Wed. May 25th, 2022

आज माघेसंक्रान्ती, कोरोनाले जात्रा-मेला सबै स्थगित

धादिङ – आज माघ १ गते अर्थात मकर (माघे) संक्रान्ति मनाइदैछ ।

माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन्। आजको दिन देवघाट, त्रिशुली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ। यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्छ।

माघेसंक्रान्तिमा धादिङमा पनि विभिन्न ठाउँमा साँस्कृतिक तथा गोरु जुधाई कार्यक्रम हुँदै आएकोमा कोरोना संक्रमणका कारण सबै स्थगित गराइएको छ । धादिङको खाल्टे, मैदि र नुवाकोटको तारुकामा गोरु जुधाउने मेला पनि स्थगित भएको छ ।

आज स्नान, दान, व्रत, ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरी मनकामना पूर्ण हुने जन विश्वास छ। माघे संक्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ। यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो।

तरुल पुसको अन्तिम दिनमा पकाएर राखी माघमा खाने प्रचलनसमेत विभिन्न ठाउँमा छ। यसलाई ‘पुसमा पाके, माघमा जाके’ भन्ने उखानका रुपमासमेत प्रयोग गरिन्छ।

आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित  पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास छ। शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिने आयुर्वेद शास्त्रीय मान्यता छ। 

Loading...

अन्य समाचारहरु: