Sun. May 19th, 2024

कतै पावरले, कतै चोरेर टिकट


शंकर श्रेष्ठ
धादिङ :
एउटा पदमा एउटै दलबाट दुई जना मनोनयन परेपछि धादिङमा नेकपा एमाले र नेपाली कांग्रेसलाई तनाव थपिएको छ ।

थाक्रे गाउँपालिकाको अध्यक्षमा एमालेबाट कृष्ण पन्त र रामकुमार आचार्य दुई जनाको उम्मेदवारी परेको छ । नीलकण्ठ नगरपालिका वडा नम्बर ९ को वडा अध्यक्षमा कांग्रेसका राजन बराइली र रामहरि लम्सालले मनोनयन दर्ता गराएका छन् ।

एमालेबाट थाक्रेको अध्यक्षमा मनोनयन दर्ता गराएका पन्त र आचार्य दुबै जनाले पार्टीको आधिकारिक टिकटबाटै मनोनयन दर्ता गराएका हुन् । फरक यत्ति हो, पन्तले जिल्लाको संयन्त्रबाट आधिकारिक टिकट लिए, आचार्यले प्रदेश कमिटिबाट ल्याए ।

अझ रोचक त के छ भने, जिल्ला संयन्त्रबाट आधिकारिक टिकट लगेर पन्तले मनोनयन दर्ता गरिसकेको आचार्यले थाहै पाएका रहेनछन् । आफ्नो मनोनयन निर्वाचन आयोगको सफ्टवयरले नलिएपछि मात्रै थाहा पाएका रहेछन् । एउटै पदमा एउटै दलका दुई जना उम्मेदवारको नाम निर्वाचन आयोगको सफ्टवेयरले सम्मीट गर्दैन । निर्वाचन कार्यालयको सफ्टवेयरमा पहिला मनोनयन दर्ता गराएका पन्तको नाम चढेको छ । आचार्यको नाम रजिस्टरमा मात्रै छ ।

अहिले जिल्ला संयन्त्रले पन्त नै एमालेको उम्मेदवार हो भनिरहेका छन् र प्रदेश संयन्त्रले आचार्य आधिकारिक उम्मेदवार भएको दावी गरिरहेका छन् । पन्तका समर्थकहरु पहिला मनोनयन दर्ता भएको पन्तलाई नै पार्टीको आधिकारिकता दिन दवाव दिइरहेका छन् । आचार्यका समर्थकहरुले भने पन्तले टिकट चोरेर सुटुक्क आफ्नो नाम मनोनयन गरेको आरोप लगाएका छन् ।

एमाले धादिङका उपसचिव राधिका सापकोटाका अनुसार आधिकारिक हस्ताक्षर सहितको खाली टिकट पन्तको जिम्मा लगाएर पठाइयो । सबै उम्मदवारलाई पन्तकै नेतृत्वमा सम्बन्धित व्यक्तिको नाम भरेर मनोनयन दर्ता भयो । थाक्रे गाउँपालिका कमिटिका अध्यक्ष समेत रहेका पन्तले आफुले पनि अध्यक्षमा मनोनयन दर्ता गरे । सापकोटा भन्छिन्–‘थाक्रेका उम्मेदवारलाई आवश्यक पर्ने सबै टिकट पन्तकै जिम्मामा पठाइएका हौं, जिल्ला कमिटिले अध्यक्षको उम्मेदवार टुंग्याएको पनि पन्तलाई नै हो । रामकुमार आचार्यले प्रदेश कमिटिबाट सिधै टिकट लिनुभएको रहेछ, हामीले पछि मात्रै थाहा पायौं ।’

कांग्रेसमा पनि खैलाबैला
नीलकण्ठ– ९ को वडा अध्यक्षका उम्मेदवार बराइलीले भने टिकट चोरेरै मनोनयन दर्ता गरेको आरोप छ । कांग्रेसले लम्सालको नाममा टिकट दिएपनि टिकट चोरेका आरोपी बराइलीले लम्सालले भन्दा पहिला मनोनयन दर्ता गरेपछि कांग्रेसभित्र खैलाबैला नै मच्चिएको छ ।

पहिला मनोनयन दर्ता गराएका बराइलीको नाम निर्वाचन आयोगको सफ्टवयरमा इन्ट्रि भइसकेकोले आधिकारिक उम्मेदवार भनिएका लम्सालको नाम रजिस्टरमा मात्र दर्ता छ ।

पार्टीको कुनैपनि संयन्त्रबाट बराइलीलाई आधिकारिक टिकट दिएको पत्ता नलागेपछि उनले टिकट चोरी गरेको प्रमाणित हुन्छ । बराइलीले पार्टीको आधिकारीक हस्ताक्षर भएको पत्र कहाँबाट कसरी पाए भन्ने कुरा कांग्रेसले पत्ता लगाउन सकेको छैन । निर्वाचन अधिकृतको कार्यालयसँग बराइलीले बुझाएको पत्र रुजु गरेर आन्तरिक अनुसन्धान गरिरहेको काँंग्रेसले जनाएको छ ।
चोरी आरोप लागेका बराइलीले भने टिकट वितरण गरिरहेकै कोठाबाट अरुले जस्तै गरी टिकट ल्याएर मनोनयन दर्ता गरेको बताएका छन् । उनले टिकट नपाए स्वतन्त्र उम्मेदवारी दिने भन्दै पार्टीमा घुर्की लगाइरहेका थिए ।

कांग्रेसले वडा तहको टिकट बाँड्दा कुनै माइनुट उठाएको पनि छैन, मुचुल्का गरेको पनि छैन । कुनै ठाउँमा निर्णय माइनुट, मुचुल्का नगरी नै चनाचटपटे खाने कागजको रुपमा टिकट बाँडेकोले समस्या उत्पन्न भएको नेताहरुले नै प्रतिकृया दिएका छन् । टिकट दिने टिमको असावधानीले मनोनयन दर्ता भइसकेपछि समस्या उत्पन्न भएको हो । अहिले कांग्रेस बराइलीलाई फिर्ता गराएर लम्सालको उम्मेदवारी आधिकारिक बनाउन लागिरहेको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: