धादिङ : बेनिघाट रोराङ गाउँपालिका वडा नं ५ स्थित बेनिघाट रोराङ गाउँपालिकाको सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको छ ।
स्वास्थ चौकीले गत आर्थिक वर्ष २०७७–०७८ भरि प्रदान गरेका सेवा प्रवाह, आर्थिक हिसाव किताव, औषधी वितरणको अवस्था तथा स्वास्थ्य चौकी प्रति उठेका गुनासो तथा सुझावहरु उक्त सामाजिक परीक्षण कार्यक्रममा प्रस्तुत गरिएको थियो ।
बेनिघाट रोराङ गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजना तथा धादिङ मिडिया नेटवर्कको सहजिकरणमा स्वास्थ्य चौकीको सामाजिक परीक्षण गरिएको हो ।
सामाजिक परीक्षणको प्रतिवेदन प्रस्तुतीकरण कार्यक्रममा स्थानीयले बेनिघाट स्वास्थ्य चौकीलाइ तत्काल स्तर उन्नती गरि गाउँपालिका स्तरीय १० शैयाको अस्पताल बनाउनुपर्ने, ल्याव एक्स रे सेवा थप गर्नुपर्ने लगायतका मागहरु राखेका थिए ।
प्रतिवेदन माथी उठेका जिज्ञासाहरु माथी सम्वोधन गर्दै गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण भट्टराइ, स्वास्थ्य शाखा प्रमुख शंकर वाबु दुवाडी र स्वास्थ्य चौकी ब्यवस्थापन समितिका अध्यक्ष रोशनकुमार सिलवालले स्वास्थ्य चौकीलाइ स्तर उन्नती गरि अस्पताल बनाउनको लागि पहल भइरहेको बताएका छन् ।
अस्पताल निर्माण गर्नको लागि ९ रोपनी जग्गा आवश्यक पर्ने भएकाले पहिले जग्गा खोजी कार्यमा सहजीकरण गर्नको लागि भट्टराइले स्थानीयहरुलाइ अनुरोध गरेका छन् । जग्गा प्राप्ती हुने वित्तिकै अस्पताल निर्माणका काम अघि बढ्ने उनले बताए । त्यस्तै स्वास्थ्य शाखा प्रमुख दुवाडीले अन्य सेवाहरु पनि विस्तार थप गरिदै बेनिघाट रोराङ गाउँपालिका भरिकै नमुना स्वास्थ्य चौकीको रुपमा सेवा विस्तार भइरहेको बताएका छन् ।
त्यसैगरि गतशुक्रवार बेनिघाट रोराङ गाउँपालिकाकै महादेवस्थान स्वास्थ्य चौकीको पनि सामाजिक परीक्षण सम्पन्न गरिएको थियो । सामाजिक परीक्षणको उक्त आमभेलामा पनि गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण भटराइले सहभागीहरुको स्वास्थ्य चौकीको स्तर उन्नती र सुधारको लागि राखेका जिज्ञासाहरु माथी जवाफ दिएका थिए ।