Sun. Sep 8th, 2024

कांग्रेस अधिवेशन: धादिङको गाउँ/नगर अधिवेशन आज

धादिङ– नेपाली कांग्रेस धादिङको गाउँ नगर अधिवेशन आज हुँदैछ । जिल्लामा रहेको २ नगरपालिका सहित १३ वटै पालिकामा आजै निर्वाचन हुने कांग्रेसले जनाएको छ ।

गाउँ नगर अधिवेशनमा युवाको वर्चश्व देखिएको छ । सभापतिदेखि कार्यसमितिमा युवा पुस्ताले नै बढी दाबी गरिरहेका छन् । युवाहरु आ–आफ्नो प्रचार सामाग्री बनाएर तीव्र प्रचारमा लागेका छन् ।

केन्द्रमा देखिएको गुटको प्रभाव जिल्लामा पनि प्रष्ट देखिएको छ । धादिङमा प्रधानमन्त्री शेरबहादुर देउवा पक्षका दिलमान पाख्रिन र रामचन्द्र पौडेल पक्षका रामनाथ अधिकारी मुख्यगरी दुई धारमा देखिएका छन् ।

सबै पालिकामा सर्वसहमतिका लागि नेताहरु छलफल र भेटघाटमै व्यस्त छन् । अधिकांश पालिकामा सहमतिमै कार्यसमिति बनाउने प्रयास भइरहेको दुबै पक्षका नेताहरुले बताएका छन् ।

धुनिवेसी नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिकामा सभापतिसहित कार्यसमिति सर्वसम्मत भइसकेको बताइएको छ । अहिलेसम्मको स्थिती हेर्दा १३ वटा पालिका मध्य धेरैजसो पालिकामा सर्वसम्मत हुने सम्भावना नेताहरुले दिएका छन् । केही पालिकाहरुमा निर्वाचन प्रकृया सुरु भइसकेको छ ।

गाउँ नगर अधिवेशनमा धादिङ जिल्लाबाट २१ सय ६९ जनाले भाग लिन पाउनेछन् । एउटा पालिकाबाट अध्यक्ष १, उपाध्यक्ष २, सचिव २, सहसचिव २, प्रत्येक वडाबाट एक महिलासहित ३ जना प्रत्यक्ष निर्वाचित हुनेछन् । जनजाती, खसआर्य, दलित कोटाबाट पालिका अनुसार फरक फरक संख्यामा निर्वाचित हुनेछन् ।

About The Author

अन्य समाचारहरु: