धादिङ – मानविय विकास तथा स्रोत व्यवस्थापन नेपाल हर्डम्यान धादिङको आयोजना र ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपालको सहयोगमा मंगलबार जिल्ला प्रशासन कार्यलयको प्राङगणमा एलाक डिपी कार्यक्रम संचालन गरिएको छ ।
सरकारी कार्यलयमा हुने ढिला सुस्ती अनियमिततता तथा भ्रष्ट्रचारका साथै राहत वितरणका क्रममा भएका अनियमितताका विषयमा गुनासो सुन्न कार्यक्रमको आयोजना गरिएको हो । जिल्ला प्रशासन कार्यलय धादिङको प्राङगणमा भएको गुनासो सुन्ने कार्यक्रममा ७७ जनाले सेवा लिएका थिए । सेवाग्राहीहरुले पहुँचवालाहरुले मात्र राहत पाएका र पहुँच नभएका नागरिकले भने राहतका नाममा त्रिपाल पनि नपाएको गुनासो गरेका थिए । नागरिकहरुले जिल्ला प्रशासन कार्यलय धादिङबाट वितरण गरेको नागरिकतामा रहेको नेपाली अक्षर नबुझ्ने भएको भन्दै गुनासो राखेका थिए ।
संङ्कलन भएका गुनासोका विषयमा सहायक प्रमुख जिल्ला अधिकारी तोरण पराजुलीलाई ध्यानकर्षण गराइएको थियो । ध्यानकर्षण गराउने क्रममा तोरण पराजुलीले नागरिकहरुको गुनासो प्रति आफु सकारात्मक भएको र राहत वितरणमा अब अनियमितता हुन नदिने प्रतिवद्धता जनाउनु भएको थियो ।