
एएफसी यू-२३ एसियन कप छनोटमा नेपालले आज सोमबार बलियो टिम इरानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा नेपालले इरानको सामना गर्नेछ। नेपाल र इरानबीचको खेल नेपाली समय अनुसार दिउँसो ४:४५ बजे सुरु हुनेछ।
इरानविरुद्ध मैदान उत्रदा नेपाल सुखद सुरुआत गर्ने योजनामा हुनेछ। नेपाली टिमका मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले छनोटमा राम्रो नतिजा निकाल्न तयार रहेको बताएका छन्।
तर, इरानविरुद्ध जित निकाल्न नेपाललाई सहज भने हुने छैन। किनकि इरानविरुद्धको यु-२३ खेलमा नेपालले जित निकाल्न सकेको छैन।
नेपालले यु-२३ एसियन कप छनोटमा इरानसँग दोस्रो पटक खेल्न लागेको हो। यसअघि नेपालले सन् २०१५ मा इरानसँग उसैको घरेलु मैदानमा खेलेको थियो। त्यस खेलमा इरानले नेपाललाई ५-० ले पराजित गरेको थियो।