Fri. Mar 29th, 2024

समृद्ध नेपालको आधार : श्रममा सम्मान र ज्यालामा समानता !


गायत्री खतिवडा

म दैनिक जसो ग्रामिण महिलाहरुसंगको साक्षात्कारमा हुन्छु । सवैलाई सोध्ने मेरो पहिलो प्रश्न हुन्छ ः के काम गर्नुहुन्छ ?
प्रायः सवैको एउटै उत्तर आउँछ ः केही काम छैन । वा केही गर्दिन ।
म फेरी सोध्छु ः आज सम्म केही नगरि खान पाउनु भएको हो त ? छ त ?
उनीहरु भन्छन् ः होइन ,कहाँ केही नगरि खान पाउनु ! कुनै दिन एक छिन फुर्सद हुन्न । कहिलेकाही एक दिन कतै जाँदा नि कति काम बित्छ !

उसो भए तपाईले काम गरेर महिनामा कति कमाउनु हुन्छ ?
हाँस्दै भन्छन् ः शून्ना पैसा । (भनेको एक रुपैयाँ नी कमाइ हुँदैन )
सवै गृहणी महिलाको अवस्था यही हो । दैनिक १५ देखि १७ घण्टा काम गर्छन् तर एक रुपैयाँको आम्दानी हुँदैन । वा नगद हातमा पर्दैन । तर दैनिक ८ देखि १० घण्टा काम गर्ने पुरुषले मासिक २० देखि ३० हजार रुपैयाँ सम्म कमाउँछन् । अनि यहि कुरालाई लिएर पुरुषले घरमा भन्ने गर्छ “मैले कमाएर तँलाई पालेको हो । तेरो कुनै काम छैन । तँ निस्कीएर जा ।”

समाजले पनि भन्ने गर्छ “महिलाको कुनै काम छैन । वा महिलाले केही पनि गर्दैनन् ।” यो त घर भित्रको काम गर्ने महिलाको कुरा भो ।
घर बाहिर खासगरि ज्यालादारीमा काम गर्ने महिलाहरुलाई दिनको कति ज्याला पाउनुहुन्छ भनेर सोध्यो भने उत्तर आउँछ महिलालाई पाँच सय पुरुषलाई सात सय । महिलालाई सात सय पुरुषलाई हजार रुपैयाँ ।

तर काम गर्ने घण्टा चै बराबर हुन्छ ।
मेलापर्ममा जाने महिलाहरुलाई कति ज्याला पाउनुहुन्छ भनेर कुरा गर्ने हो भने उनीहरु भन्छन् एक हल हली गोरुको पुरुष गए २ खेताला र महिला गए ४ खेताला जानुपर्छ ।
ज्याला भएको असमानताको यस्तो उदाहरण कति छ कति हाम्रो समाजमा । समाजको के कुरा गर्नु सिंङ्गै देशमा । कम्पनी , संस्थान, वा अनौपचारिक हिसाबले काम गर्ने जति पनि ठाउँहरुमा समान घण्टा, समान काम भएनी महिला र पुरुषलाई दिइने ज्याला फरक छ ।

एकातिर घर भित्र गरिने कामलाई “कामको” रुपमा गणना भएको छैन भने अर्कोतिर घरबाहिर गरिने काम सरकारी सेवा बाहेक सवै ठाउँमा ज्यालामा विभेद छ । असमानता छ । काम र ज्यालामा भएको यही असमानताको कारण नै महिलाहरु हिंसाको शिकार हुनुपरेको छ ।
व्यक्तिले व्यक्ति भएर बाँच्नका लागि गरिने सवै क्रियाकलापहरु “काम” हो ।

परिवारको आधारभूत आवश्यकतालाई पुरा गर्न आवश्यक पर्ने सेवा तथा बस्तु उत्पादनका लागि गरिने सवै क्रियाकलापहरु काम हो – १९९३ (संयुक्त राष्ट्रसंघ)
तर नेपालमा घरभित्र महिलाले गर्ने कामलाई मर्यादित कामको रुपमा नलिने र मूल्य÷ज्याला नपाउने अवस्थाले महिलाको आर्थिक शसक्तिकरण बलियो हुन सकेको छैन । महिलाले गर्ने काम र ज्यालामा भएको असमानताको कुरा गर्दा हामीले ८ मार्च अन्तराष्ट्रिय श्रमिक महिला दिवसलाई भुल्नु हुँदैन । नेपालमा यो वर्ष “महिलाको सुरक्षा सम्मान र रोजगार समृद्ध नेपालको आधार” भन्ने नारा लिएर यो वर्ष १ सय ११ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाइदैछ ।
८ मार्चको अन्तराष्ट्रिय सन्दर्भ ः

समान कामको समान ज्याला दिनुपर्छ भनेर महिलाले राज्यसंग मागेको १ सय ११ वर्ष पुगेको छ । इतिहासले त भन्छ महिलाले पुरुष सरह समान काम र समान ज्याला माग्न शुरु गरेको २ सय ४२ वर्ष भयो । सन् १७७९ मा बेलायती महिला मेरी ओल्स्टोनक्रयाफट्ले असमानताको विरुद्धमा पहिलो पल्ट विरोध गरेकी थिइन् । १८ औं शताब्दीमा युरोपमा औद्योगिक क्रान्ति शुरु भएपछि महिलाहरुले पनि घर बाहिर निस्कीएर काम गर्न थालेका थिए । पुरुष सरह समान काम गरे पनि ज्याला भने कम पाए । त्यसपछि समान काम, समान कामको अवधी र समान ज्यालाको कुरा शुरु भएको थियो । १७८९ मा फ्रान्सको पेरिसमा श्रमजिवी महिलाहरुले पनि समान कामको समान ज्यालाको कुरा उठाएका थिए ।

१५ औं, १६ औं र १७ औं शताब्दीमा युरोपमा भएको औद्योगिक क्रान्तिले महिलालाई घर भित्र बाट घरबाहिर निस्कने अवसर दियो । घर देखि उद्योग र कारखाना सम्म पुग्ने र आर्थिक उपार्जनमा लाग्ने अवसर दियो । समयक्रम र औद्योगिक विकास संगै महिलाको जिम्मेवारी र भूमिकामा परिवर्तन आयो । घरको चौघेरा नाघेर पुरुष संगसंगै काँधमा काँध मिलाएर काम गर्न थाले । काम गर्दै जाँदा महिलाहरुले आफु विरुद्ध विभेद भएको र असमानता रहेको बुझे र त्यसको विरुद्ध बोल्न थाले ।

काममा भएको विभेद, ज्यालामा भएको विभेद, विदा र आरामको कुरा उठाउन थाले ।
हामीले सन् १८३१ मा फ्रान्समा भएको मजदुर आन्दोलन, सन् १८३४ को लिओन्स् विद्रोह, सन् १९४४ मा जर्मनीमा भएको विद्रोहलाई पनि सम्झनुपर्ने हुन्छ । यसरी विस्तारै शुरु भएको आन्दोलन सन् १८५७ मा आइपुग्दा अमेरिकाको सुति कपडा उद्योगमा काम गर्ने महिला कामदारहरुले कामको घण्टा कम गराउन माग गर्दै आन्दोलन गरे । १८५७ मा अमेरिकी महिलाहरुले गरेको यही आन्दोलन नै महिला आन्दोलनको महत्वपूर्ण जग हुन पुग्यो । यस्तै सन् १८९७ मा अमेरिकी महिलाले पुनः महिलाका लागी उचित पारिश्रमिक र १० घण्टा कार्यदिनको माग गर्दै आन्दोलन गरे ।

कामको घण्टामा र पारिश्रमिकमा पुरुष सरह समान हुनुपर्ने माग गर्दै अगाडी बढेको महिला आन्दोलन अझ बढ्दै गयो । यस्तै सन् १९०८ मा अमेरिकामा श्रमिक महिलाहरुले मताधिकारको अधिकारको लागि आन्दोलन गरेका थिए । सन् १९०९ को मार्च ८ का दिन अमेरिकाकै सिकागो सहरका महिलाले विभन्न ठाउँमा हड्ताल र विरोध जुलुस निकालेका थिए ।

यसरी संसारभर नै समान काम र समान ज्यालाको माग गर्दै अगाडी बढेको आन्दोलनले सन् १९१० मा डेनमार्कमा राजधानी कोपनहेनमा भएको अन्तराष्ट्रिय महिला सम्मेलनमा आइपुग्दा एउटा मूर्त रुप लियो । त्यही सम्मेलनमा क्लारा जेट्किनले ८ मार्चलाई एकता, संघर्ष र विजयको प्रतिकको रुपमा संसारभर मनाउन प्रस्ताव गरिन् । सो प्रस्ताव सर्वसम्मतिले पास भएपछि ८ मार्चलाई अन्तराष्ट्रिय श्रमिक महिला दिवसको रुपमा मनाउन थालिएको हो । आज सम्म आइपुग्दा श्रमिक महिलाहरुको अधिकारको आन्दोलनले एउटा शताब्दी पार गरिसकेको छ ।
नेपालको सन्दर्भः

नेपाली महिला आन्दोलन पनि विश्व महिला आन्दोलन जत्तिकै गौरवपूर्ण र ऐतिहासिक छ । योगमाया न्यौपानेले समाजमा हुने कुरिती र असानता विरुद्ध गरेको आन्दोलन नेपाली महिला आन्दोलनको इतिहास हो । योगमायाले समाजमा जकडिएर रहेको दासप्रथा, सतिप्रथा, बालविवाह, बहुविवाह लगायतका कुप्रथा विरुद्ध डटेर बोलेकी थिइन् । आफुले चलाएको अभियान सफल पार्ने दृुढतामा शाणा शासकहरुले तुषारापात गर्ने देखिएपछि विद्रोहस्वरुप आफ्ना साथीहरु सहित सामुहिक जलसमाधि लिएको गौरवपूर्ण इतिहास छ ।

नेपाली महिलाको राजनीतिक आन्दोलनको कुरा गर्दा विराटनगर जुटमिलमा भएको मजदुर आन्दोलनसंग जोडिएको छ । वि स.२००३ सालमा विराटनगरमा भएको मजदुर आन्दोलनमा दिव्या कोइरालले पनि नेतृत्व गरेकी थिइन् । वि सं २००४ सालमा साहना, साधना , स्नेहलता लगायता महिला नेताहरुले आन्दोलनको अगुवाइ गरि सडकमा निस्कीएका थिए । वि सं २००७ साल यताको सवै राजनीतिक परिवर्तनमा नेपाली महिलाको महत्वपूर्ण योगदान छ ।

८ मार्चलाई मनाउने सन्दर्भमा कुरा गर्दा २०३२ सालदेखि नेपालमा सरकारी तवरबाट मनाउन थालिएको पाइन्छ । त्यस यता विभिन्न सचेतनामुलक कार्यक्रम गरि यो दिवसलाई मनाउने गरिएको छ । साथै गैरसरकारी क्षेत्रमा पनि ८ मार्चलाई यसको मुल ध्यय अनुसार महिलाहरुवीचको एकता, संघर्ष र वीजयको प्रतिकको रुपमा मनाउने गरिदै आएको छ ।

दिवस मनाउने कुरा त छदैछ । तर हामीले अहिले बहस गर्नुपर्ने विषय भनेको घरभित्र वा घरबाहिर जहाँसुकै महिलाले गर्ने कामलाई मर्यादित कामको रुपमा हेरिनुपर्छ । पर्याप्त, जीवन धान्न पुग्ने र नियमीत आम्दानी हुने रोजगारीको व्यवस्था हुनुपर्छ । महिलाले गर्ने काममा आम्दानीको सुरक्षा, आधारभूत स्वास्थ्य सेवामा पहुँच, आम्दानी नभएको अवस्थामा पनि आकस्मिक आवश्यकता पूरा गर्न सक्ने आर्थिक आधार हुनुपर्छ ।

उत्पादनशील काम गर्ने उमेर पछि पनि विशेष सुरक्षा कोषको व्यवस्था, सवै प्रकारको विभेदमुक्त भइ काम गर्न पाउने वातावरणको ग्यारेन्टी र सुरक्षित कार्यस्थल हुन आवश्यक छ । यस वर्षको नाराले पनि समृद्ध नेपालको आधार भनेको महिलाको सुरक्षा, सम्मान र रोजगार हो भन्ने कुरा अगाडी सारेको छ ।

७१ प्रतिशत महिलाहरु घरेलु श्रम र अनौपचारिक क्षेत्रमा श्रम गर्छन् । घरभित्र काम गर्ने महिलाले पारिश्रमिक पाउँदैनन् । ज्यालादारीमा काम गर्नेले पनि निकै कम ज्याला पाउँछन् । त्यहाँ कुनै सुरक्षा र स्वस्थकर वातावरणको सुनिश्चितता छैन । विमाको व्यवस्था छैन । महिलाले विशेष अवस्थामा पाउनुपर्ने आराम र विदाको व्यवस्था छैन ।

त्यसैले समृद्ध नेपालको लक्ष्य पुरा गर्न महिलाले घरभित्र गर्ने कामलाई “मर्यादित कामको” रुपमा गणना हुन आवश्यक छ । र राष्ट्रिय आयमा घरेलु कामको मुल्यलाई जोडिनु आवश्यक छ । सवै किसीमको श्रमको सम्मान र ज्यालामा समानता भयो भने मात्रै समृद्ध नेपालको लक्ष्य पुरा गर्न मद्दत पुग्नेछ ।

[email protected]

२०७७ फागुन २३ गते प्रकाशित

About The Author

Loading...