Sun. May 19th, 2024

चालक नियुक्ति नहुँदा धादिङ अस्पतालको शव बाहन अलपत्र

धादिङ अस्पतालले संचालन गर्दै आएको शव बाहन

धादिङ – धादिङ अस्पतालको शव बाहन दुई वर्षदेखि खेताला चालककै भरमा छ । शव बाहन चलाउन अस्पतालले छुट्टै चालक नियुक्त गर्न नसक्दा हरेक पटक अन्य गाडीका चालक खोजेर शव बाहन चलाउन परेको हो ।

आइतबार नीलकण्ठ–११ का एक पुरुषले झुण्डिएर आत्महत्या गरे । त्यसैदिन प्रहरीले घटनास्थलको सबै काम सक्यो । तर शव बाहन चलाउने चालक नभएकै कारण तत्काल शव उठाउन सकिएन । ५६ वर्षिय रामकृष्ण शाक्यको शव सोमबार दिउँसो पौने १ बजेमात्रै धादिङ अस्पताल ल्याइयो । त्यो पनि मृतककै आफन्तलाई चालक बनाएर ।

‘आइतबार बेलुका नै पोष्टमार्टमको लागि शव अस्पताल ल्याउन शव बाहन खोजियो, कतै पाइएन । धादिङ अस्पतालसँग शव बाहन माग्दा चालक छैन भन्नुभयो’, चालक बनेका बलराम शाक्यले भने–‘नगर प्रहरीलाई साक्षी रोखेर बल्लतल्ल शव ल्याइयो ।’ सोमबार दिउँसो ज्यामरुङबाट शव ल्याउँदा गोलाभङ्ज्याङसम्म पदम शाक्यले र त्यसपछि बलरामले शव बाहन चलाएर धादिङ अस्पताल पुयाएका थिए ।

मृतकका आफन्तले नै चालक खोजेर शव बाहन चलाउनु परेको यो एउटा उदाहरण मात्रै हो । जव शव बोक्नुपर्छ अनि चालक खोजी गर्नु परेका थुप्रै घटनाहरु छन् । तर अस्पताल व्यवस्थापन समितिले चालकको चाँजो मिलाउन सकेको छैन ।

दुई वर्षदेखि कहिले अस्पतालकै एक्बुलेन्स चलाकले त कहिले मेडिकल सुरिटेन्डेन्ट चढ्ने गाडीका चालकले नै शव बाहन चलाउने गरेका छन् । एम्बुलेन्स चालक र मेसुका चालक पनि अनेकन बहानामा शव बाहन चलाउनबाट उम्किने गरेको पीडितहरु बताउँछन् ।

शव बाहन माग गर्दा अस्पताल प्रशासनले नै अनेक बहाना बनाएर टार्ने गरेको पाइएको छ । ‘शवबहानको कुरा गर्दा सुरुमा आनाकानी गर्नुभयो, पछि थाहा भयो चालक नभएर पो त्यस्तो बहाना गर्नुभएको रहेछ’ ज्यामरुङका गणेश शाक्यले भने । कहिलेकाही त शव बाहन विग्रिएको छ भनेर पनि पन्छिने गरेको पीडितहरुको गुनासो छ ।

बाग्मती प्रदेश सरकारले शव बाहन दिएको करिव दुइ वर्ष भयो । अहिलेसम्म शव बाहन चलाउन चालक नियुक्त गरिएको छैन । अस्पतालका मेडिकल सुपरिटेन्डण्ट डाक्टर मधुकर दाहाल भन्छन्–‘डेढ महिना अघिदेखि शव बाहन चालकको आवश्यकता सूचना गरियो । ८ जनाले फारम पनि भरेका छन् । तर व्यवस्थापन समिति सक्रिय नबन्दा पदपूर्ति गर्न सकिएको छैन ।’

अस्पतालको शव बाहन अन्य चालकले चलाएर शव अस्पतालसम्म ल्याएको बारे आफुलाई जानकार नभएको डाक्टर दाहालले प्रतिक्रिया दिए । ‘शब बाहनको ड्राइभर छैन । अस्पतालको सेवा विस्तारको लागि म काठमार्डौ छु । कसले दियो, के गयो यस विषयमा जानकारी छैन’ उनले भने ।

बाग्मती प्रदेश सरकारले शव बाहन दिए पनि चालकको व्यवस्था नगरिदिँदा समस्या आएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र धमला पन्छिने गरेका छन् । शव बाहन चलाउन खेताला चालक खोजी गर्नुपरेको बारेपनि आफु जानकार नभएको उनले प्रतिकृया दिएका छन् ।

‘अस्पतालको दुइ जना चालकमध्ये एउटा विरामी र अर्काे मेसु लिएर काठमाडौ गएको छ’, उनले भने– ‘जहाँसम्म शव बहान आफन्तले चलाए भन्ने कुरा छ । त्यसरी पाइदैन, नीति विपरित हो ।’ सोमबार भने बाध्य भएर चालक खोजेर शव बाहन प्रयोग गरिएको उनले बताए ।

प्रदेश सरकारले शव बाहन दियो चालक दिएन भनेर पन्छिन खोज्नु अस्पताल व्यवस्थापन समितिको कमजोरी हो । आन्तरिक श्रोतबाट हुन्छ या अन्य कुनै ठाउँबाट श्रोत व्यवस्थापन गरेर शव बाहन चलाउन छुट्टै चालकको व्यवस्था गर्नुपर्ने जानकारहरु बताउँछन् ।


About The Author

Loading...

अन्य समाचारहरु: