Tue. Jan 14th, 2025

नेपालले फेरि भारतलाई बेच्न थाल्यो बिजुली

काठमाडौँ — केही समयअघि भारतबाट बिजुली नपाएर औद्योगिक ग्राहकको लाइन काटेको प्राधिकरणले अहिले फेरि भारतलाई बिजुली बेच्न थालेको छ ।

बुधबार रातिबाट ३९ मेगावाट बिजुली ‘इन्डियन इनर्जी एक्स्चेन्ज’ (आईईएक्स) मा बेचेको प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले जानकारी दिए ।

‘हिजो रातिबाट त्रिशूली र देवीघाट जलविद्युत् आयोजनाको बिजुली भारत निर्यात हुन थालेको छ,’ उनले भने, ‘सबै सेवा शुल्कहरु घटाएर प्रतियुनिट औसत भारु ६ रुपैयाँ २८ पैसामा बिजुली बेचिएको छ ।

यो सोझै प्राधिकरणको खातामा आउने रकम हो ।’ ह्विलिङ चार्ज, मध्यस्थकर्ता कम्पनीको सेवाशुल्क कटाएर नेपालले करिब साढे १० रुपैयाँमा भारतमा बिजुली बेचेको प्राधिकरणले जनाएको छ ।

नेपालले गत वर्ष कात्तिक १७ गतेबाट ‘डे अहेड मार्केट’को अवधारणामा आईईएक्समा बिजुली बेच्न थालेको थियो । २४ मेगावाटको त्रिशूली र १४ मेगावाटको देवीघाट आयोजनाबाट करिब १ महिना नेपालले भारतमा बिजुली बेचेको थियो । वर्षायाममा नेपालको बिजुली देशभित्र खपत हुने अवस्था नभए पनि हिउँदमा भने भारतबाटै आयात गर्नुपर्ने अवस्था छ ।

About The Author