Tue. Jul 16th, 2024

थारु मेघा लोटाई

लक्की चौधरी – 

Lucky chaudary
थारु शब्द ‘मेघ’, ‘मेघी’ अथवा ‘बेङ’ को अर्थ भ्यागुता भन्ने हुन्छ । ‘मेघ’ भनेको भाले भ्यागुता र ‘मेघी’ ‘बेङ’ भनेको पोथी भ्यागुता हो । ‘मेघा’ ठूलो आकारको पहेलो रङ्को ट्वार्र कराउँदा घाँटीमा ठूलो बेलुन आकारको फुल्का फुल्ने भ्यागुतो हो । यसलाई ‘बेङा’ पनि भनिन्छ । (थारु–नेपाली–अंग्रेजी शब्दकोश २०५४ ले सानो आकारको पोथी भ्यागुतालाई ‘मेघुट्या’ भनेर अथ्र्याएको छ ।) ‘मेघा लोटाई’ भनेको भ्यागुता बनेर पानीका देवता भगवान् इन्द्रसँग पानी माग्ने काम हो । यसलाई अर्को थारु भाषामा ‘गोङ्गा लोट्ने’ पनि भनिन्छ । वर्षायाम्मा पानी दन्किएर परेका बेला मात्रै खेत बगरमा निस्कने पहेंलो रंगको आकारमा ठूलो भ्यागुतोले कराउँदा ‘गों’ आवाज निकाल्छ । त्यसैले गोङ्गा भनिएको हो । यसलाई अर्को अर्थमा ‘भ्यागुता नाच’ (भ्यागुता खेल) भने पनि हुन्छ । तर यो स्टेज बनाएर नाचिने कुनै औपचारिक नाच भने होइन ।

थारु गाउँघरमा घर–घरमा गएर आङ्गनमा मेघा लोट्ने काम हुन्छ । न कुनै बाजा, न सामग्री, न शरीरमा कुनै कपडा । भ्यागुतो बनेर ‘नाङ्गै’ मेघा लोटाई हुन्छ । सांकेतिकरुपमा भ्यागुताका जोडी छोपेर सँगसँगै लग्ने गरिन्छ । युवा, बुढाहरु सामुहिकरुपमा मेघा लोट्ने गर्छन् । ठूलाहरु राती अँध्यारोमा र युवा, बालकालिकाहरु दिउँसो मेघा लोट्छन् । सामुहिक रुपमा मेघा लोट्न घरमा आउँदा घरबेटीले गाग्रीको पानीले उनीहरुलाई भिजाउनु पर्छ । धुलाम्ये भुइँ पानीले चिसो भएपछि हिलोमा चिप्लिदै मेघा लोटिन्छ । त्यसबेला उनीहरुले ‘आनी दे कि पानी दे कि गोङ्गा’ अर्थात् (हे भगवान पानी–आनी जे हुन्छ देऊ) भन्ने माग हो । यो मेघा खेल्ने काम गाउँको सबै घरमा रीत पु¥याइन्छ । यसो गर्दा भगवान इन्द्र खुशी भएर पानी पार्छन् भन्ने थारु समाजमा गहिरो विश्वास छ ।

खेती किसानी पेशाले जीविकोपार्जन गर्ने कृषकका लागि सिंचाई अनिवार्य हुन्छ । थारु समुदाय अधिकांश कृषिबाटै जीविकोपार्जन गर्ने समुदाय हो । जेठ–असार महिनामा पानी नपरेर सुख्खा लागेका बेला थारुहरु इन्द्रलाई खुशीपारी ‘पानी पार्ने’ यस्तो तौरतरिका अपनाउँछन् । आकाशे पानीको भरमा खेती किसानी गर्ने समुदायको ठूलो जमात छ नेपालमा । सिंचाइका लागि नहर, कुलोपानीको व्यवस्था छैन । यस्तो अवस्थामा थारु समुदायका सदस्यहरु खेती किसानीका लागि मेघा लोट्न बाध्य हुन्छन् । पानी पार्नकै लागि खेलिने यस्तो खेल अब थारु संस्कृतिको एउटा अभिन्न अङ्ग बनिसकेको छ । यसो गर्दा इन्द्र भगवान् खुशी भएर पानी पार्छन् र कृषकहरु खुशीसाथ रोपाइको काम गर्ने अवसर पाउँछन् भन्ने जनविश्वास छ ।

पानी पर्नु प्रकृतिको रीत, नियम हो । वातावरणीय अवस्थाले मौसम अनुसारको सुख्खा र वर्षा हुने गर्छ । यो थारु समुदायको घरमा मात्रै हुने होइन । दुनियाँभर यही हुनेगर्छ, हुँदैआएको छ । प्रकृतिको नियमका अगाडि कसैको केही लाग्दैन । यहाँसम्म कि भगवान शीवले समेत प्रकृतिको नियमलाई बदल्न सक्दैनन् भनिन्छ । मेघा लोट्ने संस्कृतिसँग एउटा पुरानो परम्परागत थारु किंवदन्ती जोडिएको छ । जुन थारु समुदायका पुर्खाहरुले सुनाउने गर्छन् । त्यसैको विश्वासमा मेघा लोट्ने काम हुन्छ । पानी पर्नेगरेको विश्वास गरिन्छ ।

एकदिन भगवान शिव र पार्वती शयेर गर्न पुथ्वीमा निस्कन्छन् । एउटा किसान रापिलो घाममा दिउँसो असिन–पसिन भएर खेतमा काम गरिरहेको हुन्छ । उसलाई देखेर भगवान शीव मान्छेको भेष बनाएर उपस्थित हुन्छन् । किसानलाई सम्झाउने प्रयास गर्छन् । “टन्टलापुर घाममा खेतको आली, गाह्रो खनेर हुँदैन, पानी परेपछि काम गर्नु” शीवले सम्झाउने प्रयास गर्छन् । किसानलाई त्यो सुनेर झोंक चल्छ । बाटो लाग्न शीवलाई भन्छ । शीवले फेरि प्रयास गर्छन् । “आज पानी पर्दैन, किन यत्ति परिश्रम गर्दैछौ ?” त्यो सुनेर कृषकले आकाशतिर हेर्छ । सुइय.. सुस्केरा लिंदै निधारको पसिना पुस्छ । टाउको कन्याउँदै भन्छ “आज राती पानी पर्छ ।” कृषकको कुरा सुनेर शीवले हाँसो थाम्न सक्दैनन् । आकाशतिर हेर्छन् र भन्छन् “जल्नेजस्तो घाममा पानी पर्छ भन्नु तिम्रो मुर्खता हो ।”

किसानले शीवलाई भगवान भनेर चिनेको हुँदैन । एउटा बटुवा सम्झेर उसले राती पानी पर्ने शर्त राख्छ । शीवले किसानको शर्त सहर्स स्वीकार्छन् । त्यति कुरापछि भगवान शीव पार्वतीसँग सिधै पानीका देवता इन्द्रसँग भेट्न जान्छन् । इन्द्रलाई भेटेर राती पानी नपार्न आग्रह गर्छन् । शीवको आग्रहमा इन्द्रले भन्छन् “भगवान ! मैले चाहेर पानी पार्न र नपार्न सक्दैन । पृथ्वीमा भ्यागुताहरु कराएपछि मलाई पानी पार्न बाध्यता आइलाग्छ । तपाई गएर भ्यागुतालाई राती न कराउन आग्रह गर्नुहोस् ।” शीव सिधैं पृथ्वीलोकमा गएर भ्यागुताहरुसँग भेटेर आज राती ‘ट्वार्र–टुर्र’ न कराउन आग्रह गर्छन् । शीवको कुरा सुनेपछि भ्यागुताहरुले आग्रह गर्छन् “भगवान ! जुनकीरीले आफ्नो पुच्छरमा बत्ती बालेपछि हामीलाई ट्वार्र कराउनै पर्छ । यो नियम हामी तोड्न सक्दैनौं । तपाई जुनकीरीलाई गएर पुच्छरमा बत्ति नबाल्न आग्रह गर्नुहोस्” आग्रह गर्छन् ।

भगवान शीव फेरि जुनकीरीहरुसँग भेट्न पुग्छन् । जुनकीरीहरुलाई भेटेर राती पुच्छरमा बत्ती नबाल्न आग्रह गर्छन् । शीवको कुरा सुनेपछि जुनकीरीहरु ‘हुन्छ भगवान !’ भनेर विश्वास दिलाउँछन् । यत्ति भएपछि शीव शर्त जितिने भो भनेर मनमनै सोच्छन् । उता ‘पानी पर्छ कि पर्दैन’ भनेर किसान बेचैन भइरहेको हुन्छ । राती उसलाई दिशा (शौच) लाग्छ । गाउँघरमा विजुली बत्ती हुँदैन । सर्प विच्छीजस्ता किटपतङ्गको पनि त्यतिकै डर । रातीको चकमन्न अँध्यारोलाई छल्न उसले हातमा मट्टितेलको टुकी लिएर शौच गर्न खेतमा निस्किन्छ । (गाउँघरमा शौच गर्ने शौचालय हुँदैन । खेत बगरमै शौच गर्ने प्रचलन हुन्छ ।) टाढाबाट टुकी बलेको लाई भ्यागुताहरु सोच्छन् ‘जुनकीरीले पुच्छरमा बत्ति बाल्यो ।’ भ्यागुताहरु ट्वार्र–ट्वार्र, टुर्र–टुर्र गरेर कराउन शुरु गर्छन् । एक ठाउँको भ्यागुता कराएको सुनेपछि अर्को ठाउँका भ्यागुता पनि कराउन शुरु गर्छन् । क्रम बढ्दै जान्छ र भ्यागुताहरुको कराईले इन्द्रको ध्यान खुल्छ । पृथ्वीलोकमा पानीको आवश्यकता भएको महशुस गर्छन् । केही बेरमै मेघ गर्जन्सहितको भीषण पानी पर्न शुरु हुन्छ । कैलाशमा ध्यानमग्न भगवान शीव मेघ गर्जनसहितको पानी परेका सुन्दा अचम्मित हुन्छन् । प्रकृतिको नियमलाई खलबल्याउने आफ्नो प्रयासप्रति उनी लज्जित हुन्छन् । एउटा सामान्य किसानसँग उनी हार स्वीकार्छन् । उता किसानहरु खुशीसाथ खेतबारीमा कामगर्न पाउँछन् ।

यसरी थारु समुदायमा पानी पार्ने गरेको किंवदन्ती छ । यही विश्वासलाई टेकेर थारु समुदायमा मेघा लोटाई हुन्छ । सुख्खायाम लाग्ने वित्तिकै यो काम हुन्छ । अहिले रोपाई गर्ने बेलामा पानी नपरेर किसानहरु समस्यामा छन् । यही किंवदन्ती र विश्वास लिएर थारु गाउँमा मेघा लोटाई (भ्यागुता खेल) शुरु भएको छ । यसवर्ष तुलनात्मकरुपमा पानी कम पर्ने मौसम विज्ञान विभागले आँकलन गरे पनि थारुहरुले आफ्नो परम्परागत प्रयासलाई जारी राखेका छन् । यसलाई किसानहरु आफ्नो विश्वासको जीत भनेर अथ्र्याउने गर्छन् ।  पानी पर्न शुरु भएपछि मेघा लोटाइका बेला छोपेर राखेको भ्यागुता लाई सामुहिकरुपमा नदी, तलाउ, या खोलाका पानीमा गएर थारुहरु छाडिदिन्छन् । भ्यागुताको पूजापाठ गरेर मीठो मसिनो खुवाएर धन्यवादसहित पानीमा सहीसलामत छार्छन् ।

About The Author

Loading...