Sat. Jan 22nd, 2022

रुविभ्यालीको सम्पर्क कार्यालयमा अध्यक्षले नै किन लगाइदिए ताला ?

धादिङ– रुविभ्याली गाउँपालिकाको सदरमुकामस्थित सम्पर्क कार्यालयमा पालिका अध्यक्षले नै ताला लगाएका छन् । सम्पर्क कार्यालय सधैंका लागि बन्द गरिएको सूचना टाँस गरेर ताल्चा लगाएका हुन् ।

‘कार्यालय खोल्नुपर्ने समयमा पनि कार्यालय बन्द गरेको अवस्थामा भेटिएकोले कात्तिक २२ गतेदेखि कार्यालय सधैको लागि बन्द गरिएको छ’ गाउँपालिका अध्यक्ष चेरुङ तामाङले हस्ताक्षर गरेको सूचनामा भनिएको छ ।

तिहारपछि २२ गते सोमबारदेखि नै कार्यालय खोल्नुपर्ने भएपनि कार्यालय खोल्न कोही कर्मचारी नआएपछि अध्यक्षले नै सूचना टाँस गरेर कार्यालय बन्द गराएको हो । ताला तोडफोड गरि कार्यालय संचालन गरेको पाइएमा विभागिय कार्वाहि गरिने सुचनामा उल्लेख छ ।

प्रमुख प्रशासकिय अधिकृतलगाएत विषयगत शाखा प्रमुखहरुलाई गाउँपालिकाको कार्यालय सेर्तुङमा २४ घण्टाभित्र लिखित जवाफसहित हाजिर हुन अध्यक्ष तामाङले सूचनामार्फत नै जानकारी गराएका छन् ।

गाउँपालिकाले स्थानीयतह लागु भएदेखि नै भौगोलिक विकटताको कारण सेवाग्राहीलाई सेवा प्रवाहमा सहज गराउन जिल्ला सदरमुकाममा नै सम्पर्क कार्यालय संचालन गरी सेवा प्रवाह गर्दै आएको थियो । कार्यालयमा कर्मचारी नरहेको र सेवाग्राहीलाई सेवा प्रवाहमा ढिला सुस्ती भएको जनगुनासो बढ्न थाले पश्चात विगत ६ महिनादेखि नियमित छड्के चेक गर्दा पटक पटक कार्यालय बन्द रहेको भेटिएको गाउँपालिका अध्यक्ष तामाङले बताएका छन् ।

दशैं तिहार जस्ता चाडपर्वहरुमा विदा बस्दा पनि सरकारले तोकेको भन्दा अगाडि नै विदा बस्ने र सरकारले नै तोकेको समयमा कार्यालय नखुलाएकोले पनि बाध्य भएर सूचना टाँस गर्नुपरेको अध्यक्ष तामाङको भनाई छ ।

उता कार्यकारी अधिकृत टंक बहादुर नेगीले भने कर्मचारी अभावका कारण काम पर्दा मात्रै सम्पर्क कार्यालय खोलेर काम गर्ने गरेको प्रतिकृया दिएका छन् । ‘कार्यालय खोलिदिने कार्यालय सहयोगी समेत छैन, हाम्रो बीचमा कुनै विवाद छैन । उहाँको सूचनामा मेरो जस्टिफिकेशन केही छैन’ पन्थीले भने ।

गाउँमा रहेको कार्यालय त बन्द छ नै सदरमुकाममा रहेको सम्पर्क कार्यालय समेत बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन् । तिहार लगत्तै २२ गते सोमबार र २३ गते मंगलबार सेवा लिन आएका सेवाग्राही कार्यालयमा कोही नभेटिएपछि फर्किएका थिए ।

साउन २३ गते गाउँसभा सकेर सेर्तुङस्थित कार्यालयबाट सम्पर्क कार्यालय सदरमुकाम झरेका कर्मचारी आजसम्म कोही पनि गाउँ नफर्किएको स्थानीय सेवाग्राहीले गुनासो गरेका छन् । कर्मचारीहरु अधिकांश समय सदरमुकाममा नै बस्ने र सामाजिक सुरक्षा भत्ता बाँड्न मात्रै गाउँ पुग्ने गरेको सेवाग्राहीहरु बताउँछन् ।

Loading...

अन्य समाचारहरु: