काठमाडौं– नेपाल लगातार दोस्रोपटक ट्वान्टी–२० विश्वकपमा छनोट हुने तयारी गरिरहेको अवस्थामा कप्तान पारस खड्का र प्रशिक्षक पुबुदु दसानायकेको लक्ष्य उपाधि जितेर आउनेछ ।
नेपाली टिम अभ्यासका लागि मंगलबार राति इंग्ल्यान्ड उडेको छ । एक साता इंग्ल्यान्ड भ्रमणका क्रममा नेपालले चार अभ्यास खेल खेल्नेछ । नेपाली टिम त्यसपछि चार ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल्न नेदरल्यान्ड्स जानेछ । जुलाई ९ बाट सुरु हुने विश्व ट्वान्टी–२० छनोटका लागि नेपालले यो सबै तयारी गरेको हो ।
गत वर्ष यही प्रतियोगितामा नेपाल तेस्रो हुँदै पहिलोपटक ट्वान्टी–२० विश्वकपका लागि छानिएको थियो । यसपटक पनि शीर्ष ६ मा परेमा नेपाल अर्को वर्ष भारतमा हुने विश्वकपमा छानिनेछ । ‘सबैले विश्वकपमा छनोट हुनुपर्छ भनेर भनिरहेका छन्, तर हामी छनोट प्रतियोगिता नै जित्ने लक्ष्यका साथ गइरहेका छौं,’ मंगलबार बिदाइ कार्यक्रममा पारसले भने । ट्वान्टी–२० विश्वकप छनोटमा नेपालको यो तेस्रो सहभागिता हो । ‘पहिलो पटक यो प्रतियोगितामा खेल्दा हामी सातौं भएका थियौं, अघिल्लो पटक तेस्रो भयौं, अब हाम्रो लक्ष्य उपाधि जित्नु हो । हाम्रो टिममा त्यो क्षमता पनि छ,’ पारसले भने ।
भारतीय क्रिकेट बोर्डको हिमाचल प्रदेशमा नेपालले राम्रो तयारी गरेकाले दसानायके पनि विश्व ट्वान्टी–२० छनोटको लक्ष्यमा आफ्ना कप्तानसँग सहमत थिए । ‘भारतमा हाम्रो तयारी राम्रो भयो, हामी बिस्तारै लयमा आइरहेका छौं,’ दसानायकेले भने, ‘हामी निश्चय पनि यो प्रतियोगिता जित्ने आशामा बसिरहेका छौं । केही राम्रा प्रतिद्वन्द्वीहरू पनि छन् तर हामी जुन स्तरमा खेलिरहेका छौं, त्यो अनुसार हामी समूहमा शीर्ष स्थान रहँदै फाइनलतर्फ बढ्ने छौं ।’ यस्ता प्रतियोगिता खेल्दा दबाब सधैं हुने उनले बताए । दसानायकेले अगाडि भने, ‘एउटा सकारात्मक पक्ष के हो भने यो सफलताका लागि भोकाएको छ र त्यसका लागि अगाडि बढ्न चाहन्छ । पछिल्ला ६ देखि ८ महिनामा युवा खेलाडीले आफ्नो खेलमा निकै राम्रो सुधार गरिरहेकाले म खुसी छु । यो टिमले आफ्नो स्तर उचाइमा पुर्याएको छ । हामी एउटा अन्तर्राष्ट्रिय टोलीजस्तै देखिएका छौं, त्यसैले हामीबाट धेरै आशा गरिएको छ ।’
जुलाई ६ र ७ मा ओमान र यूएईसँग अभ्यास खेल खेलेपछि नेपालले विश्व ट्वान्टी–२० छनोट प्रतियोगिताको समूह चरणमा अमेरिका, नामिबिया, आयोजक आयरल्यान्ड, हङकङ, जर्सी र पपुवा न्यु गिनीसँग खेल्नेछ । अर्को समूहमा सहआयोजक स्कटल्यान्ड, अफगानिस्तान, नेदरल्यान्ड्स, यूएई, ओमान, केन्या र क्यानडा छन् । प्रतियोगिता जुलाई २६ सम्म चल्नेछ । कान्तिपुरबाट