धादिङ : पृथ्वी राजमार्ग अर्तगत थाक्रे गाउँपालिकामा रहेका होटलहरु अनुगमन गरिएको छ । बालश्रम नभएका होटलहरुमा, ‘बालबालिकालाई श्रममा होईन विद्यालय पठाऔँ यहाँ बालश्रम छैन’ भन्ने स्टीकर टाँसिएको छ । राजमार्गका होटल अनुगमनमा बस स्टाफ र यात्रुहरुले खाना खाने, ट्रक स्टाफले खाना खाने धेरै संख्यामा गेष्ट आउने जाने किसिमका ठुला होटलहरु २३ वटाको अनुगमन गरिएको छ ।
सिड्स नेपाल धादिङ र युनाईटेड मिसन टु नेपालको साझेदारीमा गरिएको अनुगमन कार्यक्रममा १५ वटा होटलमा कामदारका रुपमा बालश्रम नभएका होटलहरुमा स्टीकर टाँसिएको छ । होटल अनुगमनका क्रममा जहाँ बालश्रम देखिएको छ त्यहाँ अर्को पटक गाउँपालिका, जिल्ला प्रशासन कार्यलय संग समन्वय गरी पुन :अनुगमन गर्ने र अनुगमनको क्रममा बालश्रम नभए स्टीकर टाँस्ने सिड्स नेपाल धादिङ र युनाईटेड मिसन टु नेपालको साझेदारीमा सञ्चालित जोखिममा रहेका बालबालिकाको सुरक्षा परियोजना संयोजक दिलवहादुर रम्तेलले जानकारी दिए ।
थाक्रे गाउँपालिकामा बालश्रम निर्मुल पार्न होटल ब्यवसायमा संगै, ईटा उद्योग, आग्राखोला लगायत खोलाहरु, विभिन्न उद्योगहरुमा पनि बालश्रम रहेकोले यसलाई अभियानको रुपमा सञ्चालन गरिने बताइएको छ ।
चन्द्र ज्योती एकिकृत ग्रामिण विकास समाज (सिड्स) नेपाल धादिङ द्धारा सञ्चालित जोखिममा रहेका बालबालिकालाई सुरक्षा परियोजना थाक्रे गाउँपालिका अन्र्तगत वडा नं. २,४,५,६ र ११ मा सञ्चालन भएको छ । उक्त परियोजनाले बालअधिकार, बाल संरक्षणका लागि काम गर्ने गर्दछ ।
समुदाय र विद्यालयमा बालबालिकाको संरक्षण वा अधिकार स्थापित गर्नको लागि समुदायमा समुहहरु गठन गर्ने, समुदायमा बालक्लबहरु गठन गर्ने, विद्यालयहरुमा बालक्लब गठन गर्ने साथै वडा स्तर र गाउँपालिका स्तरको बालक्लबहरुको बालक्लब संजाल विस्तार गर्ने र बालविवाह, बालश्रम, बालबालिका बेचबिखन, बालदुब्र्यवहार लगायतका बालबालिका माथि हुने हिंसा लाई न्युनिकरण साथै बालबालिकाको शिक्षालाई निरन्तरता गर्नका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन भईरहेको छ ।