Sat. Oct 12th, 2024

हाजिर गर्नको लागि मात्रै स्कुल आएजस्तो भयो

???????????????????????????????

धादिङ – पक्की भवन भुईंचालोले भत्कायो । खेल्ने मैदानमा अस्थायी टहरा बनाइएको छ । टहराभित्र नाम मात्रैको कक्षाकोठामा जसोतसो पठनपाठन भैरहेको छ । तर भवनभित्रको जस्तो वातावरण छैन । एउटै छाप्रोमा दुईवटा कक्षाका विद्यार्थी राखिएका छन् । दुई वटा कक्षाको पढाई एउटै छाप्रोमुनी हुन्छ । खुला टहरामा पढाई हुँदा बाहिरको हल्लाले केही बुझिंदैन । दुईवटा कक्षाका विद्यार्थी एकै ठाउँमा बस्दा गर्मीले उकुसमुकुस भएको छ । तर पढाई भएको बेला कक्षा छोडेर जान मिल्दैन । भूकम्प अति प्रभावित धादिङ नलाङको मिन्दुका माविमा हिजोआज यस्तै वातावरणमा जसोतसो पढाइ भैरहेको छ । भूकम्पले कक्षाकोठा भत्काएपछि बिभिन्न संस्थाको सहयोगमा ४ वटा टहरा बनाएर कक्षा चलाइएको छ । यस्ता टहराभित्र बसेर पढ्दा विद्यार्थीले अनेक समस्या भोग्दैछन ।

‘टहरामा बस्दा गर्मीले निद्रा मात्रै लाग्छ, बाहिरको हल्लाले सरले पढाएको पनि सुनिंदैन र दिनभरको हल्लाले राती घरमा पनि पढ्न मन लाग्दैन’ कक्षा ८ मा पढ् बिपना भट्टले भनिन्, ‘घरबाट स्कुल आयो, यहाँ खानेपानी पनि छैन र शौचालय गर्न पनि पारी डाँडा जानुपर्छ ।’ जेठ १७ गतेदेखि विद्यालय खुलाउन शिक्षा मन्त्रालयले निर्देशन दियो । तर काठमाडौं लगायत धेरै गाउँठाउँका विद्यायलमा त्यतिबेला छाप्रो बनिसकेको थिएन । केही विद्यालयले खुला चौरमा विद्यालय चलाए भने केहीले पालको जोहो गरेर विद्यालय खुलाए । तर विद्यायल खुलेको १ महिना भन्दा धेरै भैसक्दा पनि पढाई औपचारिकतामा मात्रै सीमित छ । मिन्दुका मावि नलाङका सहायक प्रधानाध्यापक कृष्णप्रसाद सिलवालले भन्नुभयो, ‘विद्यालयमा विद्यार्थीले दुस्ख पाए भन्ने हामीलाई पनि राम्ररी हेक्का छ, तर हामीले पनि गर्न केही सक्दैनौं’ विद्यालयका समस्या पोख्दै उहाँले भन्नुभयो, ‘वास्तवमै भन्नुपर्दा हामी त विद्यालयमा हाजिर गर्न मात्रै आएको जस्तो भएको छ, सरकारले विद्यालय खुलाउन भन्यो हामीले खुलायौं, तर समस्या यत्रतत्र छन् ।’

विद्यार्थीलाई गाह्रो भो भनेर केही ठाउँमा त शिक्षक, अभिभावक र विद्यार्थी मिलेर अलि व्यवस्थित खालको कक्षा पनि बनाएका छन । बनाउन नभ्याएका ठाउँमा खतराको संकेत स्वरुप रातो स्टिकर लगाइएको कक्षामा पनि विद्यार्थी पढिरहेका छन् । ‘हामीले तीतो यथार्थ स्वीकार्नुपर्छ विद्यालयका भवन भत्किएका र टेन्टका कक्षाले पनि नपुगेर हामीले २ वटा कक्षा असुरक्षित भवनमा चलाएका छौं’ महालक्ष्मी उच्च मावि लक्ष्मीबजार गोरखाका प्रधानाध्यापक चुडामणि काप्रीले भन्नुभयो, ‘७ सय विद्यार्थीलाई विद्यालयमा व्यावस्थापन गर्न निकै गार्हो भएको छ ।’

महालक्ष्मी उच्च माविमा जस्तापाता सहितको व्यवस्थित विद्यालय बनाउन स्थानिय अभिभावक, शिक्षक र व्यावस्थापन समितीबाट १ हजार रुपैंयाका दरले पैसा उठाएर केही जस्ता सहितका केही अस्थायी भवन बनाएपनि अझै भवनको अभाव छ । भूकम्पको कारण बन्द भएका विद्यालय खुलेको एक महिना भन्दा बढी भैसक्दा पनि भरपर्दो छाना, शौचालय, खानेपानी लगायतका समस्याले पठनपाठन प्रभावकारी हुन सकेको छैन । सरकारले सबै विद्यालयमा आवश्यक पूर्वाधार बनाएर विद्यालय खुलाएको दावी गरेपनि भूकम्प प्रभावित जिल्लाका विद्यालयमा पढ्ने वातावरण बन्नै बाँकी छ । भूकम्पले धादिङमा झण्डै ३१ सय र गोरखामा झण्डै १२ सय कक्षाकोठा भत्किएका छन । देशभर ३० हजार कक्षाकोठा भत्किएको सरकारी तथ्यांक छ । तत्कालै पक्की भवन बनाउन नसकिएपनि भत्किएका सबै विद्यालयमा विद्यार्थीलाई पढ्ने र शिक्षकलाई पढाउने न्युनतम वातावरण बनाउने दायित्व सरकारको हो । उज्यालो अनलाइनबाट

About The Author

अन्य समाचारहरु: