धादिङ : जिल्ला प्रहरी कार्यालय धादिङले महिलाको हत्या गरी सुन लुट्नेलाई पक्राउ गरेको छ । गत बुधबार (कात्तिक २४ गते) बिहान जिल्लाको धुनीबेसी नगरपालिका वडा नं १ डाडागाउँ बस्ने अन्दाजी ५९ वर्षीय तीर्थमाया तामाङको हत्यामा संलग्न र हत्या गरी सुन लुट्नेहरुलाई पक्राउ गरिएको हो ।
आफ्नै घरमा मृत अवस्थामा रहेको भन्ने प्राप्त सुचना पश्चात प्रहरी चौकि जिवनपुर र ईलाका प्रहरी कार्यालय खानिखोलाबाट प्रहरी निरिक्षक समेतको टोली घटनास्थलमा पुगेका थिए । घटनामा संलग्न संकास्पद व्यक्तिहरुको खोजतलास गर्ने क्रममा सोही ठाउँका २१ वर्षीय बीरबहादुर तामाङलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा ढुंड्गाले टाउकोमा प्रहार गरी हत्या गरी सुन समेत लुटेर फरार भएका थिए ।
तामाङसँगै सुन लुकाउने तथा बिक्री बितरण गर्ने बिर बहादुर तामाङको भाई १९ वर्षीय सुवास तामाङ, भक्तपुर चाँगुनारायण न.पा. वडा नं. ७ घर हुने १८ वर्षीय शितल मित्रकोटीलाई पक्राउ गरिएको छ । त्यस्तै सुन खरिद गर्ने सिन्धुपाल्चोक चौतारा साँगाचोक गढी न.पा. वडा नं. १ घर भई काठमाण्डौ कागेश्वरी मनोहरा न.पा वडा नं ८ गोठाटार स्थित जे एच ज्वेलर्स पसलको संचालक २८ वर्षीय राम शरण राज सुनारलाई पक्राउ गरिएको छ ।
प्रहरीले प्रतिवादी रामशरण राज सुनारको पसलबाट वरामद भएको सुन जस्तो देखिने पहेलो धातुको बेरुवा रिङ ४७.२ लाल, शितल मित्रकोटीको कोठाबाट सुन जस्तो देखिने पहेलो धातुको बेरुवा रिङ ४७.६६ लाल, नगद बाईस हजार छ सय बरामद गरेको छ । पक्राउ परेकाहरुलाई मुलुकी अपराध (संहिता) ऐन, २०७४ को ज्यान सम्बन्धि कसुर तथा सोही संहिताको चोरी तथा डाँका सम्बन्धि कसुरमा सम्मानित धादिङ जिल्ला अदालतबाट म्याद थप भई आवस्यक अनुसन्धान भईरहेको धादिङका प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिए ।