Mon. Apr 21st, 2025

निपाह भाइरस : संक्रमणबाट कसरी जोगिने,

कोरोना महामारी रहेकै समयमा निपाह भाइरसको अर्को त्रास थपिएको छ । यो नयाँ भाइरस नभएपनि यसको निश्चित उपचार भने छैन । यो भाइरस सन् १९९९ मा मलेसियाको सुँगुर फार्मबाट पत्ता लागेको थियो ।

यो भाइरसविरुद्धको खोप पनि बनिसकेको छैन । संक्रमणको दृष्टिले तुलनात्मकरुपमा यो नयाँ किसिमको रोग हो । यो भाइरस हरेक वर्षजसो भारत र बंगलादेशमा देखिने गर्छ । संक्रमित १० जनामध्ये ७ जनाको मृत्यु हुने गरेको तथ्यांक रहेको सरुवा रोग विशेषज्ञले बताएका छन् । यस रोगबाट ४० देखि ७५ प्रतिशतसम्म मृत्यु हुने गरेको अनुसन्धानहरुले देखाएका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले पनि महामारी ल्याउन सक्ने १० प्राणघातक रोगमध्ये निपाह भाइरसलाई एक मानेको छ । यो भाइरस ‘फ्रुट ब्याट’ प्रजातिको चमेरोबाट सर्ने गर्छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपनि यो भाइरसले मस्तिष्कमा असर गर्ने भएकाले मृत्यु दर उच्च रहेको अनुसन्धानबाट खुल्न आएको छ ।

छिमेकी मुलुक भारतमा निपाह भाइरस संक्रमण र मृत्युदर बढ्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खुला सीमाका कारण जोखिम उच्च रहेको भन्दै ७ वटै प्रदेशका अस्पताललाई निर्देशन दिइसकेको छ । नेपालमा यो भाइरस पुष्टि भएको छैन । भारतको केरेला राज्यमा फैलिएको यो भाइरसबाट मानिसले ज्यान गुमाइसकेका छन् ।

निपाह भाइरस के हो ?
एनआइभी भनिने निपाह भाइरसको संक्रमणबाट देखा परेको यो नयाँ किसिमको रोग हो । यो जनावरबाट जनावर, जनावरबाट मानिस र मानिसबाट मानिसमा सर्छ । यो भाइरस खासगरी ’फ्रुट ब्याट’ भनिने एक प्रकारको चमेरोमा पाइन्छ । साथै सुँगुर, बङगुर र चमेरोबाट संक्रमण हुन्छ । भाइरसले मस्तिष्क तथा श्वासप्रश्वासमा असर गर्ने भएकाले संक्रमण भएको ४८ घन्टाभित्र बिरामी अस्पतालको बेडमा पुग्नसक्छ भनिएको छ । यो अवस्थामा बिरामीलाई जोगाउन सम्भावना न्युन रहन्छ ।
यसको लक्षणहरु ?
ज्वरो आउनु, घाँटी दुख्ने, वान्ता हुनु, वाकवाकी लाग्ने, श्वास फेर्न गाह्रो हुनु यसका मुख्य लक्षण हुन् । यी प्राथमिक चरणका लक्षण हुन् । जब यसले मस्तिष्कमा संक्रमण गर्छ । तब मस्तिष्क सुनिन जान्छ । त्यसपछि भने बिरामी बाँच्न संभावना धेरै कम रहन्छ । २४ घन्टाभित्र बिरामी अचेत हुने वा कोमा जाने संभावना रहन्छ ।

नेपालमा यसको उपचार र परीक्षण गरिन्छ गरिन्न ?
नेपालमा यसको उपचार सर्वसुलभ छैन । खासमा यो भाइरसको खोप एवं कुनै औषधिसमेत छैन । लक्षण अनुसार बिरामीको उपचार गरिन्छ । सतर्कता अपनाउनु नै यसबाट बच्ने मुख्य उपाय हो । त्यस्तै संक्रमित पशुको संसर्गमा आएका फलफूल सेवन गर्नु हुँदैन । सरसफाइमा विशेष ध्यान दिनुप¥यो । पशुपंक्षी बिरामी भएमा सम्बन्धित चिकित्सकलाई जानकारी गरानुपर्यो । लक्षण देखिनेवित्तिकै स्वास्थ्य परीक्षणमा ढिलाइ गर्नु भएन ।
भाइरससम्बन्धी जनचेतना जोगाउन के गर्ने ?
सबैभन्दा पहिलो कुरा नेपालमा भाइरसको पुष्टि भएको छैन । नेपालमा चमेरो कहाँ बस्छ, के खान्छ भन्नेबारे अध्ययन भएपनि संक्रमण परीक्षण भएको छैन । थाइल्यान्ड, म्यान्मारका साथै अन्य देशमा चमेरोमा परीक्षण गर्दा संक्रमण पत्ता लागिसकेको अवस्था छ । हामीकहाँ परीक्षण खासै सहज छैन । जनचेतना फैलाउन आवश्यक छ ।

त्यसका लागि नीति तथा निर्देशिक या यस सम्बन्धी जनचेतनामूलक कार्यक्रम ल्याउनुपर्छ । स्वास्थ्यकर्मीले विशेष ध्यान दिनुपर्छ । निपाह भाइरसबारे बिरामीलाई जानकारी गराउनुपर्छ । चमेरोको बासस्थान नजिकै बस्ने स–साना बालबालिकालाई र स्कुलमा सचेतना जगाउने कार्यक्रम ल्याउनुपर्छ । मानिस मानिसबाट सर्ने भएकाले लक्षण देखा परे उपचारमा ध्यान दिनुपर्छ । ४ देखि १४ दिनसम्म लक्षण देखिन सक्छ । निपाह भाइरस संक्रमण स्थानबाट आएका व्यक्तिलाई १४ दिन क्वारेन्टाइनको व्यवस्था गर्नुपर्छ ।

हामीकहाँ चमेरोको बासस्थान कुन कुन ठाउँमा पाइएको छ ?
नेपालको पूर्वदेखि पश्चिम ठाउँमा पाइएको अनुसन्धानले देखाएको छ । काठमाडौं र भक्तपुरमा पनि चमेरोको वासस्थान फेला परेको छ । तर भाइरस छ कि छैन भनेर परीक्षण भएको छैन ।
नेपालमा जोखिम ?

उच्च जोखिम छ । हामीकहाँ चमेरोको बासस्थान र समुदाय नजिक छन् । दोस्रो कुरा सुँगुरपालन किसानको मुख्य पेशा छ । त्यसैले किसान उच्च जोखिममा रहेको भनिएको हो । उहाँहरु (किसान)ले जैविक सुरक्षा त्यति अपनाएको पनि देखिदैन । अर्को कुरा, लक्षण लिएर बिरामी अस्पताल जान्छन् । अस्पतालमा परामर्श दिने व्यक्तिहरुले समेत सुरक्षा सतर्कता अपनाएको पाइँदैन । बिरामीको दिसा, पिसाब, रगत जाँचका साथै अन्य परीक्षणमा जुटेका स्वास्थ्यकर्मीहरुले पनि खासै ख्याल गरेको देखिदैन । यस्तो अवस्थामा भाइरस फैलिने संभावना बढी रहन्छ ।

निपाह र कोभिड कसरी छुट्याउने ?

भाइरसहरुको एकअर्कासँग मिल्दोजुल्दो लक्षणहरु मिल्छन् नै । तर, लक्षण देखापरिसकेपछि परीक्षण गराउनुनै बुद्धिमानी हुन्छ । पीसीआर, दिसा, पिसाब, रगत परीक्षण गराउनुपर्छ । निपाह भाइरस तीव्र गतिमा फैलिन सक्ने भनिए पनि कोभिडसँग तुलना गर्दा त्यो गति केही सुस्त देखिएको छ । तर प्राणघातक रोग भएकाले स्वास्थ्य सजकतामा विशेष ध्यान दिनुपर्छ ।

प्रसंग बदलौं, यतिबेला नेपालमा कोरोना संक्रमण घटेको हो कि परीक्षण नभएको हो ?
संक्रमण घटेकै हो । कोरोनाको पहिलो लहरको जुन निम्नतम विन्दु थियो त्यतातिर गएको अवस्था हो । र यो ’नेचुरल’ हो । लहर भन्ने कुरा सधैं उत्कर्षमा रहदैन । यो झर्छ । इन्ट्रेस्टिङ कुरा के छ भने दोस्रो लहर अट्किदै झर्दै अट्किदै झर्दै गरेको अवस्था छ । पहिलो लहर त्यस्तो थिएन । अहिले संक्रमितको संख्या घटेको हो । कन्ट्याक ट्रेसिङमा परेका व्यक्ति परीक्षण गराउन आउँदैनन् । लक्षण धेरैजनामा देखिन्थ्यो । धेरैजना आउँथे। तर अहिले लक्षण कममा देखिएको छ, परीक्षण गर्ने आउने मानिस पनि कम छन् ।

खोप लगाएकाहरुमा संक्रमण कम देखिएको हो ?
तुलनात्मक रुपमा भ्याक्सिन नलगाएकामध्ये भ्याक्सिन लगाएका संक्रमितमा लक्षण कम देखिएको छ । उनीहरुमा मृत्युको संभावना पनि न्यून छ । भ्याक्सिन लगाएकामा जटिल अवस्था आएको देखिएको छैन । भ्याक्सिनले सतप्रतिशत प्रभावकारिता त हुने होइन । भ्याक्सिन लगाउनु भनेको संक्रमित नहुनु भन्ने होइन। यसले जटिल अवस्था आउनबाट मात्र जोगाउने हो ।
कोरोनाको तेस्रो लहर आउने जोखिम छ ?

मलाई तेस्रो, चौथो, पाँचौं लहरसँग कुनै इन्ट्रेस्ट (रुची) छैन । मलाई भ्याक्सिनसँग इन्टरेस्ट छ । लहर आउनसक्छ । भाइरसको म्युटेसन हुन्छ त्यसले नयाँ भेरियन्ट बन्छ । हरेक भेरियन्ट खराब हुँदैनन् । तर, डेल्टाजस्तो घातक भाइरस पनि आउँदो रहेछ भन्ने कुरा हामीले सिक्नुपर्छ । आउनैपर्छ भन्ने छैन आउनसक्छ ।

About The Author

अन्य समाचारहरु: