Fri. Dec 6th, 2024

‘आदिवासी जनजातिको भाषा संस्कृति र पहिचानले देशकै शीर उँचो राख्छ’

धादिङ– पछिल्लो समय आधुनिकताको नाममा वा बाह्य संस्कृतिका कारण नेपालको आदिवासी जनजातिको संस्कृतिमा विचलन आएको सरोकारवालाहरुले औल्याएका छन् । २८ औं विश्व आदिवासी दिवस र २३ औं फोनिज स्थापना दिवसको अवसरमा आयोजित अन्तरक्रियाका सहभागीहरुले आदिवासी जनजातिको भाषा संस्कृति र पहिचानले देशकै शीर उच्च गराउने बताएका हुन् ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जिल्ला शाखा धादिङले आदिवासी जनजातिको सवाल र पत्रकारको भुमिकाबारे सरोकारवाला निकाय र पत्रकारबीच धादिङबेसीमा अन्तरक्रिया गराएको हो । आदिवासी जनजातिहरुको संस्कार, सस्कृति र परम्पराको जगेर्ना गर्दै नेपाली श्रोत साधनका मालिक भनेको आदिवासी जनजाति हुन् भन्ने कुराको पहिचान गराउन स्थानीय सरकारले पहल गर्नुपर्ने नीलकण्ठ नगरपालिकाका उपमेयर दिपक विश्वकर्माले बताए । विकटमा बसोबास गर्ने जनजातिका भाषा, सस्कृति र परम्पराको जगेर्ना गर्दै शिक्षामा जोड दिएर सीप र आयआर्जनसँग जोड्न सके आदिवासीको पहिचान स्थापित हुनेमा विश्वकर्माले जोड दिए ।

अहिले पहिचानको विषय नेपाली राजनीतिमा सबैभन्दा महत्वपूर्ण राजनैतिक मुद्धा बनिरहेको पनि अन्तरक्रियामा सहभागीहरुले बताएका छन् । राजनैतिक पार्टीहरूले समेत यो पहिचानको विषय आदिवासी जनजातिको मात्रै हो भन्ने तर्क गर्छन् यहाँ नेर नै नेताहरू सही विश्लेषण गर्न चुकिरहेका छन्’, नेपाल आदिवासी जनजाति समन्वय परिषद धादिङका पूर्व अध्यक्ष हरिशंकर गिदेल मगर भन्छन्–‘यदि पहिचान हरायो भने कुनै जाति वा समुदायको अस्तित्व कायम रहन सक्दैन ।’ पहिचान भन्ने विषय कुनै शासक वा सम्राटले चाहेर पनि क्षणभरमै निर्माण गर्ने र मेटाउने विषय वस्तु नरहेकोले यसको अस्तित्व जोगाइराख्न जातीय संघसस्थाहरु सक्रिय रहनुपर्ने मगरले बताए ।

अन्तरक्रियामा बोल्दै नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्माले आदिवासी जनजातिहरुको सशक्तिकरण अभियानमा फोनिजको भूमिका महत्वपूर्ण रहने बताए । जनजातिका ज्ञान, सीपको उजागर गर्न र जिवित संग्राहलय स्थापनामा गरी आदिवासी जनजातिको कला सस्कृतिलाई पर्यटनसँग जोड्न सकिने शर्माले बताए । सामाजिक संजालमा लेखिएका विचारहरुलाई पनि आम जनमानसले पत्रकारितासँग जोडिदिने र त्यसले समाजमा फैलाउने गरेको नकारात्मक भ्रमले पत्रकारिता पेशालाई नै चुनौति दिएकोले यस्ता चुनौतिसँग एक भएर लड्न फोनिजकर्मीहरुलाई आग्रह गरे । फोनिजको सक्रियताले नेपाल पत्रकार महासंघ नै सक्रिय रहने पनि शर्माले विश्वास व्यक्त गरे ।  

नेत्रावती डबजोङ गाउँपालिकाका प्रवक्ता एवं् वडा नं. १ का वडा अध्यक्ष ठाकुर गुरुङले आदिवासी जनजातिहरुको जातीय सवाललाई माथी उठाउन सहयोग गरिदिन स्थानीय सरकारहरुसँग माग गरे । आफु पनि लामो समय पत्रकारितामा रहेर आम जनताको आवाज बोलिरहँदा झेल्नु परेका समस्या सुनाउँदै गुरुङले फोनिज र फोनिजमा आवद्ध पत्रकारहरुलाई आफुले सक्दो सहयोग गर्ने बताए ।

फोनिज संघीय समितिका सदस्य उद्धव चेपाङले आदिवासी जनजातिको परम्परा, रीतिरिवाज र साँस्कृतिक पहिचानले सिंगो देशलाई नै चिनाइरहेको बताए । संरक्षण सशक्तिकरण वा विकासका लागि कानून बमोजिम विशेष व्यवस्था गर्न पनि सरकारसँग माग गरे । ‘आदिवासी जनजाति भन्नाले आफ्नो मातृभाषा र परम्परा रीतिरिवाज, छुट्टै साँस्कृतिक पहिचान, छुट्टै सामाजिक संरचना र लिखित वा अलिखित इतिहास भएको जाति वा समुदाय सम्झनुपर्छ’, चेपाङले भने । आफ्नो समुदायको समस्या अर्काे समुदायलाई सुनाउन देखाउन सकियो भने मात्रै पनि जातीय पहिचान जोगाउन सकिने चेपाङले बताए ।

पहिचान र मानव अस्तित्व बिना संसारको परिकल्पना गर्न नसकिने फोनिज बागमती प्रदेश समितिका कोषाध्यक्ष शंकर श्रेष्ठले बताए । आदिवासी जनजातिहरु आफै पनि खण्डित देखिएको र राजनैतिक दलका कार्यकर्ताका रुपमा विभक्त भएका कारण आदिवासी जनजातिहरुको पहिचान गुम्दै जान थालेको स्पष्ट पारे । ‘पहिचानको मुद्धा अहिले नेपालमा मात्र नभएर विश्वभरी नै शक्तिशाली रुपमा उठिरहेको छ’, श्रेष्ठले भने–‘निजी स्वार्थ, क्षणिक प्राप्तिको मोहले गर्दा आदिवासीको मुद्धाबारे आदिवासी जनजाति समुदायका अगुवाहरु नै अलमलमा देखिएका छन् ।’

फोनिज धादिङका अध्यक्ष अर्जुन श्रेष्ठले सत्यनारायण कुमार श्रेष्ठ नेपाल पत्रकार संघको संस्थापक अध्यक्ष भएको स्पष्ट पारे । सत्यनारायण कुमारले २००८ सालमा निर्माण गरेको पत्रकार संघ नै अहिलेको महासंघ रहेको बताए । जनजाती भएकै कारण टाठाबाठाहरुले सत्य नारायण कुमार श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष मान्न तयार नभएको भन्दै श्रेष्ठले फोनिजले यस विषयमा देशभर आवाज बुलंद पारिरहेको बताए ।

अन्तरक्रियामा सहभागी जातीय संघ सस्थाका प्रमुख तथा प्रतिनिधिहरु र पत्रकार संघ संगठनका प्रमुखहरुले पनि आदिवासी जनजातिको सवाल सरकारको प्राथमिकतामा नपरेको बताएका थिए । कार्यक्रममा झिंगु नेवा समाज, नेपाल तमू ह्यूल छोंज धी, नेपाल तामाङ घेदुङ धादिङ, कुमाल संघ, चेपाङ संघलगायत जातीय संघसस्थाका प्रतिनिधिहरु सहभागी थिए ।

About The Author

अन्य समाचारहरु: