
धादिङ- नीलकण्ठ नगरपालिका वडा नं. १४ का वडा अध्यक्षले स्थानीय २ जनालाई कुटपिट गरेका छन् । वडा अध्यक्ष फन्द्रा तामाङसहितको समूहले शुक्रबार दिउँसो अब्जनाथ सापकोटा र इन्द्रप्रसाद घिमिरेमाथी कटपिट गरेका हुन् ।
कुटपिटपछि सापकोटा सख्त घाइते भएका छन् भने घिमिरे सामान्य छन् । सापकोटालाई धादिङ अस्पतालमा उपचारपछि थप उपचारको लागि शनिबार काठमाडौ लगिएको छ । पुरानो पार्टी छोडेर नयाँ पार्टीमा लागेको भन्दै वडा अध्यक्षसहितको समूहले गालीगलौज गर्दै कुटपिट गरेको घाइते घिमिरेले बताएका छन् ।
सापकोटा नेकपा एमाले विभाजनपछि माधव नेपाल समूहले गठन गरेको नेकपा (एस) जिल्ला कमिटि धादिङका सदस्य हुन् भने घिमिरे नेकपा (एस)नीलकण्ठ नगरपालिका वडा नं. १४, वडा कमिटि सदस्य हुन् ।
वडा अध्यक्ष तामाङ भने नेकपा एमालेमै छन् । तत्कालिन नेकपा एमालेबाट उनले अध्यक्ष जितेका थिए । शुक्रबार स्थानीय प्रेमप्रसाद लामिछानेको घरमा बसेर कुराकानी गरिरहेको अवस्थामा एक्कासी अपशब्द प्रयोग गर्दै कुटपिट गरेको नेकपा (एस) धादिङका सचिव सुवास खतिवडाले बताए ।
घटनाको छानविन गरी दोषीमाथी कारबाहीको माग गर्दै नेकपा (एस) जिल्ला कमिटि धादिङले प्रेस वक्तव्य जारी गरेको छ । ‘नागरिकको रक्षकको भूमिका निर्वाह गर्नुपर्ने जनप्रतिनिधि स्वयम् गुण्डागर्दी र आतंक सिर्जना गर्ने कार्यको नेतृत्व गर्दै हिड्नु कानूनी राज्यको उपहास हो । यस घटनाले स्थानीयहरु समेत आतंकित बनेका छन् । घटनाको सत्यतथ्य छानविन गरी दोषीउपर अविलम्ब कानूनी कारबाहीको लागि सम्बन्धित निकायसंग जोडदार माग गर्दछौं’ वक्तव्यमा भनिएको छ ।
‘शनिबार नेकपा (एस)को वडा स्तरिय भेला थियो, उक्त भेला कुनै हालतमा हुन नदिन भन्दै वडा अध्यक्षसहितको केपी ओली एमालेका टोलीले हामीमाथी कुटपिट ग¥यो’ सापकोटा भने, ‘भेलाको बारेमा छलफल भइरहेको बेला एक्कासी हामीमाथी आक्रमण हुन थाल्यो, धन्न छिमेकीले जोगाईदिए ।’
नेकपा एमाले विभाजन भएपछि सापकोटा नेकपा एकीकृत समाजवादीतिर लागेका हुन् । सापकोटाकै नेतृत्वमा शनिबार असोज २ गते एकीकृत समाजवादीको वडा स्तरिय कार्यकर्ता भेला गर्न लागेको थियो ।भेला हुन नदिन र कार्यकर्ता तथा सर्वसाधारणमा त्रास फैलाउने उदेश्यले नियोजित रुपमा आक्रमण भएको सापकोटाको आरोप छ ।
प्रत्यक्षदर्शीका अनुसार खाजा खाईरहेकाबेला एकीकृत समाजवादीको भेला किन गर्न लागेको, यहाँ अरु कसैले कुनै कार्यक्रम गर्न पाउँदैन भन्दै वडाध्यक्ष तामाङसहितका समुहले सापकोटामाथी कुटपिट गरेका हुन् । शनिबार विहान नेकपा एसका केन्द्रिय सदस्य गुरुप्रसाद बुर्लाकोटी, धादिङ जिल्ला सचिव सुवास खतिवडालगायत नेताहरु घाइते सापकोटालाई भेट्न धादिङ अस्पताल पुगेका थिए ।