Tue. Apr 20th, 2021

धादिङ समाज धादिङले जित्यो बागमती प्रदेश स्तरीय फुटबलको उपाधि

१४ फागुन, धादिङ–

गत फागुन ६ गतेदेखि नुवाकोटमा जारी बागमती प्रदेश स्तरीय लिग फुटवल प्रतियोगीताको उपाधि धादिङले जितेको छ ।

उपाधी संगै टिमले ५ लाख रुपैया नगद पनि हात पारेको छ । अखिल नेपाल फुटवल संघ एन्फाको आयोजना तथा नुवाकोट फुटवलसंघको समन्वयमा भएको प्रतियोगीतामा धादिङ जिल्लाको तर्फबाट धादिङ समाज धादिङ सहभागी भएको थियो ।

नुवाकोटको बट्टार खेल मैदानमा शुक्रबार सम्पन्न फाइनल खेलमा काठमाण्डौ जिल्लालाइ १–० गोलले स्तब्ध पार्दै धादिङ समाज धादिङले उपाधी हात पारेको हो । धादिङमा खेल क्षेत्रमा बलियो उपस्थिति जनाउँदै आइरहेको धादिङ समाज धादिङले जितेको यो उपाधी अहिलेसम्मकै उच्च उपाधी हो ।

फाइनल खेलमा धादिङ समाज धादिङको लागि एकमात्र गोल स्ट्राइकर विपिन कँडेलले खेल सुरु भएको ३ मिनेटमै पेनाल्टी मार्फत गरेका थिए । निकै प्रतिस्पर्धात्मक देखिएको खेलमा त्यसपछि काठमाण्डाैले गोल फर्काउन सकेन । खेलको सुरुवातमै १ गोलले पछाडी परेको स्थितिमा काठमाण्डौ कडा रुपमा प्रस्तुत भएपनि गोल गर्नको लागि थुप्रै अवसर खेर फालेको थियो ।

फाइनल खेलको म्यान अफ त म्याच धादिङ समाज धादिङका उर्गेन शेर्पा भएका थिए । त्यस्तै प्रतियोगीताभर उत्कृष्ट खेल प्रदर्शन गर्ने धादिङ समाज धादिङकै मिड फिल्डर रवि भण्डारी प्लेयर अफ द सिरिज घोषित हुँदै नगद ५० हजार रुपैया हात पारे ।

फाइनल खेलको लागि एक मात्र गोल गरेर टिमलाइ उपाधी जिताएका कँडेल प्रतियोगीताकै उत्कृष्ट स्ट्राइकर चुनिए । उनले प्रतियोगीता अवधिभर ६ गोल गरेका थिए ।

त्यस्तै प्रतियोगीताको उत्कृष्ट गोलरक्षक धादिङ समाज धादिङकै किशोर गुरुङ घोषित भए ।
ब्वाइज स्पोट्स क्लव काठमाण्डौ सुविल श्रेष्ठ प्रतियोगीताको उत्कृष्ट मिडफिल्डर घोषित भए भने सिन्धुपाल्चोकका आसिस श्रेष्ठ उत्कृष्ट डिफेन्डर घोषित भए ।

उत्कृष्ट कोच तर्फ धादिङ समाज धादिङकै दिपक रानामगर घोषित भए । विधागत रुपमा उत्कृष्ट भएकाहरुले नगद १५ हजार रुपैया हात पार्न सफल भए ।

यस्तो थियो धादिङ समाज धादिङको उपाधी यात्रा
धादिङले समुह चरणको पहिलो खेलमा फागुन ६ गते दोलखासंग प्रतिस्पर्धा गरेको थियो । उक्त खेल २–२ को बरावरीमा सकिएको थियो ।

त्यसपछि फागुन ८ गते सिन्धुलीलाइ ४ गोलले पराजित गरेको धादिङ समाज धादिङले १० गते प्रतियोगीता आयोजना भइरहेको जिल्ला नुवाकोटलाइ १ शुन्य गोलले हराएर समुह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको थियो ।

समुह चरणमा अपराजित रहेको धादिङ समाज धादिङले उच्च मनोबलका साथ बागमती प्रदेशको राजधानी समेत रहेको मकवानपुर जिल्लालाइ सेमिफाइनलमा ४–१ गोलले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो ।

केही दिन अघि मात्रै पनि धादिङ समाज धादिङले नै जिल्ला स्तरीय टि २० क्रिकेट प्रतियोगीताको उपाधी पनि हात पारेको थियो ।

२०७७ फागुन १४ गते प्रकाशित

Loading...

अन्य समाचारहरु: