Fri. Apr 19th, 2024

“मनलाई” सुनौं !

गायत्री खतिवडा

जन्मने र मर्ने, म हुँ कि ? मेरो शरिर
गुरुजी हटाइ पाउँ, यो मनको पिर ”

केही महिना अगाडी युटुबमा सुनेको एउटा भजनको दुई हरफ हो यो । “मन” शरिर भित्रको देख्न नसकिने भाग हो । जुन “मन” बाट विचारको उत्पत्ति हुन्छ । विचारले निर्देशन गरे अनुसार मस्तिष्कले काम गर्छ । विचार अनुसारको भावना बन्छ । भावना भनेको संवेग हो । मान्छे भित्र हुने “नवरस” यही मनसंग जोडिएको हुन्छ ।

सिगमण्ड फ्रायडका अनुसार मान्छेको मनको तीन भाग हुन्छ । अचेतन, अर्धचेतन र सचेतन । उनका अनुसार ९० प्रतिशत हिस्सा अचेतन मनले ओगटेको हुन्छ । अथवा अचेतन मनमा ९० प्रतिशत कुरा लुकेर बसेको हुन्छ । दबिएर बसेको हुन्छ । यसरी दबिएर बसेका इच्छा, चाहनाहरु स्वस्फुर्त रुपमा प्रकट हुने वातावरण नपाउँदा मनोरोगको रुपमा देखिन्छ भनिन्छ ।

सन् १८७९ तिर “आत्मा” नै सवै कुरा हो भनियो । आत्माले नै मान्छेलाई निर्देशित गर्छ भन्ने कुराको व्याख्या गरियो । आत्माले चे सोच्छ वा जे ठान्छ त्यही आत्माको निर्देशन अनुसार मान्छेले व्यवहार गर्छ भनियो ।

हुन त अहिले पनि हिन्दु धर्म अनुसार मान्छेको शरिर मर्छ तर आत्मा मर्दैन भनिन्छ । मान्छेको मृत्यु पश्चात आत्माले अर्को शरिरमा प्रवेश गर्छ भनिन्छ । तर विज्ञानले केही पत्तो लगाउन सकेको छैन ।सन् १९९६० देखि मान्छेको व्यवहार मानसिक प्रक्रियाको आधारमा हुन्छ भनेर फेरी नयाँ सिद्धान्त आयो । मानसिक प्रक्रिया भन्नाले मनको आधारमा हुन्छ । मान्छेको व्यक्तित्व बन्ने आधार नै “मन” हो भनिन्छ ।

व्यक्तिका संवेगहरु दैनिक व्यवहारमा कसरी प्रकट हुन्छन् ? व्यक्तिको सम्बन्धहरु कस्तो छ ? व्यक्तिको मनमा कस्तो सोचाइ, विचार र भावनाहरु आउँछ ? व्यक्तिले कुन विषयलाई कसरी स्विकार्छ वा नर्काछ ? यि सवै कुरा “मनसंग” सम्बन्धित छ
व्यक्तिको “सामाजिक व्यक्तित्व” बन्ने महत्वपूर्ण आधार मन भएपनि हामीले मनलाई चिनेका नै छैनौं । शरिरलाई जति महत्वका साथ लिछौं उति मनलाई महत्व दिंदैनौं ।

शरिरमा घाउ लागेमा , चोटपटक लागेमा तुरुन्तै उपचार गर्न दौडिन्छौं । तर मन दुखेमा वा मनमा चोट परेमा वेवास्ता गर्छौं ।एकातिर हाम्रो मन दुखिरहेको हुन्छ । मन रोइरहेको हुन्छ । मन कुँडिएको हुन्छ । तर देखावटी रुपमा अरुको खुशीको लागि अर्कोतर कुद्छौं ।

हामीले हाम्रो भावनाहरुलाई चिन्न सकेका छैनौं । कसैले कसैलाई नराम्रो व्यवहार गरेको छ, वा कुटपिट गरेको छ भन्यो भने उसले “मेरो ज्यान दुखेको छ वा टाउको दुखेको छ ” भनिरहेको हुन्छ । तर मलाई रुन मन लागेको छ, वा दिक्क लागेको भन्दैन । किनकी हामीले हाम्रो भावनालाई गहिरीएर हेरेका छैनौं ।

कसैले “मलाई रुन मन लागको छ” भन्यो भने हामी हाँसोमा उडाइदिन्छौं । यो गर् वा त्यो गर् भनेर आदेश दिन्छौं । सल्लाह दिन्छौं । पछिल्लो समय कोरोनाको कारण बन्दाबन्दी भयो । बन्दाबन्दीको समयमा आत्महत्याको संख्या दोब्बरले बढ्यो । नेपाल प्रहरीको तथ्याङ्क अनुसार पहिले दैनिक ७ जना जतिले आत्महत्या गर्ने गरेकोमा पछिल्लो समय दैनिक १६ जनाले आत्महत्या गर्ने गरेका छन् ।

गएको साता धादिङ जिल्लाको एउटा रेडियो स्टेशनमा काम गर्ने एकजना युवाले आत्महत्या गरे । सो घटनाको बारेमा धेरैको अनेकथरी टिप्पणी सुनें । कतिले प्रेमिकाको कारण आत्महत्या गरेको भने, कतिले ऋणको कारण आत्महत्या गरेको भने । कतिले “लाछी रहेछ ”त्यतिको केटा बाँच्न सक्दैन थ्यो र ! भने । कसैले प्रेमिकाको कारण आत्महत्या गरेको भए “आत्महत्या दुरुत्साहनको मुद्दा” किन नचलाउने भने ।

तर कसैले उनको मनमा के चलिरहेको थियो ? वा उनको मानसिक स्वास्थ्य अवस्था के थियो होला ? भनेर भनेन ।कस्तो तनावमा थिए ? के चिन्ताले कुन मनोदशामा बाँचेका थिए ? भनेर कसैले विश्लेषण गरेन ।

मैले सुने अनुसार उनले आत्महत्या गर्नुभन्दा अघिल्लो दिनसम्म नी आफ्ना सहकर्मी संग “म त मर्छु होला” भनेका थिए रे । तर उनको कुरालाई कसैले गम्भिरताका साथ लिएन । उल्टै कतिजनाले मजाक बनाए, हाँसोमा उडाए ।

दिनदिनै भित्रभित्रै मानसिक हिसाबले उनी कमजोर बन्दै गए । तर शारिरीक रुपमा आफुले गरिरहेको काम गर्न मर्नु भन्दा १० मिनेट अगाडी सम्म नी छोडेनन् । दुःखको कुरा, उनको मनलाई कसैले सुनेन । उनको मन दुखेको कसैले देखेन । उनलाई रुन मन लागेको, छटपटी भएको , निन्द्रा नलागेको र जीन्दगी बेक्कार भयो भन्ने लागेको कसैले थाहै पाएन ।एउटा भर्भराउँदो युवाको जिन्दगी वीचैमा चुँडियो । फेरी पनि हामी सवैले उनलाई दोष दियौं ।

आत्महत्याको बारेमा कुरा गर्दा जसले आत्महत्याको सोच बनाएको छ वा योजना बनाएको छ उसको मनमा जहिलेसुकै “मेरो केही छैन, मेरो कोही छैन, मैले गरेको केही हुँदैन र मेरो जिन्दगी बेक्कार भो” भन्ने कुरा खेलिरहेको हुन्छ ।

आत्महत्याको प्रयास गर्नु अगाडी व्यक्ति संवेगात्मक रुपमा शुन्य हुने गर्दछ । भन्नाले रिस उठ्ने कुरा गर्दा नी नरिसाउने ,हाँसो उठ्ने कुरा गर्दा नी नहास्ने हुन्छ । आफुलाई एक्लो महशुस गर्ने र एक्लै बस्न चाहने हुन्छ ।

हामी सवैले प्रत्यक्ष थाहा पाउने कुरा भनेको बारबार मर्ने कुरा गर्ने हो । “म त मर्छु भन्ने” वा कसरी मर्न सकिएला भनेर उपायहरुको बारेमा कुरा गर्ने हुन्छ ।
थाहा पाएर पनि हामी थाहा नपाए झैं गर्छौं । वेवास्ता गर्छौं । सवैभन्दा ठूलो भूल त “व्यक्तिको मनलाई” भुल्छौं ।
शरिर ठिकठाक देख्छौं । “खाइलाग्दो छ, गरि खान सक्छन् किन आत्तिएको” भन्छौं । सम्बन्धित व्यक्तिलाई काम नलाग्ने अनेक उपदेश दिन्छौं । कति कति बेला “मैले भनेको मान्दै मानेन” भनेर आरोप लगाउँछौं हरेक व्यक्ति दैनिक १७÷१८ घण्टा काम भनेर दौडिरहेको हुन्छ । मस्तिष्कले नधान्दा पनि लतारिएर गर्ने पर्ने बाध्यतामा हुन्छ । कतिले चै मैले अरुको लागि यति गरेको छु भनेर सुनाइरहेको हुन्छ ।

तर आफ्नै मनोभाव, भावना, संवेगलाई विर्सिएको हुन्छ । आफुले आफैंलाई माया गर्न जानेकै हुँदैन ।आफुले आफ्नै हेरचाह गर्न विर्सिएको पत्तै हुँदैन । हामी आफुले आफैलाई चिन्न नसक्दा , आफ्नै मनलाई सुन्न नसक्दा, आफ्ना भावनाहरुसंग खेल्न नजान्दा कठोर निर्मम बन्दै गएका छौं । आफ्नो सम्बन्ध भित्र जोडिएका मान्छेलाई पनि कठोर र निर्मम बनाइरहेका छौं ।

मेरो विचार कस्तो छ ? भनेर आफुले आफैलाई प्रश्न गर्न आवश्यक छ । सवै आफु अनुकुल होस् वा आफु अनुकुल चलोस् भनेर शासन गर्न मन पर्छ हामीलाई । म भन्दा अर्को व्यक्ति फरक हो , उसको र मेरो भावना फरक हुन्छ , सोचाइ फरक हुन्छ भनेर स्विकार गर्न सक्दैनौं । अनि मैले भने अनुसार चलेन÷ भएन भनेर दोषारोपण गर्छौैं ।

महिला माथीको हिंसा पनि यसरी पनि भएको छ ।
पुरुषको भावना, पुरुषको विचार, पुरुषको सोचाइ, पुरुषको आदेश , पुरुषको निणर्य अनुसार महिला चल्नुपर्ने कठोर नियम छ , हाम्रो समाजमा । महिला “मान्छे ” बन्नै दिइएको छैन । जव पुरुषको आदेश महिलाले मान्दैनन् त्यसपछि आरोप, गालीगलौज र दोषरोपण शुरु हुन्छ ।

सवैको जन्मदेखिको वातावरण, हुर्काइ, पारिवारिक सामाजिक परिवेशले हामीलाई “मान्छे बन्न” मद्दत गरेको छ । यो कुरा प्रत्यक्ष रुपमा मन संग जोडिएको छ । मनमा आउने विचार र भावनाले नै शरिरमा प्रतिक्रिया देखाउँछ । त्यसैले मन भित्रको गहिराई लाई बुझौं । मनलाई सुनौं ।

[email protected]

२०७७ चैत ९ गते प्रकाशित

About The Author

Loading...