Tue. Aug 3rd, 2021

‘नागढुंगा सुरुङमार्गमा यात्रा गर्न अब धेरै कुर्नु पर्दैन’

स्केच : निर्माणाधिन नागढुंगा सुरुङमार्गको धादिङको सिस्नेखोलातर्फको भाग ।

शंकर श्रेष्ठ
धादिङ-
देशमा थुप्रै गौरवको आयोजना छन् । जलविद्युत, सिंचाई, विमानस्थल, रेलवे, सडकले भन्दा सुरुङमार्गले धेरै नै चर्चा पाएको छ । त्यही मध्य ‘नागढुंगा सुरुङमार्ग’ नेपालको पहिलो सुरुङमार्ग हो । नागढुंगा सुरुङमार्गको काम अहिले द्रुत पारिएको छ । आयोजनाका निर्देशक नरेशमान शाक्य भन्छन्,‘यही गतिमा निर्माणको काम भइरहे नागढुंगा सुरुङमार्गमा यात्रा गर्न अब धेरै कुर्नु पर्दैन ।’

निर्माणाधिन नागढुंगा सुरुङमार्गको धादिङको सिस्नेखोलातर्फको भाग । फाइल तस्बिर

जापानिज कम्पनी हाज्मा–आन्द्रो जेभीले बनाइरहेको यो सुरुङ निर्माणका २०७६ असोजमा साढे १३ अर्ब रुपैयाँमा ठेक्का प्राप्त गरेका हो । यो आयोजना ४२ महिनामा सक्नु पर्नेछ । आगामी आर्थिक वर्षको जेठ महिनामा सुरुङ खनेर सकिने शाक्यले बताए । बाँकी ६ महिनामा फिनिसिङको कामपनि सकिने र सुरङमार्गबाट यात्रा गर्न सकिने उनको भनाई छ ।

काठमाडौंको बलम्बुस्थित तोतीपाखाबाट शुरु भइ धादिङको सिस्नेखोलामा पुगेर सकिने छ । यो सुरुङमार्गबाट थानकोटबाट १० मिनेटमा नौबिसे पुग्न सकिने छ ।

अत्याधुनिक रुपमा निर्माण भइरहेको नागढुंगा सरुङमार्गमा समायवधिमा नै सक्नका लागि अहिले दिनरात नभनी ६ सयभन्दा बढी मजदूर धमाधम दुई सिफ्टमा काम गरिरहेको शाक्यले जानकारी दिए । ‘आवश्यकता अनुसार देशी र बिदेशी इन्जिनियर खटाएर सब कन्ट्रयाकहरुमार्फत पनि काम भइरहेको छ’ उनले भने ।

धादिङतर्फको मुख्य मार्ग १ सय ६४ मिटर खनिएको छ भने काठमाडौं तर्फको १ सय ४ मिटर सुरुङ खनिएको छ । अहिले नागढुंगा सुरुङ खन्ने काम २ सय ६८ मिटर पूरा भएको छ । अहिलेसम्मको कामको प्रगति हेर्ने हो भने १६ प्रतिशत मात्रै काम भएको देखिन्छ, तर कोभिडका कारण मजदुर नभएर ढिला भएको काम समेत मेपक हुनेगरी जनशक्ति परिचालन गरेर काम भइरहेकोले समयमै काम सकिने आयोजनाका निर्देशक शाक्य बताउँछन् । कोरोनाको दोस्रो लहरका कारण मजदुर कम भएपनि अहिले सम्पूर्ण मजदूर आइसकेको उनले बताए ।

सुरुङको लम्बाई ५४ सय मिटर हो । शाक्यका अनुसार अहिलेसम्म सबै गरेर ९ सय १० मिटर खनिसकिएको छ । आपतकालीन टनेलतर्फ ५ सय १२ मिटर टनेल खनिएको छ । साथै एउटा टनेलबाट अर्को टनेलमा जानका लागि ३० मिटरको प्यासेज राखिएको छ जसमा अहिलेसम्म ९.५ मिटर खनिएको छ ।

सुरुङमार्ग निर्माणमा अहिले काठमाडौको बलम्बुपट्टी जग्गाको मुवाव्जाको विषय मिलिसकेको छैन । बलम्बुमा रहेको जग्गाको मुवाव्जा मूल्य निर्धारण हुन नसक्दा सुरुङमार्गको काममा बाधा परेको निर्देशक शाक्यको भनाइ छ । मुआव्जाका लागि ६ अर्ब छुट्याइएको छ ।

सडक विभागकाअनुसार नेपालमा डेढ दर्जन सुरुङमार्ग निर्माणको चरणमा काम भइरहेको छ ।

Loading...

अन्य समाचारहरु: