
काठमाडौं– इंग्लिस प्रिमियर लिगमा टोटेनहम हटस्पर र लिभरपुलले बराबरी खेलेका छन्। टोटेनहमको घरेलु मैदानमा आइतबार राति भएको खेलमा उनीहरुले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्।
घरेलु टोलीका लागि ह्यारी केन र ह्युङ मिन सनले गोल गरे भने लिभरपुलका डिएगो जोटा र एन्ड्रिउ रोबर्टसनले गोल गरे।
खेलको १३औं मिनेटमा ह्यारी केनको गोलबाट घरेलु टोली टोटेनहमले सुरुवाती अग्रता लिएको थियो । उनले टांगी एनडोम्वेलेको पासलाई सदुपयोग गरेका थिए। ३५औं मिनेटमा डिएगो जोटाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए।
खेलको ६९औं मिनेटमा एन्ड्रिउ रोबर्टसनले गोल गर्दै लिभरपुललाई खेलमा २–१ को अग्रता दिलाए। ७४औं मिनेटमा ह्युङ मिन सनले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए।