Tue. Dec 3rd, 2024

स्थानीय तह निर्वाचनको दिन वर्षा हुने सम्भावना

काठमाडौ – मौसमविद्ले स्थानीय तह निर्वाचन हुने दिन अर्थात् वैशाख ३० गते देशभर पानी पर्ने सम्भावना रहेको बताएका छन्। जल तथा मौसम विज्ञान विभागले निर्वाचनका दिन पानी पर्ने सम्भावना रहेकाले सर्तकता अपनाउन आग्रह गरेको छ।

विभागले जारी गरेको बुलेटिनका अनुसार हाल नेपालमा स्थानीय वायु र भारतको बिहार–पश्चिम बङ्गालमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।

मौसमविद् मञ्जु वासीका अनुसार निर्वाचनका दिन पानी पर्ने खालको मौसमी प्रणाली विकसित भएको छ। ‘बंगालको खाडीमा असानी नामक एउटा चक्रवात बनेको छ’, उनले भनिन्, ‘यसको प्रत्यक्ष प्रभाव नेपालमा नपर्ने भए पनि अप्रत्यक्ष रूपमा भने पर्ने देखिन्छ।’

वैशाख ३० गते देशका धेरै भूभागमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। पूर्वी भू–भागको प्रदेश नम्बर १, मधेस, बाग्मती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमस्तरको पानी पर्ने सम्भावना रहेको उनले बताइन्। वासीका अनुसार केही स्थानमा हावाहुरीसहित वर्षा हुनेछ।

आयोगको चासो

निर्वाचनका दिन पानी पर्ने विभागले बताइरहँदा निर्वाचन आयोगले मतपत्र तथा बाकसलगायतको सुरक्षाको प्रबन्ध मिलाउन सरकारलाई आग्रह गरिसकेको छ।मतदान स्थलमा पाल टाँगेर सुरक्षित तबरले मतदान गर्ने व्यवस्था मिलाउन संघीय मामिला मन्त्रालयमार्फत सबै स्थानीय तहलाई निर्देशन दिएको आयोगले जनाएको छ।

सोमबारको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले वर्षाका कारण मतदानलाई असर नगरोस् भन्नेमा आयोग सचेत रहेको बताए।

‘संघीय मामिला मन्त्रालयमार्फत सबै स्थानीय तहलाई यसबारे निर्देशन गरिएको छ’, उनले भने। आयोगबाट ७५३ वटै ठाउँमा सामग्री किनेर पठाउन सक्ने अवस्था नरहेकाले विपद् व्यवस्थापन समितिमा रहेको विपद् व्यवस्थापन कोषमा रहेका सामग्रीको उपयोग गर्न भनिएको छ।

आयोगले सबै मतपत्र लगायत निर्वाचन सामग्रीको सुरक्षा गरी निर्वाध रूपमा मतदान गराउने व्यवस्था मिलाउन सबै स्थानीय तहका विपद् व्यवस्थापन कोषलाई आग्रह गरेको छ।

आयोगले पानीका कारण आउनसक्ने समस्या सुल्झाउन सबै स्थानीय तहलाई मतदान अधिकृत र प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरी आवश्यक व्यवस्था गर्न पनि भनेको छ। प्रवक्ता पौडेलले यो विषयमा गृह मन्त्रालयसँग पनि ‘क्लोज कन्ट्याक’ गरिरहेको बताए।

About The Author

अन्य समाचारहरु: