Fri. May 16th, 2025

बल्लतल्ल दुर्घटनास्थल पुग्यो सुरक्षाकर्मी, यात्रुको खोजी र पहिचान गरिदै

काठमाडाैँ– तारा एयरको जहाज दुर्घटना भएको स्थानमा सुरक्षाकर्मीको टोली पुगेको छ। चालक दलका तीनसहित २२ जना सवार जहाज आज बिहान मुस्ताङको थासाङ गाउँपालिका-२ को सानाेसरे भन्ने ठाउँमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो ।

आइतबार बिहानदेखि सम्पर्कविहीन जहाज क्षतिविक्षत अवस्थामा सोमबार बिहान यार्सागुम्बा टिप्न गएका गोठाला र स्थानीयवासीको टोलीले भेटाएका हुन्।

कोवाङबाट हेलिकप्टरबाट गएका नेपाली सेनासहित सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र शेर्पाको टोली घटनास्थल पुगेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जनाए ।

सेनासहितको हेलिकप्टर घटनास्थल पुगेको छ। त्यहाँ पुगेका उद्दार टोली पहिलो चरणमा घटनास्थलको सुरक्षा, यात्रुको खोजी र पहिचानमा जुटेका छन्।

यात्रुको अवस्था पहिचान, सुरक्षित रहेका सामान सङ्कलन र मुचुल्का तयार पारेपछि हेलिकप्टरबाट कोवाङ ल्याउने योजना बनाइएको छ।

मौसम खुलेको अवस्थामा एक हेलिकप्टरले उडान गरेर उद्दारकर्तालाई घटनास्थलमा छोडेर नाउरीकोट आएको छ। कुहिरो हट्नैबित्तिकै हेलिकप्टरबाट थप उद्दारकर्ता पठाउने तयारी गरिएको छ।

मानापाथी हिमालको फेदीमा रहेको पहाडमा जहाज ठोक्किएर टुक्राटुक्रा परेको अवस्थामा भेटिएको छ। कुहिरो लागेको र प्रतिकूल मौसमका कारण आइतबार दिनभर जहाज खोज्ने प्रयास सफल भएको थिएन।

यार्सागुम्बा सङ्कलन गर्न गएका र गोठालाले नजिकैबाट उडेको जहाज पहाडमा ठोक्किएको आवाज सुनेको खबर गरेका थिए।

पोखराबाट बिहान ९ः५५ बजे जोमसोमका लागि उडेको तारा एयरको नाइन एनएइटी विमान बिहान १०ः०७ बजे जोमसोम विमानस्थलको टावरबाट सम्पर्कविच्छेद भएको थियो। स्थानीयका अनुसार कोवाङमाथिको आकाशबाट जहाज जोमसोम नगई पोखरा जान धौलागिरि र मानापाथी हिमालतर्फ मोडिएको जनाइएको छ।

जहाजमा चालक दलका तीन र १९ जना यात्रु थिए। तारा एयरका अनुसार १२ नेपाली, चार भारतीय र दुई जर्मनी नागरिक थिए।

About The Author

अन्य समाचारहरु: