सरिता श्रेष्ठ, धादिङ – धादिङ सलाङ ८ का भगवानी भट्ट नागरिकता बनाउन जिल्ला प्रशासन कार्यलय धादिङमा आइन् । नागरिकता बनाउन आवश्यक सबै कागजपत्र पेश गरिन् । लामो प्रक्रिया पूरा गरेर नागरिकता बने तर त्यसमा भरिएका विवरणहरु केही नदेखिने खालको आयो । नागरिकताको अगाडिको भागको केही अक्षरहरु देख्न सक्ने भएतापनि पछाडिपट्टीको भागमा लेखिएको अक्षर कुनै पनि बुझिने खालको थिएन । उनीसँगै नागरिकता बनाएका उनको भाईको पनि नागरिकतामा भरिएको विवरण उस्तै नदेखिने खालको प्रिन्ट आयो । उनीहरुको मात्र त्यस्तो आएको हो कि अरुको पनि त्यस्तै प्रिन्ट आएको हो भनेर प्रशासनमा नागरिकता बनाउन आउने अरुको नागरिकता हेर्दा उनीहरुको पनि उस्तै थियो । नागरिकता त बन्यो तर लेखिएको कुरा बुझिदैन फिर्ता गर्ने कि घर लैजाने, प्रशासन कार्यलय धादिङमा नागरिकता बनाउन आएका धेरैको यस्तो गुनासो थियो ।
यस्तै मारमा जिल्ला प्रशासन कार्यलय धादिङबाट नागरिकता बनाउने धेरै जना नागरिकहरु रहेका छन् । प्रशासनले नागरिकता त बनाइदियो तर नागरिकतामा भरिएको विवरण स्पष्ट रुपमा देखिन मुस्किल पर्छ । कहि कतै फोटोकपि गरेर नागरिकताको प्रमाण पेश गर्नुपरेमा खाली परेर आउँछ यो प्रशासनको चरम लापारबाही हो भगवानी भनिछन् । नबुझिने नागरिकता म लैजादिन मलाई स्पष्ट बुझिने विवरण दिनुहोस् भन्दा धादिङका सहायक प्रमुख जिल्ला अधिकारी तोरण पराजुलीले लाने भएन लैजानुस् नत्र हामीलाई होइन मन्त्रालयमा नै गएर सच्चाउनस् भन्ने जवाफ दिएका थिए ।
अहिले जिल्ला प्रशासन कार्यलय धादिङले अक्षर नै नबुझने नागरिकता वितरण भरेर नागरिकता बनाइरहेको छ । नागरिकता बनाउन आउने सेवाग्राहीहरुको नागरिकता विवरण भरेर नाम नै नबुझने गरी प्रिन्ट हानेका छन् । आफु नेपाली नागरिक हो भनेर चिनाउने नागरिकतामा नै जिल्ला प्रशासन कार्यलय धादिङले चरम लापरबाही गरेको छ सेवाग्राहीहरुको भनाई छ ।
सामान्य बोल्न जान्नेहरु नागरिकता बनाए, आफ्नो कार्यस्थलमा फर्किए तर जो अलि टाठाबाठा छन् उनीहरुले प्रशासनलाई ध्यानाकर्षण गराएपनि यस विषयमा प्रशासनले केही जानकारी दिएका छैनन् । नागरिकताका विषयमा धादिङका सहायक प्रमुख जिल्ला अधिकारी तोरण पराजुलीले मन्त्रालय अन्र्तगतकै सप्टवर्यरमा त्यस्तो समस्या देखिएकोले जिल्लामा पनि यस्तो समस्या आएको बताए । तर नागरिकता फाँटका कर्मचारीहरुले भने प्रिन्ट गर्ने प्रिन्टरमा नै समस्या देखिएकाले नबुझिने आएको बताएका छन् । अत्यावश्यक काम चलाउने र समस्या समाधान भएपछि प्रतिलिपी लिन जिल्ला प्रशासन कार्यलय धादिङले सेवाग्राहीहरुलाई अनुरोध समेत गरेको छ । नागरिकताको प्रिन्टमा समस्या देखिएकाले राहदानी फाराम भर्न समेत गाह्रो भएको सेवाग्राहीहरु बताउँछन् ।
चाहे जुनसुकै देशको नागरिक किन नहोस् उसलाई चिनाउने माध्यम नै नागरिकता हो । नागरिकता मानिसको मृत्यु पर्यान्तसम्म आवश्यक प्रमाण हो । नागरिकता एउटा व्यक्तिको चिनारी हो । त्यसैले प्रशासनले यस्ता कुराहरुमा ध्यान दिनु जरुरी छ ।