
काठमाडौ – सरकारको एउटा नारा छ, ‘बिहेबारी २० वर्ष पारी’ । तर अब यो नारा उहिलेका कुरा खुइलेमा परिणत हुने अवस्था देखिएको छ ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद कोइराला ‘बन्दी’ले मंगलबार प्रतिनिधि सभामा विवाहको उमेर घटाउने विषयमा छलफल भैरहेको जानकारी दिएपछि यस्तो अवस्था सिर्जिदै छ । यसबारे सामाजिक सञ्जालमा पक्ष र विपक्षमा खुलेर बहस भैरहेको छ ।
वर्तमान कानुनमा २० वर्ष नपुगी बिहे गर्न नपाउने कानुनी व्यवस्था छ । अब त्यसलाई घटाएर १८ वर्ष बनाउने गरी कानुन संशोधन अन्तिम तयारी भइरहेको जनाइएको छ ।
विवाहको उमेर २० वर्ष राख्दा अपराध बढेको बताउँदै मन्त्री बन्दीले बालविवाहमा सजाय भइरहेकाले कानुन संशोधन गरेरै बिहेको उमेर घटाउने प्रक्रिया अघि बढेको जानकारी दिए ।
‘विवाहको उमेर १८ वर्ष बनाउनेबारे अध्ययन भइरहेको छ । १६ वर्षमा नागरिकता पाइन्छ । १८ वर्षमा भोट हाल्न पाइन्छ।
२० वर्षमा विवाह भन्ने कानुन छ’, मन्त्री बन्दीले भने, ‘विवाह गर्न २० वर्ष कुर्नुपर्ने अवस्था कुनै पनि अवस्थाले देखाउँदैन । यसले बरु अपराध बढाउने काम भइरहेको छ । बालविवाहमा सजाय भइरहेको छ। मन्त्रालयले कानुन संशोधन प्रक्रिया थालिसकेको छ।’