काठमाडौ –
नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको बन्द प्रशिक्षण दसैंपछि सुरु हुने भएको छ। नेपाल क्रिकेट संघ क्यान०को बिहीबार बसेको बोर्ड बैठकले आगामी नोभेम्बरमा संयुक्त अरब इमिरेट्स यूएई मा हुने आईसीसी महिला टीट्वेन्टी विश्वकपअन्तर्गत एसियाली छनोटका लागि महिला टोलीको बन्द प्रशिक्षण कार्तिक ३ गतेबाट सुरु गर्ने निर्णय गरेको हो।
काठमाडौंमा सञ्चालन हुने बन्द प्रशिक्षणमा क्यानले छनोटका लागि प्रारम्भिक चरणमा २४ खेलाडीलाई बोलाएको छ। प्रारम्भिक टोलीमा रुबिना क्षत्री, काजोल श्रेष्ठ, इन्दु बर्मा, अप्सरी बेगम, रोमा थापा, सबनम राई, संगीता राई र सरस्वती चौधरी छन्।
यसैगरी अनुराधा चौधरी, सुमन खतिवडा, सरस्वती जीएम, कन्चन श्रेष्ठ, रेवती धामी, लक्ष्मी साउद, कविता जोशी, कविता कुँवर, डली भट्ट, बिन्दु रावल, ममता चौधरी, सीता रानामगर, ज्योति पाण्डे, बिनु बुढामगर, करुणा भण्डारी र सरिता मगर छन्।
एसियाली छनोटका खेल आगामी मंसिर ७ देखि १२ गतेसम्म मलेसियामा सञ्चालन हुनेछ। छनोट प्रतियोगितामा शीर्ष स्थानमा रहने टोलीले ग्लोबल छनोटमा स्थान बनाउने छ। नेपालले खेल्ने एसियाली छनोटमा भुटान, चीन, हङकङ, कुवेत, मलेसिया, म्यानमार र यूएईले प्रतिस्पर्धा गर्नेछन्।
यसैगरी बैठकले कार्यवाहक सचिवको जिम्मेवारी केन्द्रीय सदस्य प्रशान्तविक्रम मल्ललाई दिएको छ। सचिव अशोकनाथ प्याकुरेल र उपाध्यक्ष राजुबाबु श्रेष्ठले गत साता पदबाट राजीनामा दिएकाले सचिव पद रिक्त थियो।
क्यानको विधान अनुसार कुनै पनि पद रिक्त भएमा तत्काल बोर्ड बैठकले जिम्मेवारी दिने पछि वार्षिक साधारणसभाबाट पारित गर्नुपर्ने व्यवस्था छ। बैठकले क्यानको वार्षिक साधरणसभा आगामी मंसिर २९ गते गर्ने निर्णय गरेको छ।