Tue. Jan 14th, 2025

भूकम्प पीडितले १५ रुपैयाँ पनि पाएनन्

ganesh house 1

काठमाडौँ – सभासद्हरुले भूकम्पीडितले राहतका नाममा १५ रुपैयाँ पनि नपाएको गुनासो गरेका छन् । बिहीबार बसेको व्यवस्थापिका–संसद्को बैठकमा सभासद्हरुले भूकम्पपीडितलार्इ सरकारले राहत नदिएको आरोप लगाएका हुन् ।

बैठक सुरु हुनासाथ समय मागेर कांग्रेसका सभासद् रामहरि खतिवडाले भूकम्पपीडित नागरिकले दुई महिना बितिसक्दा पनि राहत पाउन नसेकेको जनाउँदै सरकारको ध्यानाकर्षण गराए ।

सरकारले पीडित परिवारलाई १५ हजार रुपैयाँ दिने भनेपनि कतिपय प्रभावित क्षेत्रमा १५ रुपैयाँ पनि पुग्न पुग्न नसकेको जनाए । खतिवडाले विश्व खाद्य कार्यक्रमबाट गोरखालगायत क्षेत्रमा अखाद्य सामग्री बाँडेकोमा विरोध जनाउँदा खाद्य कार्यक्रम नै फिर्ता लैजाने धम्की आपत्तिजनक रहेको उल्लेख गरे ।

एमालेका सभासद् ऋषिकेश पोखरेलले लामो सयमदेखि बक्राहा खोला व्यवस्थापनका लागि आग्रह गर्दा सरकारले बेवास्ता गरेको आरोप लगाए । उनले बुधबार आएको बाढीले मोरङको मधुमल्लामा क्षति पुर्‍याएकाले तत्काल राहत र दीर्घकालीन समाधानको पहल थाल्न सरकारसँग माग गरे ।

एमाओवादीका अग्निप्रसाद सापकोटाले भूकम्प, वर्षा र हावाहुरीबाट जनता आतङ्कित भएको अवस्थामा हालै गएको पहिरामा परी गोरखामा १२ घर भत्केको, मोरङको मधुमल्लामा बाढीले क्षति पुर्‍याएको र सिन्धुपाल्चोकका सदरमुकामसहित विभिन्न ठाउँमा पहिराले क्षति पुर्‍याएको जानकारी दिए ।

उनले बाढीपहिरोको सूचना दिने साधन र स्काभेटरलगायत उपकरण उपलब्ध गराउन ठोस निर्देशन दिन सभामुखसँग माग गरे ।

राप्रपाका परशुराम तामाङले भूकम्पले जोखिम बढेको धादिङ पहाडी भेगका जनताको व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराए । रासस

About The Author