राधिका सापकोटा –
अहिले हामी संक्रमणकालीन अवस्थामा छौं । भुकम्पले सबै तहसनहस बनाएको छ । हाम्रा घरहरु भत्किएका छन् जसका कारण हामी खुल्ला ठाउँमा आफ्नो जीवन गुजारा गरिरहेका छौं । यतिवेला हामी सबैको ध्यान कसरी घर बनाउने र कसरी आफ्नो जीवनलाई सहज बनाउने भन्नेतिर छ । अधिकांस हाम्रो समय विभिन्न निकायले दिएको राहत लिनेमा खर्च भैरहेको छ । राज्यका सम्पूर्ण निकाय राहत, उद्दार, पुर्नस्थापनामा लागिरहेका छन् । सबैभन्दा पहिलो प्राथामिकता सबैको यहि नै भैरहेको । तर यो संकटको अवस्थामा हामीले नसोचेका धेरै यस्ता समस्याहरु हाम्रा सामु आउँछन् जसलाई हामीले अनुमान नै गरिरहेका हुदैनौं । जब संकटको अवस्था हुन्छ त्यस्तो अवस्थामा महिला र वालबालिकाहरु सबै भन्दा बढि असुरक्षित हुन्छन् । महिला माथि हुने हिंसा अझै विशेष गरी यौनजन्य हिंसा बढ्छ । संसारभरीको अनुभवले यो कुरालाई प्रस्ट बनाएकोा छ । तर कहिलै पनि संकटको अवस्थामा पहिलो प्राथामिकता महिला र बालबालिकाको सुरक्षा पर्दैन । किनकी विपत्तको अवस्थामा पहिलो प्राथमिकता लामो समय सम्म अरु नै कुरा भैरहेको हुन्छ । भुकम्प पछिको अवस्थालाई नै हेर्ने हो भने नेपालमा पनि महिला र बालबालिकाहरु असुरक्षित भएको अवस्था देखिन्छ ।
महिलामाथि हुने हिंसाका घटनाहरु प्रत्येक दिन बाहिर आइरहेका छन् । त्रिपाल भित्रै बालिकाहरु बलात्कार भैरहेका छन् । धादिङ जिल्लाको मात्रै कुरा गर्ने हो भने भुकम्प पछाडी ३ जना बलात्कारको शिकार भैसक्नु भयो भने २ वटा बलात्कारको प्रयास भएको छ । १३ वटा घरेलु र सामाजिक हिंसाका घटनाहरु बाहिर आएका छन् । ५ जना महिलाहरुले आत्महत्या गरी सकेका छन् भने १ जना महिलाको लास भेटिएको छ जुन आत्महत्या की हत्या भन्ने अनुसन्धान भैरहेको छ । किशोरी तथा बालबालिकाहरु बेचविखनको कोसिस भएका कुराहरु आईरहेका छन् । यी सबैलाई हेरिरहँदा अब विस्तारै विपत्तको अवस्थामा महिला र बालबालिकाहरुमा हुने जोखिमलाई अनुमान गर्न सकिने अवस्था देखिएको छ । २ महिनाको विचमा यती धेरै घटनाहुनु सामान्य कुरा हैन ।
हामीले महिलामाथि हुने हिंसाको कुरा उठाइरहँदा धेरैले भन्ने गर्नुहुन्छ यतिबेला विपत्तको अवस्थामा यो सवाल उठाउने हैन । धेरैलाई लाग्छ यीनिहरु विना समय यो विना मतलबका सवालको वकालत गर्छन् । तर साच्चै विपत्तको अवस्थामा हामी विभिन्न ठाउँबाट सहयोग को लागि लागिरहेका छौं, किन भन्दा विपत्तबाट बाचेका १ जना पनि मानिस अब मर्नु नपरोस् भनेर हो । हामीले यो प्रयास गरिरहँदा पनि किन ६ जनाले फेरी ज्यान गुमाए ? यसलाई बुझ्न जरुरी छ । राज्यको न्यायिक संरचना पनि यत्तिबेला विपत्तका काममा व्यस्थ भएको हन्छ । सबैको ध्यान व्यवस्थापनमा गएको हुन्छ । यही मौकाको फाइदा उठाउँदै अपराधीक मनोवृत्ति भएका व्यक्तिहरुले आफ्नो अपराधलाई बाहिर ल्याउँछन् । यो उनीहरुका लागि एकदमै राम्रो अवसर हुन्छ । अनि यो यस्ता कुरा उठाउने समय हैन भनेर हामी सबैले उनीहरुको मनोवल बढाउनका लागि सहयोग गरिरहेका हुन्छौं । यतिवेला मानसिक रुपमा सबै विक्षप्त छन् । मनोसामाजिक विमर्श त्यत्ति महत्वको विषय बनिरहेको छैन हाम्रो समाजमा । मनोसामाजिक विमर्शको दक्ष जनशक्तिको अभावका कारण पनि सबैमा मनोसामाजिक विमर्श सहयोग पुग्न सकिरहेको छैन । जसका कारण आत्महत्या जस्तो अवस्थामा मानिसहरु पुगिरहेका छन् । अझै आत्महत्या गर्नेमा पनि महिलाहरु नै रहेका छन् ।
यी सबै कुरालाई मध्यनजर गर्दै राज्यले विपत्त व्यवस्थापनको योजना बनाउँदा महिला तथा बालबालिका माथि हुन सक्ने हिंसा र त्यसको सुरक्षा र व्यवस्थापनलाई पनि योजनामा राख्नु पर्छ । विपत्त व्यवस्थापन समितिका बैठकहरु हुन्छन् तर कुनै पनि दिन कुनै पनि बैठकमा महिला र बालकालिका माथि हुने हिंसा वा जोखिमका विषयमा छलफल हुदैनन्, कुनै निर्णय हुदैनन् । यी विषय त्यहाँको एजेन्डा बन्दैन । ती समितिहरुमा महिलाको सहभागिता पनि हुदैन र भएपनि उनीहरुका कुराको सुनुवाई गरिदैन । राहतको काम, पुर्नस्थापन र पुर्ननिमार्णको काम एक पटक गरेपछि सकिन्छ । विपत्त पछि तुरुन्तै खाना र बासको समस्या बाहिर देखिन्छ तर महिला र बालिकामाथि हुने हिंसामा एक पटक काम गरेर सकिदैन । राहत, पुर्नस्थापन र पुर्ननिमार्ण सकिदा झनै यी समस्याहरु बढेर बाहिर आउन थाल्छन् । त्यसैले राज्यको ध्यान यसमा जानु जरुरी छ । जो जिल्लामा बसेर विपत्तको व्यवस्थापनमा काम गरिरहेका छौं हामी सबैको ध्यान यसमा जानु जरुरी छ । यी एजेन्डाका लागि पनि विपत्त व्यवस्थापन समितिका बैठकहरुले ठाउँ पाउन जरुरी छ । नत्र भुकम्पमा जोगिएका थुप्रै महिला र बालिकाको ज्यान गुम्ने छ ।