Fri. Mar 29th, 2024

अवैध मोबाइल साउन १ देखि नचल्ने

काठमाडौ

अवैध मोबाइल बन्द गर्न सरकारले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) साउन १ देखि लागू गर्ने भएको छ । साउन १ पछि अवैध मोबाइललाई चरणबद्ध रूपमा बन्द गरिने नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

कर नतिर्ने उद्देश्यले भन्सार छलेर र चोरी पैठारीका अवैध मोबाइल नियन्त्रणका लागि एमडीएमएस सफ्टवेयर प्रणाली स्थापना गर्न लागिएको प्राधिकरणको भनाइ छ ।

‘एमडीएमएस प्रणाली सुरु भएपछि सबै अवैध मोबाइल एकै पटक बन्द हुने होइनन्, हामी अवैध मोबाइल चरणबद्ध रूपमा पत्ता लगाएर बन्द गर्छौं,’ नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले भने, ‘यसका लागि तीन–चार महिना लाग्न सक्छ ।

’ एमडीएमएस प्रणालीलाई टेलिकम कम्पनीहरूको प्रणालीसँग गाभ्ने काम सकिएको छ । अहिले सेवा प्रदायक र प्राधिकरणका कर्मचारीलाई प्रणाली सञ्चालनका लागि तालिम दिने काम भइरहेको उनले बताए ।

यो प्रणाली राख्न मोबाइल आयातकर्ताहरूले लामो समयदेखि माग गर्दै आएका थिए । यो प्रणाली पूर्ण रूपमा सञ्चालन भएपछि विदेशबाट नेपाल ल्याएर मोबाइल चलाउन मोबाइलको आईएमईआई नम्बर दर्ता अनिवार्य गर्नुपर्छ ।

आईएमईआई नम्बरका आधारमा फोन वैध वा अवैध हो भनेर यो सफ्टवेयरले पत्ता लगाउनेछ । अवैध मोबाइल भए प्रणालीमार्फत बन्द गर्न सकिन्छ ।

त्यसमा सिमकार्ड नै चल्दैन । एमडीएमएस प्रणालीले भन्सार नतिरी भित्रिएका फोनसमेत पत्ता लगाउन सहयोग गर्न सक्छ ।


नेपाल दूरसञ्चार प्राधिकरणले आफ्नो वेबसाइटमै आईएमईआई नम्बर दर्ता गर्ने सुविधा दिएको छ । कर तिरेर नेपाल भित्रिएको मोबाइल प्रयोगकर्ताले आईएमईआई दर्ता गर्नुपर्ने प्राधिकरणले जनाएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: