११ असार, धादिङ – झमक्क साँझ पर्दा उनी धादिङबेंसीको बीचबजारमा हिँडिरहेकी थिइन्। एउटा जिप ढेपिँदै आएर रोकियो।
‘कहाँ जाने बैनीरु’ ड्राइभरले सोध्यो।
पुलुक्क हेरेर उनी अर्कोतिर फर्किइन्। बिस्तारै हिँडिरहिन्। बा५च ३११ को बोलेरो पनि उनकै छेउ–छेउ गुडिरह्यो। ‘भन न, कहाँ जानेरु’ चालकले फेरि सोध्यो। ‘दामगाडे’ भन्दै उनी हिँडिरहिन्।
‘बस,’ उसले भन्यो, ‘म पनि उतै हिँडेको। गाडीमा पुर्याइदिन्छु।’
‘पर्दैन,’ हातमा झुन्डयाएको जेब्रा झोला सम्हाल्दै उनले भनिन्, ‘म हिँडेरै जान्छु।’
गाडीमा अर्को यात्रु पनि थियो। ड्राइभरले ढोका खोलिदिँदै इसारा गर्यो, ‘बस।’ उनी बसिन्।
पिच भएको इलाका कटेर अलि माथि पुगेपछि उसले गाडी रोक्यो। पुरुष यात्रु झर्यो। उनले भनिन्, ‘म पनि यहींबाट हिँडेर जान्छु।’
‘बस न बस,’ उसले भन्यो, ‘म पुर्याइदिइहाल्छु नि।’ उनी फेरि बसिन्। मिलनटोलमा पुगेपछि उसले फेरि गाडी रोक्यो। त्यहाँ सानो होटल थियो।
उसले युवतीलाई ‘खाजा खाएर जाऊँ’ भन्यो । उनले मानिनन्। उसले झन् जोड गर्यो। बरु फेरि भनिन्, ‘यहाँबाट म हिँडेर जान्छु।’
एक्लै खाजा खाएर ऊ गाडीमा चढ्यो। केही माथि पुगेपछि फेरि गाडी रोक्यो। सबै सिसा लायो। उनका हात र अन्य अंगमा छुँदै जिस्क्याउन थाल्यो। ‘छोड्नुस्,’ उनी झर्किइन्, ‘म जान्छु।’
‘उसले च्याप्प हात समात्यो,’ उनले सुनाइन्, ‘मैले खुट्टाले गाडीको ढोकामा हिर्काएँ। तर, खुलेन। उसले अर्को हातले खुट्टा पनि समात्यो। म चिच्याएँ।
उसले मुख थुनिदियो। र, कराइस् भने मारिदिन्छु भन्यो।’
उनी लाचार भइन्। हात झड्कारिन्। खुट्टा बजारिन्। उनको केही लागेन। उनी बलात्कृत भइन्।
संयोगवश त्यही बेला त्यही बाटो दुई जना व्यक्ति आइपुगे। उनीहरूले गाडीभित्र अनौठो खैलाबैला सुनेर ढकढक्याएछन्।
चालक बाहिर निस्कियो। मोबाइलको टर्च बालेर हेर्दा उनीहरूले उनको बिजोक अवस्था देखे। समातेर बाहिर निकाले। चालक गाडी लिएर टाप कस्यो।
उद्धार गर्दा उनको सुरुवाल घुँडासम्म झरेकै अवस्थामा थियो। ‘मैले उँभो तान्न खोजें। उद्धार गर्नेमध्ये एउटाले नतान् भन्यो,’ उनले सुनाइन्, ‘तानिस् भने म पनि त्यसै गर्छु पो भन्यो। म रोएँ। हात जोडेर छोडिदिन बिन्ती गरें। धन्न अर्को व्यक्तिले त्यसो नभन् भनेर उसलाई गाली गर्यो। र, उसैले प्रहरीलाई फोन गरिदियो। एकै छिनमा प्रहरी आइपुग्यो।’
बलात्कारका अभियुक्त कुम्पुर–२ निवासी २१ वर्षीय गंगा घलेलाई प्रहरीले पक्राउ गरेको छ।
एउटा गैरसरकारी संस्थाको संरक्षण गृहमा राखिएकी उनले बुधबार भनिन्, ‘ती दुई जना नआएका थिए भने उसले मलाई मारेर फालिदिन्थ्यो होला।’
ज्यामी काम गर्ने १६ वर्षीया उनी त्यस दिन दिउँसो खोलामा लुगा धुन गएकी थिइन्। ‘लुगा धोएर खोला छेउमै सुकाएँ। नजिकै एउटा साथीकहाँ गएर बसें। लुगा सुकुन्जेल कुर्दा साँझ परिसकेको थियो,’ उनले सुनाइन् ।
उत्तरको विकट री गाविसकी ती किशोरी कामकै खोजीमा केही महिनाअघि सहर झरेका बेला महाभूकम्प गयो। गाउँका कुनै घर बाँकी रहेनन्। सबै विस्थापित भए। तीमध्ये केहीचाहिँ सदरमुकामतिर आएरखाली ठाउँ खोज्दै छाप्रो बनाएर बस्न थाले।
त्यो समूहमा काकाको परिवार आयो। उनका बुवाआमा आउनै सकेनन्। उनी काकाकाकी लगायतसँग नजिकैको शिविरमा बस्न थालिन्। ‘उहाँहरू उतै जंगलमा हुनुहुन्छ। हामी यतै भयौं,’ उनले भनिन्, ‘ममाथि यस्तो बज्रपात भयो।’
बलात्कारपछि अर्को दिन उनलाई प्रहरी र विभिन्न संस्थाका व्यक्तिले शिविरमा पुर्याए। ‘आफन्त र अरू सबैले गाली गरे,’ उनले बिलौना गरिन्, ‘यसले इज्जतै फाली, तेरो त मुखै हेर्न मन छैन भने। यसमा मेरो के गल्ती छरु’
तर, त्यही नभएको गल्तीको भागीदार बन्दै उनैले संस्थाको शरण लिनुपर्ने भयो।
जिल्ला प्रहरीका डीएसपी प्रकाश मल्लले अभियुक्तलाई न्यायिक हिरासतमा लिई अनुसन्धान प्रक्रिया जारी रहेको तथा बलात्कारकै अभियोगमा मुद्दा दायर गरिएको जानकारी दिए। कान्तिपुरबाट