Fri. Mar 29th, 2024

मानिसबाट जनावरमा पनि सजिलै सर्नसक्छ जुनेटिक रोग

– सुवास खतिवडा
जनावरबाट मानिसमा र मानिसबाट जनावरमा सजिलैसँग सर्न सक्ने रोगहरुलाई नै जुनेटिक रोग भनिन्छ । विशेष गरी यस्ता प्रकृतिका रोग जनावरसँग नजिक हुनेलाई सर्ने गर्दछ । जुनेटिक रोग करिब ३ सय भन्दा बढी प्रकारका हुन्छन्, यी मध्ये नेपालमा ५९ भन्दा बढी प्रकारका जुनेटिक रोग भएको अनुमान गरिएको छ ।

रोग लाग्ने विभिन्न कारकहरुमध्येमा विशेष गरी जिवाणु, परजीवी, भाइरस, ढुसी, जुका, प्रोटोजुवा, , रिकेट्सियाको माध्यम हुँदै यी रोगहरु जनावरबाट मानिसमा सर्ने गरेको पाइन्छ । नेपालमा प्रायः जसो देखिइरहने जुनेटिक रोगहरुमा विषाणुबाट सर्ने रेविज, रानिखेत, जापानिज इन्सेफ्लाइटिस हुन् भने जीवाणुको माध्यमबाट टुयुबरकुलोसिस, टाइफाइड, पड्के, साल्मोनेलोसिस, ब्याक्टेरियासिस, लिस्टेरियोसि आदि हुन् ।

त्यस्तै गरी परजीवि प्रोटोजोवाबाट पनि धेरै रोगहरु सर्ने गरेको पाइन्छ जस्तैः नाम्ले, लुतो दाद जस्ता रोगहरु जनावरबाट मानिसमा र मानिसबाट जनावरमा सरेको देखिइराखेको छ । मानव स्वास्थ्यमा गम्भिर असर गर्ने जुनेटीक रोगहरुमा रेविज, जापानिज इन्सेफ्लाइटिस, कालाजार, डेंगु फिभर जस्ता रोगहरु पर्दछन् ।

यी रोग लाग्न सक्ने जोखिम प्रायः गरी रोगी पशुपन्छीको मासु खादा, रोगी घरपालुवा जनावरहरु कुकुर बिरालोसँग लुटपुट गर्दा वा सँगै बस्दा, त्यस्तै गरी बधशालामा काम गर्ने व्यक्ति, पशु फार्ममा काम गर्ने र पशु पाल्ने व्यक्ति, मासु व्यवसायीहरु, प्रयोगशालामा काम गर्ने प्राविधिकहरु, मासु तथा छाला तथा हड्डी प्रशोधन कार्यमा संलग्न व्यक्ति, पशु चिकित्सकहरुमा बढी हुने गर्दछ ।

जुनेटिक रोगबाट बच्नका लागी पशुपन्छी पालन गर्दादेखि त्यसको मासु काट्ने, बेच्ने र पकाउनेदेखि खाने व्यक्तिसम्मले सावधानी अपनाउनु पर्ने हुन्छ । जुनेटिक रोग लाग्न नदिन रोगी वा शंकास्पद पशुपन्छीलाई अलग्गै राखेर उपचार गर्ने, छाडा जनावरहरुसँग नजिकमा नरहने, घरपालुवा जनावरलाई परजिवी विरुद्धको औषधी तथा संक्रमण जुनेटिक रोग विरुद्धको खोप अनिवार्य लगाउने, रोगी पशुपन्छीको मासु बेचविखन गर्न नदिने, पशुपन्छीलाई बध गर्नुपूर्व अनिवार्य रुपमा चेकजाँच गर्ने र मासु पकाएर खादा राम्ररी पकाएर खाएमा यस्ता जुनेटीक रोगबाट बच्च सकिन्छ ।
यसका साथै जुनेटिक रोगका बारेमा जनचेतना जगाउनुपर्ने आवश्यकता समेत देखिएको छ ।

अधिकांश मानिसलाई जुनेटिक रोगका बारेमा ज्ञान भएको पाइदैन । विभिन्न विद्यालय, पशु बधशाला तथा मासु व्यवसायीहरुका बीच जुनेटिक रोगका बारेमा स्वास्थ्य शिक्षाका अन्तरक्रिया ग¥यो भने पनि यस्ता रोगहरुबाट धेरै हदसम्म छुटकारा पाइन्छ ।

About The Author

Loading...