Sat. Oct 12th, 2024

मुस्कुरायो बारपाक

 barpak

गोरखा – वरिपरि भग्नावशेष छन्। तिनले बोलिरहेछन्, कहालीलाग्दो विगत। जहाँ थुप्रै जीवन पुरिए। घरसँगै आशा र सपना भत्किए। प्रकृतिको विनाशक प्रहारले थुप्रैको हाँसो लुट्यो। जीवनको लय टुटायो। तर, निर्जीव भग्नावशेषनजिकै अझै चलमलाइरहेछन् थुप्रै जिन्दगी।

आँखाहरूबाट आँसुको भेल क्रमशः थामिँदै छ। आफन्त गुमाउनुको पीडा मत्थर हुँदैछ। ओठहरूमा हाँसो फर्कन थालेको छ। बन्जर भूमिलाई उब्जाउ बनाउन निधारबाट उसै गरी पोखिन थालेका छन् ‘परिश्रमका मोती’। घर भत्केर के भो त, त्रिपालमुनिबाटै भए पनि उनीहरू जिउने लय समात्दैछन्।
आसमान विकको आशासँगै बौरिएको छ उनको आरन पनि। भूकम्पअघिजसरी नै फलाम पिटेको लयात्मक ध्वनि गुन्जन थालिसकेको छ। त्यो ध्वनिले दर्शन बोलिरहेछ– विपत्तिपछि पनि जीवन सकिँदैन, समाज सकिँदैन, गृहस्थी सकिँदैन। तिनीहरू ओइलाउन सक्छन्। तर, आफ्नै प्रयत्नले कुनै दिन निराशाको भग्नावशेष पन्छाएर सपनाको महल ठड्याएरै छाड्छन्।

हो, ठीक त्यसै गरी, जसरी बारपाक उठ्दैछ। वैशाख १२ को विनाशकारी भूकम्पले केन्द्रविन्दु बनाएर मार हान्दा सबैभन्दा बढी चोट यही ठाउँले बेहोरेको थियो। त्यो घाउमा क्रमशः खाटा लाग्दैछ। आसमानको आरन त्यसैको संकेत हो, जसले स्थानीयलाई जीविका चलाउने साधन जुटाउँदैछ। शनिबार बिहान निकै व्यस्त देखिन्थे आसमान। छिमेकीका कुटोकोदालो बनाइदिन उनलाई भ्याइनभ्याइ छ। अर्का स्थानीय शुकबहादुर घलेले पनि खेतको गरामा त्रिपाल गाडेरै किराना पसल फेरि सुरु गरिसकेका छन्। आसपासका गाउँले र नजिकैको निजी विद्यालयका विद्यार्थी सामान किन्न त्यहीँ पुग्छन्। गाउँका बुढापाका जम्मा भएर गफिने थाले पनि घलेकै पसल बनेको छ।

बारपाकका धेरैजसो गाउँले त्रिपालमुनिबाटै भए पनि पुरानै दैनिकीमा फर्किसकेका छन्। करिब ३ सय घरपरिवार अझै त्रिपालमुनि छन्। भन्छन्, ‘कति दिन भूकम्पको पीडा सम्झेर बस्ने१ पेट पाल्नका लागि काम गर्नै पर्यो ।’ त्रिपालमुनि आरन चलाउनु घरमा जस्तो सजिलो छैन विकलाई। तर, पनि झिँझो मानेका छैनन्। ‘धेरै गाउँलेका घरायसी सामना पुरियो, हरायो। यस बेला मैले आरन बन्द गरे खेतबारी खनजोत गर्न पाउँदैनन्, अन्न नउब्जिए के खाएर बाँचुन्१’ आफ्नो जग्गामा पहिरो जोखिम बढेपछि उनको दुई पत्नीसहित ९ जनाको परिवार अहिले अर्कैको जग्गामा त्रिपाल गाडेर बसेको छ। नागरिकबाट

About The Author

अन्य समाचारहरु: