Wed. Dec 4th, 2024

कांग्रेसको प्रदेश महाधिवेशन आजदेखि सुरु, सातै प्रदेशमा भर्चुअल उद्घाटन

धादिङ– संघीय संरचनामा गएपछि नेपाली कांग्रेसले पहिलोपटक प्रदेश अधिवेशन गर्न लागेको छ।

कांग्रेसले १४ औं महाधिवेशनअन्तर्गत सातै प्रदेशमा आजदेखि प्रदेश अधिवेशन गर्न लागेको छ । सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आज सातै प्रदेशमा एकैपटक भर्चुअल रूपमा प्रदेश अधिवेशन उद्घाटन गर्दैछन्।

प्रदेश नम्बर १ को विराटनगरमा, प्रदेश नम्बर २ को जनकपुरधाममा, बागमती प्रदेशको हेटौंडामा, गण्डकी प्रदेशको पोखरामा, लुम्बिनी प्रदेशको बुटवलमा, कर्णाली प्रदेशको सुर्खेतमा र सुदूरपश्चिम प्रदेशको धनगढीमा प्रदेश अधिवेशन हुनेछन्।

प्रदेश अधिवेशन गर्नका लागि कांग्रेस केन्द्रीय समितिबाट सात जना नेतालाई अध्यक्षतासहित संयोजन गर्ने गरी जिम्मेवारी दिइएको छ। बागमतीमा पूर्वमहामन्त्री प्रकाशमान सिंहको नेतृत्वमा आयोजक समिति बनेको छ।

प्रदेश अधिवेशनमा कांग्रेसका सभापति शेरबहादुर देउवानिकट, वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलानिकटबीच प्रतिस्पर्धा हुने देखिएको छ।

प्रदेश अधिवेशनमा प्रदेश सभा क्षेत्रीय अधिवेशनका प्रतिनिधि, महाधिवेशन प्रतिनिधि, सम्बन्धित प्रदेशका केन्द्रीय सदस्य र सांसद मतदाता हुन्छन्।

कांग्रेसले प्रदेशमा सभापति, दुई उपसभापति, दुई महामन्त्री र एक महिलासहित तीन सहमहामन्त्री रहने गरी व्यवस्था गरेको छ। प्रदेश कार्यसमिति सदस्यहरू पनि प्रदेशमा रहनेछन्। कोषाध्यक्ष भने मनोनित गर्ने व्यवस्था छ।

आज प्रदेश अधिवेशन उद्घाटन गर्ने, मंसिर १७ मा मनोनयन गर्ने र १८ मा चुनाव गर्ने कार्यतालिका बनेको छ। 

बागमतीमा सभापति देउवा पक्षबाट ईन्द्र बानियाँ, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट जगदीश्वरनरसिंह केसी र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षबाट भीमसेनदास प्रधान प्रदेश सभापति पदका उम्मेदवार बन्ने चर्चा चलेको छ । बागमती प्रदेशमा धादिङका रमेश धमलाले पनि उम्मेदवारी दिने तयारी गरेको बुझिन्छ ।

About The Author

अन्य समाचारहरु: