनका आमा ५० वर्षीय हिरामाया तामाङले उनको रेखदेख गर्दै आइरहेका छन् । ‘सातवटा छोराछोरी मध्येको कान्छी छोरी जन्मजात अपांगता भएकी छन्,’ हिरामायाले भनिन्, ‘अपांगता भएकी छोरीको रेखदेख, हेरचाह्रको सबै काम आफैले गर्छु, परिवारका अन्य सदस्यहरुले पनि सघाउँछन् ।’

तीनवर्ष अघि रोगका कारण श्रीमान बिते । पाँच छोरी र दुई छोराको रेखदेखको जिम्मा हिरामायाको काँधमा थपियो । खेतबारीमा उब्जाएको अन्नबालीले जसोतसो परिवार धानिरहेकी छन् । अपांगता भएकै कारण प्रमिलाले पढ्न पाएकी छैनन् । टाढाको विद्यालय पढ्नको लागि बोकेर आवातजावत गर्नुपर्ने र दिशापिसाब गर्न समेत अरुको सहारा लिनुपर्ने भएका कारण पढाई सम्भव भएन । छोरी अपांगता भएपछि हिरामायाले उपचारका लागि कयौ अस्पताल धाइन तर आर्थिक अवस्था कमजोर भएकै कारण भनेजस्तो उपचार गर्न सकिनन् ।

अपांगता भएका व्यक्तिहरुलाई उपचार मात्र नभई माया र हौसला प्रदान गर्न सके आत्मसन्तुष्टि मिल्ने हिरामायाको अनुभव छ । आर्थिक उपार्जनको उपाय नभएको र कमाउने व्यक्ति नै छोरीकै हेरचाह्रमा लाग्नु पर्ने भएका कारण परिवार धान्न मुस्किल छ । घरवरपरका जग्गाजमिनमा तरकारी, अन्नपात लगाएर छाक टार्ने गर्छन् । जन्मजात अपांगता भएपछि गजुरी गाउँपालिकाले गाउँमै शिविर गरेर प्रमिलालाई रातो कार्ड प्रदान गरेको छ । भत्ता स्वरुप महिनाको तीन हजार पाउँछन् ।

शर्मीला र प्रमिला जस्तै अपांगता भएका व्यक्तिहरुलाई परिवारको साथ र सहयोगले हौसला मिलेको छ । अपांगतालाई पूर्वजुनीको पापसँग तुलना गर्ने हाम्रो समाजको संकुचित सोच र व्यवहारका कारण अपांगता भएका व्यक्तिहरू आत्मसम्मानका साथ बाँच्न पाउने अधिकारबाट समेत बञ्चित हुनु परेको अवस्थामा परिवारको हौसला र साथले अघि बढ्न उर्जा प्रदान गरेको छ । लडेर घाईते भई अपांगता भएका गजुरी गाउँपालिका वडा नं ६ राम्चेका ३५ वर्षीय सरिता रेग्मी पनि परिवारको साथमा रमाइरहेकी छन् ।

अपांगता भएका व्यक्तिहरुलाई पूर्णिमा–बिहानी परियोजनाले सहायता सामाग्री, सहजीकरण लगायत विभिन्न सहयोगहरु गरिरहेको छ । जन्मजात अपांगता बनेकी गजुरी गाउँपालिका वडा न ं५ राईगाउँका २० वर्षीय सन्तोषी राईलाई पनि परिवारले साथ र सहयोग गरिरहेको छ । खाना खुवाउनेदेखि दिशापिसाब गर्न सहयोग गर्ने सबै काम आमा, बुबाले नै गर्छन् ।

२०७७ फागुन २ गते प्रकाशित

Loading...

अन्य समाचारहरु: