Fri. Mar 29th, 2024

धादिङको गाउँगाउँमै आइसोलेसन, तयारीमा जुट्दै जनप्रतिनिधि

default

शंकर श्रेष्ठ
२५ बैशाख, धादिङ

कोरोना संक्रमणको दर दिनप्रतिदिन बढेसंगै धादिङका स्थानीय तहले आइसोलेसन निर्माण कार्य तीव्र पारेको छ । स्थानीय तहहरुले अक्सिजन सहितको आइसोलेसन तयार गरेका हुन् ।

हालसम्म १३ स्थानीय तहमध्य ११ ओटा स्थानीय तहले आफ्नो सेवाक्षेत्रभित्र आइसोलेसन निर्माण गरिरहेका छन् । आइसोलेसनसँगै कोरोना संक्रमित बिरामी बोक्न छुट्टै एम्बुलेन्स समेत व्यवस्थापन गरेका छन् ।

धादिङ अस्पतालले सदरमुकाम धादिङबेसीमा अस्थायी कोभिड अस्पताल स्थापना गरी ५० वेडको अक्सिजन सहित आइसोलेसन संचालन गरिरहेको छ । बेनिघाट रोराङ गाउँपालिकाले मलेखुमा अक्सिजन सहित २१ बेड, महादेवस्थान स्वास्थ्य चौकीमा २, चरौदी आधारभुत स्वास्थ्य केन्द्रमा २, वेनिघाट स्वास्थ्य चौकीमा २ र जोगिमारा स्थास्थ्य चौकीमा २ गरी २९ वेडको अक्सिजन सहितको आइसोलेसन तयार पारेको छ ।

मलेखुमा स्थापना गरिएको अस्थाई कोभिड अस्पतालको आइसोलेसन निरिक्षण गर्दे वेनिघाट रोराङ गाउँपालिका अध्यक्ष ।

कोरोना संक्रमित बिरामी बोक्नका लागि एक ओटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको वेनिघाट राराङ गाउँपालिकाका स्वास्थ्य संयोजक शंकरमणि दुवाडीले बताए । कोरोना संक्रमणले पालिकाभित्र भयावह स्थिति आइपरे आफैले प्रयोग गरेको गाडीलाई समेत एम्बसलेन्सको रुपमा प्रयोग गर्न तयार रहेको गाउँपालिका प्रमुख पित्तबहादुर डल्लाकोटी ‘हरी’ले बताए ।

गजुरी गाउँपालिकाले गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा १०, मलेखु टिचिङ अस्पतालमा ५ र आइसोलेसन केन्द्र आदमघाटमा अक्सिजन सहित ५ वेडको आइसोलेसन सेन्टर स्थापना गरेको छ । गजुरी–४ चिउरीखर्कमा पनि ५ वेडको आइसोलेसन स्थापना गरी तयारी अस्वस्थामा राखिएको गाउँपालिकाका स्वास्थ्य संयोजक डा. रामहरी रेग्मीले जानकारी दिए । गजुरीले ३ ओटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको र गलौदीस्थित कभर्ड हलमा १० वेडको आइसोलेसन निर्माण कार्य भइरहेको रेग्मीले बताए ।

गजुरी गाउँपालिकाले स्थापना गरेको आइसोलेसन वेड ।

त्यसैगरी गल्छी गाउँपालिकाले नमूना बागेश्वरी क्याम्पसमा २०, अस्थायी कोभिड अस्पताल गल्छीमा ५ र बुढिगण्डकी जनरल अस्पतालमा १५ वेडको आइसोलेसन निर्माण गरी २ ओटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको स्वास्थ्य सह संयोजक शिव पौडेलले जानकारी दिए । थाक्रे गाउँपालिकाले महाकाली क्याम्पस सिम्लेमा २ ओटा एम्बुलेन्स सहित ५ वेडको आइसोलेसन निर्माण गरेको छ ।

धादिङको उत्तरी भेगमा पर्ने खनियाबास गाउँपालिकाले दार्खामा ५ वेड र नेत्रावती डब्जोङ गाउँपालिकाले ५ वेडको अस्थायी कोभिड अस्पताल स्थापना गरेको छ । त्यसैगरी गंगाजमुना गाउँपालिकाले ग्रामीण अस्पताल फुलखर्कमा ५ वेडको आइसोलेसन सेन्टर स्थापना गरी ३ ओटा एम्बुलेन्स तयारी अवस्थामा राखेको गंगाजमुना गाउँपालिकाका स्वास्थ्य संयोजक दिपक अधिकारीले जानकारी दिए ।

त्रिपुरासुन्दरी गाउँपालिकाले सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रमा अक्सिजन सहित १५ वेडको आइसोलेसन निर्माण गरेको छ । कोरोना संक्रमित बिरामी बोक्न एम्बुलेन्सलाई पनि तयारी अवस्थामा राखिएको गाउँपालिकाले जनाएको छ ।

त्रिपुरा सुन्दरी गाउँपालिकाको सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसन वेड ।

ज्वालामुखी गाउँपालिकाले अमराइमा अस्थाई कोभिड अस्पताल निर्माण गरी अक्सिजन सहित ५ वेडको आइसोलेसन वेड तयार पारेको छ । त्यस्तै सिद्दलेक गाउँपालिकाले फिसटारमा अक्सिजन सहित १५ वेडको आइसोलेसन वेड तयार गरेको छ ।
धुनिवेसी नगरपालिकामा २० वेडको आइसोलेसन सेन्टर निर्माण कार्य भइरहेको छ । विकटमा पर्ने रुवीभ्याली गाउँपालिकामा भने सम्पर्क हुन सकेन ।

शनिबार धादिङ जिल्लाभित्र १५ जनाको रिपोट पोजिटिभ आएको छ । गजुरी गाउँपालिकामा ४, थाक्रे गाउँपालिकामा ६ र गल्छी गाउँपालिकामा ५ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

हालसम्म जिल्लाभित्र सक्रिय संक्रमितको संख्या ४ सय ४० जना पुगेको छ । जिल्ला बाहिर १ सय ७९ जना सक्रिय संक्रिय संक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय धादिङका केश इन्भेस्टिकेशन एण्ड कन्ट्रयाकट्रेसिङ सहजकर्ता उन्नती महर्जनले जानकारी दिइन् । शनिबार साँझसम्म जिल्ला भित्र र बाहिर गरी सक्रिय संक्रमितको संख्या ६ सय १९ पुगेको छ । शनिबार मात्रै ९ जना संक्रमित निको भई घर फर्किएका छन् ।

सदरमुकाममा रहेको अस्थायी कोभिड अस्पतालमा ३३ जना, गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा ५ जना र मलेखु टिचिङ अस्पतालको आइसोलेसनमा ३ जनाको उपचार भइरहेको छ भने बाँकी संक्रमितहरु होम आइसोलेसनमै छन् ।

२०७८ बैशाख २५ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: