Wed. Oct 27th, 2021

गलैंचा बुन्ने महिलाको सुनिनसक्नु व्यथा

सुशिला विश्वकर्मा
धादिङ
– भुईभरी रङ्गीबिरङ्गी धागोका गोलीहरु लडिरहेका छन् । कोही तान लगाउँदै छन् कोही बुन्दै छन् । रिगाउँकी कान्छीमाया तामाङलाई भने धागोको गोली बनाउदैमा भ्याइनभ्याई छ । भन्छिन्,‘साथीहरु सबैले तान बुन्छन् म आँखा देख्दिन त्यसैले धागो गोली पार्नेगर्छु ।’

कान्छीमाया उमेरले ७० लागिन् । श्रीमान् वितेर एक्लै बस्न थालेको पनि ८ वर्ष पुरा भयो । अहिले एक्लै छिन् । विहान बेलाकाको छाक टार्नै उनलाई मस्किल छ । ‘उमेर छउन्जेल ज्यामी काम गरेरै ज्यान पालेँ’ ज्यामी काम गर्न नसकेपछि खानकै लागि धागो बटार्ने काम गर्न थालेको कान्छीमायाँले दःख सुनाइन् ।

झट्ट हेर्दा पनि कान्छीमाया साँच्चै डाँडापारी डुब्न लागेको घाम जस्तै भैसकेकी छिन् । तैपनि विहान बेलुकाको खाना जुटाउनकै लागि गलैचा कारखानामा धागोसँग पौठेजोरी खेलिरहेकै छिन् । ‘गलैचा बुन्न आँखाले ठम्याम्याउँदैन, बलको काम गर्न सक्दिन’, कान्छीमाया भन्छिन्,‘सक्नेहरुको बचन सहेर पनि बाध्यताले यहीँ काम गरिरहेकी छु ।’

खनियाबास–१, झार्लाङकी माया तामाङको पनि पीडा सुनिसक्नु छैन । मलिनो अनुहारमा गलैचाको धुलो छेक्न बाँधिएको पछ्यौराले उनको पीडा लुकाएजस्तै लाग्छ । माया भन्छिन्,‘गाडी दुर्घटनामा परेर श्रीमान् विरामी छन् । उपचारमै लाखौं खर्च भैसक्यो । श्रीमानकै उपचार गर्न सक्छुकी भन्ने आशाले यहाँसम्म काम गर्न आइपुगेँ ।’

उनी भुकम्पबाट पनि बिस्थापित हुन् । झार्लाङ उनको पुरानो गाउँ हो । अरुको बंगुर फार्ममा काम गर्दै आएकी माया अहिले भने धादिङबेसीस्थित गलैचा कारखानामा काम गर्न आइपुगेकी छिन् ।
दुर्घटनामा परी घाइते श्रीमानको उपचार र घर खर्च सबै मायाले नै हेर्नुपर्छ । बालबच्चा पढाई खर्च जुटाउनै पर्छ । ‘ज्यामी काम गर्दा दैनिक ७ सय त कमाउदै आएको थिए, तर त्यो काम पनि कहिले पाइन्छ कहिले पाइदैन, गलैचा बुन्ने काम सधैँ भइरहने भएकोले अलि धेरै पैसा कमाई होला की भनेर यता आएँ’ मायाले आफ्नो कामको बारेमा सुनाइन् । गलैँचा बुन्न थालेपछि श्रीमानको उपचार गर्न सक्छु भन्ने उनमा आशा पलाएको छ ।

अर्कोतिर गलैंचाको तान दुई हातले तान्दै गरेकी अनिता तामाङको पनि व्यथा उस्तै छ । सानी छोरी काखमा च्यापेर गलैचाको तानमा धागो मिलाउन उनलाई कम्ती कष्ट हुँदैन । तैपनि छोरी खेलेको बेला र निदाएको बेला भने आरामले काम गर्न पाएको अनुभव उनी सुनाउँछिन् ।

धेरैजसो त कोर्केमा हालेर पिठ्युँमै छोरी सुताउँछिन् । कोर्केमै छोरी बोकेर आधा घण्टाको बाटो धादिङबेसीमा गलैंचा बुन्न आइपुग्नु उनको दैनिकी हो । २०७२ सालको भुकम्पले आफ्नो घर, जग्गाजमिन तहसनहस बनाएपछि थातथलो छोडेर सदरमुकाम झरेको सात वर्ष पुरा भयो । भुकम्पबाट विस्थापित भएर आएपछि उनले आफ्नो परिवारको गुजाराको लागि ज्यामी काम गर्दै आएकी थिइन् । तर अहिले गलैँचा बुन्ने तालिम पाएपछि उनलाई खुसी लागेको छ । घामपानी नभनी ज्यामी काम गरेर हिंड्नु भन्दा आफ्नो सीप प्रयोग गरेर काम गर्दा आम्दानी पनि हुने उनी बताउछिन् ।

गंगाजमुना–१, की पुर्णिमा तामाङ पनि साङ्कोषको गलैचा उद्योगमा काम गर्छिन् । एउटा गलैचा बुनेर ३ देखि ५ हजार कमाउछिन् । त्यही कमाईले अहिले छोराछोरीको लालनपालन गर्दै आएको उनी बताउँछिन् ।

५ वर्षदेखि ज्यामी काम गर्दै आएकी पुर्णिमाले अहिले गलैँचा बुन्न थालेकी हुन् । उनी पनि भुकम्पबाट विस्थापित हुन् । सुरुका दिनमा सदरमुकाम आउदा उनको लागि सदरमुकाम बिल्कुलै नौलो थियो । नत उनको कोहि आफन्त नै थिए, चिनेजानेका कोही थिएनन् ।

उनको २ छोरी र १ छोरा छन् । आफुले पढ्न नपाए पनि छोराछोरी पढाउन पुर्णिमाले नत घामपानी नै भनिन् न भोक तिर्खा । गलैँचाको तान तान्दै पुर्णिमा भन्छिन् ‘ज्यामी काम गर्दा बिरामी भए भनेर बस्न समेत नपाइने पैसा पनि थोरै दिने, अहिले त आनन्द छ’उनीले बताइन् । तीन महिनासम्म गलैंचा बुन्ने तालिम सिकिन् । अहिले महिनामा २ ओटा गलैंचा बुन्छिन् । एउटा गलैंचाको ३ हजारदेखि ५ हजारसम्म कमाई भएको उनको अनुभव छ ।

साहारा तामाङले काम खोज्दै धेरै पटक नगरपालिका धाइन् । कयौं पटक सरकारी कार्यालयमा काम खोज्न पुगिन् । तर उनको हारगुहार कसैले सुनेन । ‘कति पढेकी छौं ? प्रमाणपत्र छ ?’ भन्दै कर्मचारी र जनप्रतिनिधिले उनीमाथी गरेको व्यवहार प्रष्टसँग सुनाउँछिन् ।

आफ्नो गुजारा चलाउन सरसफाइको काम खोज्दै उनी ती कार्यालयहरु पुगेकी थिइन् । अहिले गलैंचा बुन्न सिकेपछि अब अरुको ढोका ढकढक्याउनु परेको छैन । ‘गलैचा बुनेर नै परिवारको घर खर्च चलाउन सक्छु भन्ने विश्वास छ’ उनले भनिन् ।

Loading...

अन्य समाचारहरु: