Tue. Aug 3rd, 2021

धादिङमा कुन आधारले बढाइयो सार्वजनिक यातायातको भाडादर ?

शंकर श्रेष्ठ
धादिङ
– धादिङका यातायात व्यवसायीहरुले मनोमानी ढंगबाट भाडा समायोजन गरेका छन् । धादिङबेसीबाट छुट्ने र काठमाडौबाट छुट्ने सबै रुटको भाडा आफुखुसी २८ प्रतिशतले बढाएका हुन् ।

प्रदेश र स्थानीय दुई सरकारले भाडा समायोजनको विषयमा कहि कतै निर्णय गरेको छैन । तर, यातायात संचालक सस्थाहरुले नै भाडा समायोजनको सूचना निकालेर एकलौटी ढंगबाट भाडादर कायम गराएका छन् । साउन १ गतेदेखि नै यात्रुसँग नयाँ समायोजन अनुसार भाडा असुल्न थालेका छन् ।

यातायात व्यवस्था विभागकै निर्णय अनुसार यात्रुबाहक सार्वजनिक यातायातको भाडा बढाएको व्यवसायीहरुले बताएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको गत असार २७ गतेको सैदान्तिक सहमतिमा यातायात व्यवस्था विभागले दुई वा सो भन्दा बढी प्रदेश गई संचालन हुने सार्वजनिक यातायातका सवारीहरुको हकमा मात्र लागु हुने गरी भाडादर समायोजन गरेपनि अन्तर–जिल्लाको भाडा समायोजन गरेको छैन ।

धादिङबेसीबाट काठमाडौ र आरुघाट, काठमाडौबाट धादिङबेसी र आरुघाट रुटमा धादिङ मण्डली यातायात प्रा.लि., ग्रामीण यातायात सहकारी सस्था लि. र ग्रामिण यातायात धादिङ प्रा.लि.ले यात्रुबाहक सार्वजनिक यातायात संचालन गर्दै आएको छ ।

के भन्छ विभाग ?
‘सार्वजनिक यातायातमा संचालन हुने सवारीहरुको भाडादर समायोजन दुई वा सो भन्दा बढी प्रदेश गई संचालन हुने (राष्ट्रियस्तरमा सार्वजनिक यातायात रुटमा संचालन हुने) सार्वजनिक यातायातका सवारीहरुको हकमा मात्रै लागु हुने व्यहोरा सम्बन्धित सबैलाई यसै सूचना मार्फत जानकारी गराइन्छ’ यातायात व्यवस्था विभागको असार ३१ गतेको सूचनामा भनिएको छ ।

एकै प्रदेशभित्र संचालन हुने वा स्थानीय तहभित्रका रुटहरुमा संचालन हुने सार्वजनिक सवारीहरुलाई भाडा वृद्धि नगर्न विभागले भनेको छ । ‘प्रादेशिक सार्वजनिक यातायातको हकमा सम्बन्धित प्रदेश सरकार र स्थानीय सार्वजनिक यातायातको हकमा स्थानीय सरकार वा सम्बन्धित निकायबाट समायोजन नभएसम्म साविक बमोजिमकै भाडादर लागु हुने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइएको छ’ विभागको सूचनामा उल्लेख छ ।

संघीय सरकारले अन्तर प्रदेशको मात्रै भाडा समायोजन गरेको र अहिले बागमति लगायत अरु प्रदेशले पनि प्रादेशिक सार्वजनिक यातायातको भाडा समायोजन नगरेको यातायात व्यवस्था विभागका प्रवक्ता एवं् सूचना अधिकारी लोकनाथ भुसालले बताए । ‘एउटा प्रदेशभित्रको भाडा समायोजन त्यही प्रदेश सरकारले नै गर्नुपर्छ, एउटा स्थानीय तहभित्रको भाडा त्यही स्थानीय तहले गर्नुपर्छ,’ प्रवक्ता भुसालले भने, ‘बागमति प्रदेशले भाडा समायोजन गर्ने निर्णय गरेको छैन ।’
संघीय सरकार, यातायात व्यवस्था विभागले अन्तर प्रदेश संचालन हुने (१ सय ८६ ओटा रुटको) सार्वजनिक यातायातको मात्रै भाडा समायोजन गरेको थियो ।

यातायात व्यवसायीको हावादारी तर्क !
यातायात व्यवस्था विभागले एकै प्रदेशभित्र संचालन हुने र अन्तरजिल्ला चल्ने सार्वजनिक यातायातले भाडा समायोजन गर्नुपरे सोही प्रदेश वा सोही स्थानीय तहको निर्णय आवश्यक पर्ने भन्दाभन्दै पनि व्यवसायीहरुले सरकारकै निर्णय हो भन्दै हावादारी तर्क दिएका छन् ।

ग्रामीण यातायात सहकारी संस्था लि.का महासचिव बद्री सुवेदी भन्छन्,‘मन्त्रीपरिषद्ले नै निर्णय गरेर पठाएको छ, सरकारले निर्णय गरेको नै कुरा हो, विगतमा यस्तै गर्ने नजिर थियो त्यही नजिर अनुसार भाडा समायोजन गरिएको हो ।’ यसअघि धादिङबेसीबाट काठमाडौको भाडा १ सय ८७ रहेकोमा २८ प्रतिशतले बढाएर २ सय ३७ पु¥याएको छ ।

धादिङ मण्डली यातायात प्रा.लि. प्रबन्धक राजेश प्रजापतिले पनि यातायात व्यवस्था विभागकै निर्णय अनुसार भाडा समायोजन गरेको बताएका छन् । ‘जुन जिल्लामा जति भाडा कायम छ त्यसमा २८ प्रतिशतसम्म भाडा समायोजन गर्नु भन्ने विभागकै निर्णय अनुसार साविकको भाडा १ सय ८७ लाई आधार मानेर भाडादर समायोजन गरेका छौं’ प्रजापतिले भने ।

बेखबर जिल्ला प्रशासन
भाडा समायोजनको विषयमा जिल्ला प्रशासन कार्यालय धादिङ पनि बेखबर छ । प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाल भन्छन्,‘जिल्ला प्रशासनसंग कुनै समन्वय भएको छैन । यातायात व्यवसायीहरुले त्यस्तो गलत गरेको बुझ्ने कोषिस गरौंला ।’

केही दिन अघि जिल्लाबाट संचालन हुने सार्वजनिक यातायातको भाडा समायोजन गर्ने विषयमा टेलिफोन आएपनि कुनै खालको सरसल्लाह नभएको प्रमुख जिल्ला अधिकारी ढकालले बताए ।

Loading...

अन्य समाचारहरु: