Mon. May 17th, 2021

‘पाविल’को प्रकृति र ‘लिङ्जो’को लालित्य

नवराज न्यौपाने ‘मौनु’

धादिङको उत्तरी भेगमा अवस्थित रुवी भ्याली सुन्दर प्राकृतिक छटाले भरिभराउ रहेको छ । गणेश हिमाल श्रीङ्खलाको दक्षिणी भेगमा अवस्थित बस्तीहरुमा घुम्न पाउनु पनि उत्तिकै रोचक र मनोहर बातावरणमा लीन हुन पाउनु हो । यसै क्रममा मलाई २०५९ साल वैशाख महिनामा गणेश हिमाल श्रीङ्खलाको ७००० मीटरभन्दा अग्लो पाविल पिक र ६००० मीटरभन्दा अग्लो पाल्दोर पिकको फेदमा रहेको सुन्दर लिङ्जो गाउँ घुम्ने अवसर जुर्‍यो । लिङ्जो गाउँ नजिकैको दुर्गानी खोलामा ३२ मीटर स्पानको ट्रस ब्रिज बनाउनको लागि आवश्यक स्टीलपार्ट्स लगायतका निर्माण सामाग्रीहरु सबै यसअघि नै साइटमा पुगिसकेको थियो ।

पुल निर्माण कार्यको लागि उपभोक्ता समितिका अध्यक्ष मेन थापा तामाङ मलाई लिन जिविसमा आएपछि म जान तयार भएँ । धादिङ्बेसीबाट टोड्के हुँदै जाँदा उकालो ओरालो हिंड्नुपर्ने भएकोले हामी बसमा टारीबेसीसम्म गएर आँखु खोलाको किनारै किनार जाने भयौं । र, उक्त दिन दार्खाफेदीमा गएर बास बस्यौं । त्यो बेला सशस्त्र द्वन्दकाल रहेको र दार्खाफेदीबाट तल्लोबाटो हुँदै बराङ पुग्न बाटो खुलेको पनि थिएन र बाटमा पुल पनि थिएनन् । त्यसैले हामी माथिल्लो पुरानो बाटो हुँदै बराङ पुगेर बास बस्यौं । भोलिपल्ट चालिस गाउँ हुँदै खोलाको बाटो हिंडेर हामी लिङ्जो पुग्यौं ।

हिमालको फेदमा रहेको लिङ्जो गाउँ र नजिकै टल्केको पाविल हिमाल देखेर ३ दिनको हिडाइको थकान सबै भुलियो । जुनेलीमा आँखासामू तल्केको पाविल हिमाल देखेर मलाई यस अघि मनाङ, मुस्ताङ ,कालिकोट र गोरखा जिल्लामा घुमेका घटनाहरु ताजा भएर आयो । हिमाल र हिउँसँग नटुट्ने गरी जागिरले नाता गाँसेकोले वाध्य भएर दुर्गममा रमाउनु मेरो नियति भएको थियो ।

साइटमा पुगेर मैले सबै सामान चेकजाँच गरें , सबैथोक दुरुस्त थियो । बस्नलाई सानो छाप्रो बनाइेको रहेछ । छप्रोभित्र सिमेण्ट सगै एउटा मदुस पनि रहेछ ।मदुसभित्र नक्शा लगायतका प्राविधिक सामानहरु र १८००० फीटको उचाइसम्म धान्ने बाक्लो स्लीपिङ ब्याग पनि रहेछ । गाउकै एक युवालाई चौकिदार राखिएको रहेछ । खाना पकाउने भाँडाकुँडा सबै रहेछन् । तर खद्यान्न भने सकिएको रहेछ । अगेनुमा आगोबालेर काठको फलेकमाथि म्याट्रेस ओच्छ्याएर सुत्ने व्यवस्था गरिएको रहेछ । काम सञ्चालन गर्दा गर्दै यस अघिका प्राविधिक सरुवा भएर गएका रहेछन् ।

भोलिपल्ट्देखि निर्माण कार्य शुरु गरियो । कोही पहरामा जग खन्न थाले । कोही पुल जोड्ने फर्मा (स्क्याफोल्डिङ) को लागि काठ ओसार्ने कोही फर्मा ठोक्ने, कोही धुङ्गा ,गिट्टी ,बालुवा जम्मा गर्ने काम गर्न थाले । हामो काम पुल जोड्नु र पहुँच मार्ग (एप्रोच ट्रेल ) बनाउनु थियो । तिप्लिङ गाउँको लब्डुङ्बाट चौकिदारले खाद्य सामाग्रीहरु किनेर ल्याए । अब ढुक्क भएर निर्माण कार्यमा खटिएर दिन बित्न थाले । बेला बेलामा लापा, तिप्लिङ र सेर्तुङ गाविसका अन्य योजनाहरुको लेआउट र निरीक्षणको लागि पनि जानु पर्दथ्यो तर देरै समय भने यही पुलको लागि खर्चिनु पर्ने भयो ।

गणेश हिमाल क्षेत्र पोखरा पछी नेपालको धेरै पानी पर्ने क्षेत्र भएकोले उक्त कामलाई झरीले असाध्यै विथोल्न थाल्यो । तर पनि हामीले पाल टाँगेर ढलान कार्य पनि गर्‍यौं । निरन्तरको झरी र खेतीपातीको कामले गर्दा र खोला बढेर आएको कारणले गर्दा हामीलाई काम गर्न निकै कठिनाई भयो । हिमाली भेग भएकोले झरी पर्दा निकै जाडो महसुश हुन्थ्यो । फेरी भुसुना र जुकाले उत्तिकै आक्रमण गर्ने । असारसमा अरु सबै काम सकियो र बाँकी काम पुल जडान गर्ने ९ इरेक्शन ० काम मात्र रह्यो । चिसो ठाउँमा बसेकोले धेरैजसो व्यक्तिका हातगोडा सुन्निएका थिए । सुरक्षाको कारणले गर्दा पुल जडान कार्य अर्को आवमा हिउदयाममा गर्ने गरी हामी धादिङ्बेसी फर्कियौं ।

अर्को वर्ष पनि बजेट तथा अख्तियारी आउन धिला भएकोले काम शुरु गर्दा जेठ लागिसकेको थियो । यस् पटक मैले कार्यालय सहयोगी शम्शेर बहादुर तमाङलाई लिएर जाने निधो गरें । हामी नेपाल मेटल कम्पनी ,गणेश हिमाल शिसा जस्ता पारीयोजनाको गाडीमा काठमाण्डौंबाट त्रिशुली , धुन्चे ,स्याफ्रुबेसी हुँदै खुर्पु लेक काटेर धादिङ र रसुवाको सिमानामा रहेको सोम्दाङ ९३२७० मीटर ० पुग्यौं । त्यहाँबाट ४८०० मीटरको मार्सोङ लेक काटेर एकैदिनमा लिङ्जो पुग्यौं ।

पुल जोड्न सजिलो होस् भनेर उपभोक्ता समितिका अध्यक्षले चितवन्बाट फेब्रिकेटर कम्पनीबाट एकजना दक्ष मिस्त्री लिएर आए । सोम्दाङ्बाट मार्सोङ लेक काट्दा उनलाई लेक लागेर निकै गाह्रो भएछ । उनी आएपछि मलाई लेवल हेर्न र सामान छुट्ट्याउन सहयोगी व्यक्ति पाए झैँ खुशी लाग्यो । ढलान आदी कार्य पाल टाँगेर गरे पनि जडान कार्य पाल टाँगेर गर्न नमिल्ने ।

हावापानी निकै चिसो भएकोले फलाम छुँदा निकै चिसो हुने । झरी बन्द भएको मौका पारेर हामीले असार २० सम्म काम पूरा गर्‍यौं । र , ३ दिन झरीमा रुझ्दै धादिङबेसी आइपुग्यौं र प्रतिवेदन पेश गर्यौं । चिसो ठाउँमा बसेको र झरीमा रुझ्दै हिंडेकोले होला , मेरो जिउ पनि सुन्निएको थियो । तातोपिरो खाएर र मालिस गरेर केही दिनमा ठीक भइयो । तर लिङ्जो गाउँको त्यो सम्मान , त्यो पाविल पिक ,त्यो पाल्दोर पिक , त्यो चर्च, त्यो गुम्बा र त्यो गणेश हिमाल प्रावि सधैंं मेरो सम्झनामा आइरहन्छन् । २

५ वर्षे जागिरे जीवनमा यस्ता अनगिन्ती अनुभवहरु छन् जसले मलाई हरेक दिन अनुभूतिको सिंढी चढाउने गर्छन् ।

२०७७ फागुन ९ गते प्रकाशित

Loading...