Tue. Dec 3rd, 2024

रोचक परम्परा बोकेको धादिङको त्रिपुरासुन्दरी माईको जात्रा आजबाट सुरु

शंकर श्रेष्ठ
धादिङ – धादिङको उत्तरी क्षेत्रमा पर्ने त्रिपुरा सुन्दरी माइको जात्रा आज साँझबाट सुरु भएको छ । हरेक वर्षको मंसिर महिनामा उत्तम तिथि हेरेर यो जात्रा मनाउने  गरिन्छ।

एकवर्ष भित्र विभिन्न मन्दिरमा लगेर राख्ने र त्यही पुजाआजा गर्ने अनौठो र रोचक परम्परा बोकेको त्रिपुरासुन्दरी भगवतीको मुर्ति धादिङको उत्तरी क्षेत्र सल्यानकोटबाट २० गते सोमबार बिहान आगिन्चोकमा सारिन्छ । माईलाई सयौं मानिस बाटोको दायाबाया बसेर अविर जात्रा गर्ने प्रचलन छ । पहाडी क्षेत्रको ठूलो मेला अर्थात माइस्थान जात्राको नामले परिचित यस मेलालाई न्वागी जात्राको नामले पनि चिनिन्छ।

फाइल तस्बिर

त्रिपुरा सुन्दरी भगवतीको मूर्तिलाई रानामगर, तिमिल्सिना र सापकोटा थरका पुजारीहरूले पिठ्युमा बोकेर झार्नेछन् । त्रिपुरा सुन्दरीको मूर्तिलाई रानामगर थरका स्थानीय पुजारी, सापकोटा र तिमल्सिनाबाहेक अरु कसैले हेर्न र छुन नपाउने प्रचलन छ । यी तीन थरीबाहेक मन्दिर पुग्ने जोसुकैले पनि मन्दिरको मुल ढोकाबाटै भगवतीलाई पुजाआजा गर्नुपर्ने नियम छ ।

माइत आएकी देवीको रुप अहिलेसम्म कसैले देखेका छैनन्। न त उनको कुनै फोटो नै छ। एक वर्षभित्र विभिन्न ३ वटा मन्दिरमा लगेर राख्ने र त्यही पुजाआजा गर्ने अनौठो परम्परा छ। यही परम्पराअनुसार सल्यानकोटमा रहेको २ वटा मन्दिरमध्ये घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म भगवतीलाई पूर्वपट्टिको मन्दिरमा राखेर पुजाअर्चना गरिन्छ । यो स्थान ‘मामाघर’को रुपमा प्रसिद्ध छ। मंसिरदेखि चैतसम्म भगवतीलाई आगिन्चोकस्थित बेसीको मन्दिरमा राखिन्छ। सल्यानकोटकै पश्चिम थुम्कामा रहेको अर्को मन्दिरमा राखेर वर्षमा ८ महिना भन्दा बढी समय भगवतीलाई त्यही पुजाआजा गरिने जानकार बताउँछन्।

जिल्ला सदरमुकाम धादिङबेसीबाट ४० किलोमिटर उत्तरतर्फ पर्ने यो मन्दिरमा जात्रा हेर्न नुवाकोट, चितवन, काठमाडौंलगायतका मानिसहरू पनि आउँछन्। त्रिपुरा सुन्दरीको सल्यानकोट र आगिन्चोकमा गरी दुई मन्दिर छन्। देवीलाई माइत झारेसँगै यो वर्षको जात्रा सकिनेछ।

About The Author

अन्य समाचारहरु: