काठमाडौ – नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले तेस्रो महिला टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा आज (बिहीबार) युगान्डासँग खेल्दैछ ।
त्रिवि क्रिकेट मैदानमा हुने नेपाल र युगान्डाबीचको खेल दिउँसो १ बज सुरु हुनेछ । यसअघिको दुई खेलमा पराजित भएको नेपाल आजको खेलमा सजह जित निकाल्दै सिरिज जोगाउने योजनामा हुनेछ ।
पाँच महिला टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा युगान्डाले पहिलो खेलमा १२ रन र दोस्रो खेलमा एक विकेटको जितका साथ २–० को अग्रता लिएको छ । युगान्डा आजको खेलमा पनि जित निकाल्दै सिरिज आफ्नो पक्षमा पार्न चाहन्छ ।
त्यसैले नेपाललाई आजको खेलमा जित निकाल्नै पर्ने दबाब छ । नेपालले खेलेका दुबै खेलमा फिल्डिङको कमजोरी देखिएको छ ।
नेपाली टोलीका मुख्य प्रशिक्षक जगत टमाटाले आजको खेलमा फिल्डिङमा सुधार गर्ने योजना रहेको बताएका छन् ।