Mon. May 17th, 2021

मेरो प्रश्न “भालेहरु”लाई : कहिले सम्म तिमी मात्रै ठिक ?

गायत्री खतिवडा

यही साता भेट भएको एकजना महिलाले भनिन् ः “मेरो विहे भएको ११ वर्ष भयो । विवाहदर्ता र नागरिकता बनाइदिनु भनेकै कारण कति कुटाइ खाएँ हिसाब छैन । तर पनि चुप लागें । एक दिन त श्रीमानले बुझ्लान् र विवाहदर्ता नागरिकता बनाइदिन्छन् भन्ने आशमा सहेर बसें । तर कति सहने ? ११ वर्ष भयो मैले कुटाइ खाएको ।

मेरो अधिकार लिन्छु भनेर भागेर आएको हो । म साथीको घर जान्छु भनेर भागेर आएको हो । उसले थाहा पायो भने मार्छ । अव म मर्न परे पनि आफ्नो अधिकार लिएर मात्रै मर्छु भनेर निस्कीएको । अव म सहन्न ।”

अर्की एक ५६ वर्षिय महिलाले भनिन् ः“मेरो जीन्दगीमा हाँस्ने दिन कहिल्यै आएन । विहे गरेको ३९ वर्ष भयो । त्यति नै वर्ष मेरो दिनहरु कुटाइ, पिटाइ र गाली खाएर बित्यो । पहिले सासु ससुराको गालीगलौज (मानसिक याताना) खाएँ । केहि वर्ष पछि देखि श्रीमानले अरुसंग बात लाएर पिट्न थाले । कति पटक मर्ने कोशिस गरें ।

तर सकिन । मर्न जाँदा बच्चाको यादले फर्किएर आउँथे । अहिले पनि म जेल भित्र बाँचे झै बाँचेको छु । अहिले आएर छोराहरुले पनि बाहिर निस्कन र बोल्न दिदैनन् । उनीहरुको इज्जत जान्छ रे । श्रीमानले गाली गर्न छोडेका छैनन् । न मर्न सकेको छु न बाँच्न ।”

हरेक दिन भेटिने घरेलु हिंसा प्रभावितको यस्ता अनगिन्ती पीडाको कथा सुनेको छु मैले । हरेक कार्यक्रममा जाँदा दिदीबहिनीले यस्ता कैयन दर्दनाक कथा सुनाउँछन् । ८ मार्च (फागुन२४) गते अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित कार्यक्रममा भेटिएका दिदीबहिनीले पनि आफ्नो दुःखको कथा नै सुनाउनुभयो ।

देशले फागुन २४ गते अन्तराष्ट्रिय श्रमिक महिला दिवसको कार्यक्रम गरिरहदा सुदुरपश्चिममा एउटा दुखद घटना भयो । दैलेखको आठविस नगरपालिका वडा नम्बर ३ निमायलकी सुकी बडुवाल छिमेकीसंग खेतमा पानी हाल्न जान्छु भनेर निस्कीइन् ।

१२,१५, ६ वर्षकी तीन छोरी र ८ वर्षका एक छोरा पनि साथैमा लिएर घरबाट निस्कीएकी सुकी फेरी कहिल्यै नर्फने बाटोमा जान लागेकी हुन् भन्ने कसैले कल्पना पनि गर्न नस्कने कुरा थियो । तर सुकी बडुवाल र चार छोराछोरी कर्णालीमा होमिए कहिल्यै नर्फकर्ने गरि गए ।

२५ गते यो खबर बाहिर आएपछि सवैलाई दुखि र स्तब्ध बनायो । सुन्दा पनि कहाली लाग्ने यो घटनाले नेपाली महिलाको अवस्थालाई चित्रीत गरेको छ । आम नेपाली महिला कुन मनोदशामा बाँचेका छन् ? उनीहरु घर भित्र कुन हदको हिंसाको शिकार भएका छन् ? भन्ने कुरा हेर्न सवैलाई संवेदनशील बनाएको छ । किनकी यो घटना घरेलु हिंसासंग जोडिएको घटना हो । श्रीमानले मदिरा सेवन गरी कुटपीट गर्ने गरेको कारण सुकीले छोराछोरी सहित सामुहिक आत्महत्या गर्ने अवस्था आएको प्रहरीको भनाइ छ ।

घरेलु हिंसाको घटना र यसले निम्त्याएको दुखद् परिणाम एउटा टोल, एउटा गाउँ र एउटा जिल्लामा मात्रै छैन ।देश भर नै छ । महिलाले आत्महत्या गर्ने घटनाको कारण विश्लेषण गरेर हेर्दा ७० प्रतिशत आत्महत्या घरेलु हिंसाको कारण रहेको एक अध्ययनले देखाएको छ ।

घरेलु हिंसा महिलामाथी हुने हिंसाको घटना मध्ये सवैभन्दा धेरै हुने घटना हो । नेपाल प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष ०७४ /०७५ मा देशभर १२ हजार २ सय २५ वटा घरेलु हिंसाको घटना भएको छ । आर्थिक वर्ष ०७५ / ०७६ मा १४ हजार ७ सय ७४ वटा र आर्थिक वर्ष ०७६÷०७७ मा ११ हजार ७ सय ३८ वटा घरेलु हिंसाको घटना भएको छ । यि घटना त देखिएको सुनिएको घटना मात्रै हो । अझ कयौं सय घटना घर भित्रै दबिएर बसेको छ ।

नेपाल सरकारले विगत कयौं वर्ष देखि स्पष्ट रुपमा तोकेर विभिन्न शिर्षकमा महिला सशक्तिकरण कार्यक्रम गर्ने भनेर गरिरहेको छ । लैङ्गिक उत्तरदायि तथा सामाजिक समावेशी बजेट तर्जुमा एवं परीक्षण निर्देशिका २०६८, स्वीकृत गरी कार्यान्वयनमा ल्याएकोे छ ।

यस निर्देशिकाले स्थानीय स्तरमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणका विषयमा सैद्धान्तीक तथा व्यवहारिक ज्ञान दिलाई स्थानीय तहमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण मैत्री योजना तथा कार्यक्रम तर्जुमा, कार्यान्वयन र अनुगमन गर्ने कार्यमा सहयोग पुयाउने उद्देश्य लिएको छ ।

महिला, बालबालिका, दलित, आदिवासी जनजाति, मधेशी, मुस्लिम, पिछडावर्ग, उत्पीडित, विपन्न वर्ग, अपाङ्गता भएका व्यक्ति तथा पिछडिएका क्षेत्रका जनताको समानुपातिक सहभागितातर्फ कार्य गर्ने उद्देश्य अनुसार लैङ्गिक उत्तरदायी तथा समावेशी बजेट विनियोज गरि काम गरिरहेको छ ।

सरकारले अहिले सम्म महिलाको सशक्तिकरण र विकासको लागि जति पनि नीति तथा कार्यक्रम ल्याएको ती कार्यक्रमको उपलब्धि के कस्तो भयो विश्लेषण गर्नुपर्ने देखिन्छ । अर्को हामीले विश्लेषण गर्नुपर्ने कुरा सरकारले महिलाको सशक्तिकरण गर्ने भनेर गरिएको कार्यक्रमले महिलामाथी हुने हिंसा, विभेद र शोषणलाई कम गर्न किन सघाएन ?

हजारौं गैर सरकारी संस्थाहरुले पनि महिलाको विकास र सशक्तिकरणको लागि अरबौं लगानी गरेका छन् भनिन्छ । तर त्यो लगानी के मा खर्च गरियो ? वा त्यो लगानीले महिला र पुरुषको वीचको लैङ्गिक असमानताको खाडल पुर्न किन सकिरहेको छैन । विकास भनेको के हो ?समाजको आधा हिस्सा शोषणको शिकार भइरहदा हामी किन संवेदनशील हुँदैनौं ? समाजमा जरा गाडेर बसेको हानिकारक प्रथा परंपराको विरुद्ध किन छुदैन हाम्रा कार्यक्रमले ? यस्ता कैयन प्रश्न जिउँको तिउँ छ ।

घेरेलु हिंसाको घटनाको बारेमा कुरा गर्दा यो यस्तो अपराध हो जुन समुदायले पत्याउँदैन । घरपरिवारले दमन गरिरहन्छ तर समाजले वास्ता गर्दैन । एउटा घर भित्र एउटी आमा, छोरी, बुहारी (महिला)ले कुटाइ खाइरहेकी हुन्छिन् तर छिमेकीले देखे पनि नदेखे झैं गर्छन् । “घर भित्रको झगडा” भनेर छिमेकी चुप बस्छ । समुदायले सुन्दैन । देख्दैन । राज्यले पनि घर भित्रको घटना मिलाउनु पर्छ भनेर कानुन मै “घरेलु हिंसाको घटनामा ३० दिन भित्रमा मिलापत्र गर्ने” भन्ने कुरा स्पष्ट लेखेको छ ।

कसैले नपत्याउने, नदेख्ने, नसुन्ने घटनाको कारण महिलाहरु अल्पायुमै आफ्नो जीवन आफैं समाप्त पार्न बाध्य हुन्छन् ।सहन सकुन्जेल सहेर बस्छन् । पटक पटक आत्महत्याको कोशिस गर्छन । मर्दै बाँच्दै , मर्दै बाँच्दै लतारिएर हिंडीरहदा एक दिन सुकी बडुवालले झैं सदाका लागि हिड्न छोड्छन् । यो समाजलाई “पापीहरुको ” जिम्मा मा छोडेर जान्छन् । एक दुई दिन समाचार बन्छ, देश दुनियाँले पढ्छ र फेरी विर्सन्छ । हरेक घर भित्र “भुसको आगो” जस्तै आगोले महिलालाई जलाइरहेछ ।

कतिपय कार्यक्रममा जाँदा “पितृसत्ताको”को नाइकेहरुले बोलेको सुन्छु । महिलाको कारण महिला पछाडी परिरहेका छन् । महिलाकै कारण महिलामाथी हिंसा भैरहेको छ । महिलाले नै विकृती ल्याइरहेका छन् । महिलालाई दिइएको विकास महिलाले नै चिनेनन् ।

महिलालाई दिइएको शिप तालिमले खेर गयो, किन केही गर्न सकेनन् ? महिला किन अगाडी आउँदैनन् ? किन महिलाहरुले सधैं दुःख भो, यस्तो उस्तो भो भन्ने कुरा मात्रै गर्छन् ? किन विकास र समृद्धिको कुरा गर्दैनन् ? किन हिंसाका कुरा मात्रै उचाल्छन् ? यस्ता कैयन प्रश्नै प्रश्न ।
समाज बनाउने ठेक्का लिएर हिडेका “भालेहरुले” सधैं महिलालाई मात्रै प्रश्न गर्छन् । सधैं महिलामात्रै केही गर्न नसक्ने र नजान्ने देख्छ ।

महिलाले बोलेको, गरेको, हिंडको सवै कुरामा सधैं खोट मात्रै देख्छ । आफुै सधैं ठिक र महिला मात्रै बेठिक देख्छ । आखिर कहिले सम्म ?

gayatri.dhading@gmail.com

२०७७ चैत १ गते प्रकाशित

Loading...