
काठमाडौँ : अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस यस क्षेत्रका व्यक्ति तथा सरोकार संघसंस्थाहरुले विभिन्न कार्यक्रम गरी दिवस मनाएका छन् । दिवसको अवसरमा ‘मेरो सङ्केत’ एप विमोचन गरिएको छ । ‘हामी मानवअधिकार को लागि संकेत गर्छौ ‘ भन्ने नाराका साथ चौथो अन्तराष्ट्रिय बहिरा सप्ताह तथा सांकेतिक भाषाहरुको अन्तराष्ट्रिय दिवसको अवसरमा निर्माण गरिएको सांकेतिक भाषाको भिडियो सामग्री प्रशारण समेत सुरु गरिएको छ ।
राधा पौडेल फाउन्डेसनसँग राष्ट्रिय सांकेतिक भाषा दोभाषे संघ नेपालको फेलोसिप कार्यक्रम अन्तरगत मर्यादित महिनावारी तथा रजनोवृति सम्बन्धी सुनाई अपाङ्गता भएका व्यक्तिहरुका लागि सुचनामा पहुच पुर्याउने उद्देश्यले सांकेतिक भाषाको भिडियो सामग्री प्रसारण सुरु गरिएको हो ।

डिसेम्बर १९, २०१७ मा संयुक्त राष्ट्र संघले सन् २०१८ बाट शुरु हुने गरि सेप्टेम्बर २३ लाई अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवसका रुपमा मनाउने निर्णय गरेपछि यो दिवस मनाउन थालिएको हो । विश्वका झन्डै ७ करोड बहिरा नागरिकहरुको प्रतिनिधित्व गर्ने विश्व बहिरा महासंघ र हरेक देशका बहिरा संघ संस्थाहरुले यस वर्षको अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस विभिन्न कार्यक्रमहरुको आयोजना गरि मनाउन थालेका छन् । यता, नेपालमा राज्यले सांकेतिक भाषाको पहिचान तथा बिकासमा पर्याप्त ध्यान नदिँदा सञ्चारमा अवरोध तथा विभिन्न अधिकारहरुका लागि पहुँचमा अवरोध झेल्नुपरेको बहिरा वर्गहरुको अनुभव छ ।

दिवसको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा पनि सांकेतिक भाषाको सुरुवात भएको तिन दशक हुन लागिसक्दा पनि यसको विकास र प्रवर्दन अपेक्षाकृत रुपमा हुन सकिरहेको छैन तथापि नेपाल सरकार सांकेतिक भाषाको संरक्षण र प्रवर्दन गर्न प्रतिबद्ध रहेको बताए ।
