Fri. Apr 19th, 2024

बागमति प्रदेशमा चल्ने भयो विद्युतीय बस

काठमाडौ

विवादबीच बागमती प्रदेशमा अन्ततः विद्युतीय बस चलाइने भएको छ।
सोमबार बसेको संसद्‌ बैठकबाट बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित गरेसँगै अब विद्युतीय बस चल्ने भएको हो। आवश्यक पूर्वाधार तयार नगरी सरकारले बस खरिद गर्न लागेको भन्दै बजेटबाट बस खरिद कार्यक्रमलाई हटाउन प्रतिपक्ष दलहरूले माग गर्दै आएका थिए।

बजेटबाट विद्युतीय बस खरिद कार्यक्रम हटाउन माग गर्दै प्रतिपक्षी दलहरूले पटकपटक संसद अवरुद्ध गर्दै आएका थिए। तर, संसदबाट सरकारको आगामी आर्थिक वर्ष ०७८ / ७९ को बजेट बहुमतले पारित गरेसँगै विद्युतीय बस सञ्चालन गर्न सरकारलाई बाटो खुलेको हो।

गत आर्थिक वर्ष ०७६र७७ देखि नै विद्युतीय बसलाई प्रदेशको गौरवको कार्यक्रमको रूपमा प्राथमिकताको साथ बजेटमा राख्दै आएपनि सरकारले त्यसलाई सञ्चालन गर्न भने सकेको छैन।

गत वर्ष विद्युतीय बस खरिद र सञ्चालनको लागि छुट्याएको २८ करोड रुपैयाँ खर्च गर्न नसक्दा फ्रिज भएको थियो भने चालु आर्थिक वर्षमा पनि ४० करोड रुपैयाँ फ्रिज हुने अवस्थामा छ।

सरकारले गत वर्षमा विद्युतीय बस खरिद प्रक्रिया शुरू नगरेको, बरू यसको अध्ययन अनुसन्धानलाई तीव्रता दिएका कारण बजेट फ्रिज भएको प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँलको भनाइ छ।

उनका अनुसार चालु आर्थिक वर्षमा भने सरकारले बस खरिदको लागि अन्तरराष्ट्रिय बोलपत्र आह्वान गरिसकेको छ, जसको म्याद साउन ६ गतेसम्म छ।

सरकारले साउनबाटै बस खरिद प्रक्रियालाई अगाडि बढाएर आगामी जेठसम्म बस सञ्चालन गर्ने उद्देश्य लिएको छ।

खनिज इन्धनको बढ्दो खपत न्यूनिकरण गर्दै स्वदेशमै उत्पादित विद्युतको प्रयोग बढाएर आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने, बढ्दो सवारी चाप हटाउने, बढ्दो वायु तथा ध्वनी प्रदुषण न्यूनिकरण गर्ने र पेट्रोल तथा डिजेलमा हुने खर्चमा कमी ल्याउने उद्देश्यले विद्युतीय बस सञ्चालन गर्न लागेको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ।

पेट्रोलियम पदार्थबाट सञ्चालन हुने हलुका सवारी साधनलाई २०८८ सम्ममा विद्युतीय सवारी साधनले विस्थापित गर्ने रणनीतिक योजना तर्जुमा गरी कार्यान्वयन गर्ने योजना सरकारले आगामी आवको बजेट वक्तव्यमा उल्लेख गरेको छ।

About The Author

Loading...

अन्य समाचारहरु: