Fri. Mar 29th, 2024

डोजर चालकमा मानवियता हराएपछि…..!

१९ फागुन, सल्यानटार (धादिङ)-

सोमबार दिउसो धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं १ कि ४५ वर्षिय सरस्वती कुमाल घाँस काटेर घर फर्किदै थिइन् । उनी फर्किरहेकै बाटोमा पीच गर्नको लागि सडक चौडा पार्ने काम भइरहेकै थियो ।

शारिरिक रुपमा अशक्त समेत रहेकी सरस्वती काम गरिरहेकै ठाउँबाट बाटो पार गर्न लाग्दा डोजरको बकेटले उनलाइ ठक्कर दियो ।

दुर्घटना कसैले पनि चाहेर हुँदैन, त्यो ठक्कर पनि एउटा अन्जानबस भएको दुर्घटना नै थियो । तर मानविय समवेदना अलिकति पनि नभएका दाङका डोजर चालक जीवन भनिने भीम बहादुर बुढाथोकीले सडकमा लडेकी कुमाललाइ उद्धार गर्नु अथवा प्रहरी प्रशासनमा खवर गर्नुको साटो माटोले पुरिदिएर फरार भएपछि घटनाले अर्कै मोड लिन पुग्यो ।

घाइते अवस्थामै रहेकी सरस्वतीलाइ माटोले पुरिदिएर घटना लुकाउन खोजेकाले उक्त घटना नियोजित हत्या नै भएको स्थानीय बासी दावी गर्छन । घाइते भएकी महिलाको हत्या गरेर चालक फरार भएको स्थानीयको आरोप छ ।

तर धादिङका प्रहरी प्रमुख एसपी महेन्द्र खड्काले भने, ‘शव हामीले माटोले पुरिएको अवस्थामा निकालेका हाँै, डोजरले ठक्कर दिएपछि मृत्यु भएर जानाजान पुरियो कि, घाइते अवस्थामै पुरियो कि, एक ठाउँमा घटना भएपछि अर्को ठाउँमा लगेर पुरियो कि भन्ने अनुसन्धानमै छौँ । डोजर चालक फरार रहेकाले अनुसन्धान विस्तृतमा हुन सकेको छैन ।’

घटना पछि स्थानीयहरु निकै आक्रोशित छन् । ठक्कर पछि कम्तीमा उनलाइ उपचारको लागि अस्पताल लैजानुपर्नेमा घटना नै लुकाउन जिउदै अवस्थामा सरस्वतीलाइ माटोमा पुरिएको भन्दै आक्रोशित स्थानीयले डोजरमा आगजनी गरेका छन् । आगजनीबाट डोजर पुर्ण रुपमा जलेर नष्ट भएको छ ।

त्रिपुरासुन्दरी गाउँपालिकाका स्थानीय शम्भु पाण्डेले भने, ‘महिलाले लगाएको चप्पल, उनले बोकेको घाँसको भारी, नाम्लो महिलाको शव पुरिएकै ठाउँमा पुरिएको छ । यो नियोजित रुपमा भएको दर्दनाक हत्या हो, घाइते भएकी सरस्वतीलाइ जिउँदै पुरिएको हो ।’

‘यसमा डोजर साहु अथवा ठेकेदारको पनि मिलेमतो नभइ चालक आँफैले मात्रै यत्रो अपराध गर्ने आँट गर्नै सक्दैनन् ।’ मृतक सरस्वतीकी सौतेनी छोरा सन्त बहादुर कुमालले भने, ‘चालकले आफुभन्दा माथिलाइ सोधेर घटना लुकाउन नियतबस यो सव गरेको कुरामा हामीलाइ शंका छ । मिलेमतोमा नै यो हत्या भएको हो ।’

घटनापछि डोजर चालक, डोजर साहु अथवा बाटोको ठेकेदारलाइ पक्राउ गर्नुपर्ने माग राख्दै स्थानीयले शव उठाउनै दिएनन् । दिउसो १ बजेतिर घटना भएपनि साँझसम्म सरोकारवाला कुनैपनि पक्ष सम्पर्क नआएपछि स्थानीय बासीहरुले प्रहरी चौकी नै घेराउ गर्न थाले ।

नाम उल्लेख नगर्ने सर्तमा एक स्थानीयले भने, ‘घटना फितलो बनाउन प्रहरीले डोजर चालक, साहु ठेकेदार कोही नआउँदै शव उठाएर पोष्टमार्टमको लागि लैजान खोजेपछि हामीले प्रहरी चौकी घेराउ गरेका हौँ ।’ साँझपख प्रहरी चौकी घेराउ गर्ने भीड बढ्दै गएपछि प्रहरी चौकीमै ढुङगामुढा हुन थालेपछि प्रहरी स्थिति नियन्त्रणमा लिन ३ राउण्ड हवाइ फायर नै गरेको थियो ।

घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कारबाही गर्नुपर्ने, पिडित परिवारलाइ रोजगारी र क्षतिपुर्तिको दिनुपर्ने माग राखेर स्थानीय र मृतकका आफ्न्त आन्दोलिन भएका छन् । स्थानीयहरुको असन्तुस्टिका वीच प्रहरीले घटनास्थलमा जाँचमुचुल्का गरि घटना भएको २४ घण्टापछि शवलाइ घटनास्थलबाट पोष्टमार्टको लागि प्राथमिक स्वास्थ्य केन्द्रमा पठाएको छ । बुधवार विहान १० बजेसम्म पिडक पक्षलाइ प्रहरीमा बोलाउने मौखिक सहमतीमा शवलाइ पोष्टमार्टम गर्न पठाएको स्थानीयले बताएका छन् ।

फरार चालकको खोजी कार्य तिव्र बनाइएको धादिङ प्रहरीले जानकारी दिएको छ । प्रहरी प्रमुख खड्काले भने, ‘सडक निर्माण कम्पनीका प्रतिनिधि, डोजर साुहका प्रतिनिधि पनि प्रहरी सम्पर्कमै छ, चालक पक्राउ गर्नको लागि जिल्ला सवै प्रहरी युनिटमा चालकको हुलिया पठाएर नाकाहरु विशेष निगरानी गर्न निर्देशन दिएका छौँ ।’

About The Author

Loading...

अन्य समाचारहरु: