धादिङ– नीलकण्ठ नगरपालिकाको उपमेयरमा स्वतन्त्र उम्मेदवार बनेर चुनाव लडेकी कल्पना अधिकारीले मतदानमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी छन् ।
आज धादिङबेसीमा पत्रकार सम्मेलन गरेर अधिकारीले निर्वाचनमा प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग गर्ने आम मतदाता र समर्थकहरुलाई धन्यवाद दिएकी हुन् । स्थानीय सरकारमा महिलाको अर्थपूर्ण प्रतिनिधित्वका लागि आफुले पार्टीबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएको प्रष्ट्याउँदै अधिकारीले भनिन्–‘जवसम्म मतदाता पूर्ण स्वतन्त्र हुन सक्दैनन् तबसम्म स्वतन्त्र अभियान प्रयासमात्र हुनेछ ।’
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीबीच गठबन्धन गरेर कांग्रेसले टिकट नदिएपछि कांग्रेसकै महासमिति सदस्य समेत रहेका अधिकारी स्वतन्त्रमा उम्मेदवार बनेर चुनावमा होमिएकी थिइनन् । गठबन्धनको उम्मेदवारसँग चुनाव हारेपनि आफ्नो चुनावी प्रतिवद्धताप्रति सधै सचेत रहने बताएकी छन् ।
कांग्रेस एक्लैले नगरपालिकामा चुनाव जित्ने पक्कापक्की हुँदाहुँदै पनि माओवादीसँग गठबन्धन गरी प्रमुख र उपप्रमुख दुबै पदमा पुरुष उम्मेदवार बनाएकोले त्यसको विरुद्धमा स्वतन्त्र उम्मेदवारी दिएकी थिइन् । गुलावको फुल चुनाव चिन्ह लिएर उनले उपप्रमुख पदमा ४ हजार ६ सय २२ मत प्राप्त गरेकी थिइन् ।